समाचारदाता ।
मे १५, २०२१ का दिन भर्चुवल प्रविधिको प्रयोग गर्दै स्रष्टा साँझ अमेरिकाले साहित्यकार पारिजातको जन्म जयन्ति मनायो । स्रष्टा साँझका अध्यक्ष श्री प्रभात दिक्षितले आमन्त्रित सबैलाई स्वागत गर्दै प्रकाश पाण्डेलाई कार्यक्रम सन्चालन गर्न अनुरोध गरेपछि कार्यक्रमले औपचारिकता पाएको थियो । प्राध्यापक श्री मोहन सिटौलाको अध्यक्षतामा सन्चालित कार्यक्रमको प्रमुख आतिथ्य नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति श्री गंगाप्रसाद उप्रेतीले गर्नु भएको थियो ।
साहित्यकार विष्णुकुमारी वाइबाकी सहोदर बहिनी सुकन्या वाइबाको उपस्थितिले कार्यक्रमलाई अझ जीवन्तता प्रदान गरेको थियो ।
कार्यक्रममा आसमबाट साहित्यकार दैवकी सेडाई तिमल्सिना, बेलायतबाट कृष्ण बजगाई, क्यानडाबाट सुरेन उप्रेती, र कुसुम ज्ञवाली, अमेरिकाबाट कोमल भट्ट, गीता खत्री, शंकर भारती, र पवन बुढाथोकी हुनुहुन्थ्यो । त्यस्तै गरी नेपालबाट साहित्यकार श्रीओम श्रेष्ठ रोदन, साहित्यकार मन्जु काँचुली, लक्ष्मी उप्रेती, डाक्टर सिर्जना शर्मा, गीता त्रिपाठी, ईन्दिरा दली सरिक हुनुहुन्थ्यो ।
कार्यक्रमकमलाई सम्बोधन गर्दै लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले नेपाली साहित्यकी नक्षेत्र पारिजातको चर्चा गर्दै उहाँसँग भएका भेटको संस्मरण सुनाउनु भयो । त्यस्तै कुशुम ज्ञावलीले साहित्यकार पारिजातलाई सशरीर भेट्न नपाएको तर उहाँको सम्मानमा स्नेह सायमीको नेतृत्वमा नेपाल एफएम द्वारा पारिजात काव्ययात्रा संचालन गर्ने गरेका थियौँ । त्यसमा बिभिन्न ठाउँका व्यक्तिहरूका आवाज रेकर्ड गरिएका थिए । अझै आफुसँग सातसय जनाभन्दा बढी आवाज सुरक्षित रहेको स्मरण सुनाउनु भयो ।
त्यसै क्रममा प्राज्ञ गीता त्रिपाठीले पारिजातलाई भेट्न भौतिक रूपमा भेटन नसकेकोमा दुःख व्यक्त गर्नु भयो । उहाँले प्रत्येक घरभित्र पसेर जागरणको उर्जा भर्नु भयो । कुनै जात, धर्म, लिङ्गमा सिमित नरही आममानिसमा अस्तित्वको दर्शन विचार र चेतनालाई शिल्पमा रोपेर जानु भयो । त्यसैले होला शंकर लामिछानेले भन्नु हुन्छ“पारिजात मेरो लेखनको इम्पल्स हो “। त्यसपछि पारिजातको “एककोठा एक उधेश्य र एक इन्टलेक्च्वल नारी” भन्ने कविता वाचन गरेर सुनाउनु भयो ।
