चारैतिर चित्कार, कोलाहल, अशान्ति र अप्रिय वातावरण थियो।
‘ओहो, तपाइ कसरी यहाँ आइपुग्नु भो नि?’ मैले बृद्द गोपिरमणलाइ सोधेँ।
‘यस्तै परो ।‘ उनले अल्छि लाग्दो पाराले जबाफ दिए।
गोपीरमण धेरै अगाडिदेखि नेता-कमरेडहरका नजरमा-परेका कलेजका अध्यापक थिए । उनीले कुनै अनुसन्धान पेपर लेखेनन्, कुनै अनुसन्धानको सुपरिवेक्षण गरेनन्, तर प्राध्यापक बने । उनीसँग फोटो नखिचिएका सायदै कुनै नेता होलान् । उनीसँग भेट नभएका सायदै कुनै नेता होलान् । उनको पार्टीमा निकै लामो समयदेखि काम गरेको र हरेक नेतालाइ भेटेको उपलब्धी पनि उनी सगौरव सुनाइरहन्छन् ।
गोपीरमण उनी धेरैपल्ट अध्यक्ष भएको मलाइ जानकारी छ। उनी स्कुलमा हुँदा विद्यार्थी संघको अध्यक्ष भएका थिए। त्यो अर्को पार्टीको हुनाले उनी उल्लेख गर्न चाहादैनन्। उनी टारी कुलोको उपभोक्ता समिति होस् कि बेसीको बन उपभोक्ता समितिको होस्। महासचिवको स्वागत समारोह होस् कि राजाको जन्मोत्सव आयोजक समितिको होस्। उनी अध्यक्ष नबनेको सायदै ठाउँ होलान्।
उनी गाउँका किसान समुहका अध्यक्ष भए। दुध उत्पादक सहकारीका अध्यक्ष भए। युबा संघका अध्यक्ष भए। उनी बैदेशिक रोगजागारीमा जाँदा प्रवासीका अध्यक्ष भए। मास्टरी गर्दा शिक्षकसँघका अध्यक्ष भए। उनी अध्यक्ष बन्नकै लागी बनाएका धेरै संस्थाहरूको सम्झना मलाइ छैन अहिले। गोपीरमण बन्न बाँकी भनेको महिला संघ र एकल महिला सरोकार मन्चको मात्र हो भनेर पनि गाउँतिर भन्छन्।
‘तपाइ कसरी यहाँ आइपुग्नु भो नि?’ मैले फेरी प्रश्न दोहोर्याएँ।
‘मेरो रहरले होइन, परिवन्दले म यहाँ आउनुपरो। एकदिन ५-७ जना भुस्तिग्रेहरूको जमात आएर तपाइ अध्यक्ष बनिदिन परो भनेर अनुरोध गरे। मेरो अध्यक्षताको अनुभव योग्यता र लोकप्रियताले गर्दा तपाइको विकल्पै छैन पनि भने। मैले पार्टीलाइ धेरै योगदान गरेको मान्छे हुनाले मैले नाइ भन्न सकिनँ। कार्यकाल नसकी छोड्न पाइन्न नी भनेर लिखित कागजमा हस्ताक्षर गराए। अब त्यत्रो ठुलो भुगोलको अध्यक्ष भन्ने कुरा त्यसै छोड्न पनि मिलेन। पार्टीको प्रतिनिधित्वनी चाहियो नि भन्ने नि लागो।‘ गोपीरमणले घटना विवरण भन्दै गए।
‘हजूर अनि के भो?’
‘अनि उनहरूले काँधमा बोकेर मलाइ यहाँ ल्याए।अनि अध्यक्षको कुर्चीमा राखे। त्यसपछि बल्ल थाहा पाएँ यो मन्त्रालय नएर त नरक रहेछ, मलाइ लिन जाने भुस्तिग्रेहरू कार्यकर्ता नभएर यमदुत रहेछन्। बचन दिइसकेको थिएँ, अब के गर्ने बस्नै परो यो नरकमा फेरी । पद त चानचुने होइन अध्यक्ष नै हो नि फेरि।‘
गोपीरमण बोल्दा बोल्दै म नरक पुगेको सपनाबाट झल्याँस जागें।
(गुल्मी हाल क्यानडा)