कार्यक्रमलाई अगाडि बढाउँदै साहित्यकार कोमल भट्टले सार्दूलविक्रडित छन्दमा श्रद्देय महामना पारिजातमा समर्पित “सम्झनामा पारिजात” कविता सुनाउनु भयो ।अनेसासकी पूर्वअध्यक्ष तथा अनेसास बोर्डअफ ट्रष्ट्रीकी अध्यक्ष गीता खत्रीले साहित्यकार पारिजातका कृतिहरूको चर्चा गर्दै पारिजातलाई एकदिन मात्र सम्झनेमा सिमित नभई सँधै र नेपालबाहिर पनि अध्ययन र चर्चा हुनुपर्ने कुरा राख्नु भयो । साहित्यकार मन्जु काँचुलीले पारिजातको सरलपनको साधाजीवन र उच्चविचार भएकी साहित्यकारको चर्चा गर्नु भयो । पारिजातको पुतली सडक स्थित डेरामा गएर भेट्ने गरेको स्मरण सनाउनु भयो । राल्फा आन्दोलनको नेतृत्व गर्नुभएको थियो रे । पारिजात उच्चकोटीको साहित्य लेख्ने पहिलो नेपाली महिला साहित्यकार हुनहुन्छ भन्नु भयो ।
त्यस्तै गरी क्यानडाबाट साहित्यकार सुरेन उप्रेतीले साहित्यकार पारिजातसँगको अनुभूति सुनाउनु भयो । प्रदर्शनीमार्ग काठमाण्डौ अवस्थित आरआर क्याम्पस र नेपाल ल क्याम्पसमा प्रत्येक महिनाको पहिलो शनिवार साहित्य सन्ध्या कार्यक्रम हुने गर्दथ्यो । सो कार्यक्रममा साहित्यकार पारिजात आउने गर्नुहुन्थ्यो । कविता सुनाउनु हुन्थ्यो । एकपटक पारिजात दिदी क्याम्पसको गेटसम्म ट्याक्सीमा आउनु भएको थियो । एउटा कुर्सीमा राखेर दुईजनाले कार्यक्रम स्थल सम्म बोकेर ल्यायौँ । यसरी पारिजात दिदी जो विष्णुकुमारी वाइबा र छेकुडोल्मा नाम भएकी नेपाली साहित्यकी उज्वल नक्षेत्रसँग भेट भयो भन्दै पारिजातको “एउटी स्वास्नीमान्छेको अन्तर्वार्ता” कविता वाचन गरेर सुनाउनु भयो ।
साहित्यकार पारिजाको बारेमा “पारिजातका कथामा नारी चिन्तनमा” वधावारिधी गर्नु भएकी डाक्टर सृजना शर्माले पावरप्वाइन्ट मार्फत पारिजातका बिभिन्न विधा र लेखन शैलीका बारेमा चर्चा गर्नु भयो । पारिजातका साहित्यका बिभिद पक्षलाई समेटेर समाजलाई परिवर्तन र प्रगतिको सम्वाहक बनेर हरेक पात्रहरूले भूमिका निर्वाह गरेको पाइन्छ भन्नु भयो । त्यस्तै गरी उपन्यास समाजका तर्फबाट साहित्यकार शंकर भारतीले पारिजातको साहित्यिक लेखनको गहनताले गर्दा नै हामीलाई यसरी जुटाएको हो भन्नु भयो र सहभागीहरूलाई धन्यवाद दिनु भयो । कार्यक्रममा बेलायतबाट सहभागी कथाकार तथा नियात्राकार कृष्ण बजगाँईले पारिजातले बिभिन्न आन्दोलनको नेतृत्व गर्नु भएको थियो । प्रवासमा जन्मिएर पनि पैत्रिकभूमीमा फर्किएर साहित्य सेवामा समर्पित हुनु भयो । हामीले पनि जन्मभूमीमा सेवा गर्न फर्किने हो कि भनी प्रश्न गर्नु भयो । पारिजातका कृतिहरूलाई अनुवाद गरेर खझ व्यापक गराउनु पर्नेमा जोड दिनु भयो ।
त्यस्तै गरी असमबाट सहभागी हुनु भएकी प्रा डा दैवकी सेडाई तिमल्सिनाले साहित्यकार पारिजातको कीर्तिशेष भएका अवस्थामा पार्थिव शरिरमा पुष्पार्पण गर्न पाएको क्षण सम्झनु भयो । पारिजातका बिभिन्न कृतिहरू असमी भाषामा अनुवाद भएको सुनाउनु भयो । डा दैवकीले पारिजातको लाहुरेलाई “एक रोगी प्रेमिकाको पत्र” कविता वाचन गरेर सुनाउनु भयो ।
पारिजातकी सहोदर बहिनी सुकन्या वाइबाले पारिजातका निडर र सत्य नलुकाउने पक्षको बारेमा जानकारी दिनु भयो । निडर भएर उभिन सँधै प्रेरित गर्ने बानीको चर्चा गर्नु भयो । लेखकले गाडीसकेको लासलाई पनि उधिनेर चिरफार गर्छ । त्यो क्षमता लेखकसँग हुन्छ भन्नु हुन्थ्यो । वहाँ सारै रमाइलो गर्ने मान्छे । बहिनी र म अनि पारिजात दिदी कहिलेकँही रातभरी हाँसेर बिताउँथ्यौँ । एकजना विदेशीले जिशसकोको Resurrection भन्दा नबुझेझैँ गरेर मैलेत exaggeration भन्ने पो बुझेँछु । भनेर हसाउँनु हुन्थ्यो । त्यस्तै हामी सोरखुट्टेमा बसेका बेला पारिजात सोरखुट्टा भनेर खाममा लेखेको चिठी आयो । दिदीले मेरा एउटा खुट्टा त छैन । कहाँबाट सोरखुट्टा हुनु भनेर हसउँनु हुन्थ्यो । उहाँ साह्रै स्वभिमानी हुनु हुन्थ्यो । मननलागेको कुरा सुन्न र हेर्न पनि सक्नु हुन्नथ्यो । बुबाले साइन्स साइन्स मात्र पढ्न भन्ने दिदी साहित्य मात्र पढ्ने । गीत सुन्ने फिलिम बनाउँछु भनेर कथा सुनाउने गर्नु हुन्थ्यो । बुबा र दिदीको मेल थिएन तरपछि वुबाले नै हुन दे यो बौलाई हो, क्रोनिक फिलोसोफर हो भनेर बुबाले भन्नुभयो ।
त्यस्तै पारिजात सँगका अनुभूति सुनाउने क्रममा साहित्यकार लक्ष्मी उप्रेतीले २०४२ सालामा महेन्द्रमोरङ क्याम्पसमा एउटा कविता वाचन गर्दा पारिजातसँग भेटभयो । त्यहीँको भेटबाट प्रेरणा मिल्यो ।कविता लेख्ने प्रेरित गर्नु भयो । साहित्यमा लाग्न प्रेरित भएको सुनाउनु भयो ।श्री उप्रेतीले पारिजातको“मानुषी” कविता वाचन गरेर सुनाउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति श्री गंगाप्रसाद उप्रेतीले कार्यक्रमका आयोजकहरूलाई र सहभागीहरूलाई धन्यवाद दिँदै पारिजातको बैशष्ठ्यताको बारेमा चर्चा गर्नु भयो । पारिजात समाजवादी लेखिका हो । अपहेलित उत्पीडितहरूको पक्षमा लेख्ने साहित्यकार हो । लामो समयको संघर्षपछि जीवनको दृष्टिकोण बनाउनु भएको थियो र त्यसमा अटल हुनुहुन्थ्यो । उहाँको शारीरिक अशक्तताले कहिलै पनि कम्जोर महषुस गराउन सकेन । नयाँ पिँढीले यसलाई बुझ्न र अनुकरण गर्न सक्नु पर्छ ।
पारिजातका कृति र साहित्यबाट ‘पारिजात स्मृति केन्द्र’ले धेरैकाम गरेको छ । उहाँलाई जीवन्त राख्न पारिजात केन्द्रले अहम भूमिका खेलेको छ । नेपाल एकेडेमीले पारिजातका किर्तिहरूलाई उर्दू बंगाली चाइनिज भाषामा अनुवाल गराई सकेको छ। हामीले यस प्रकारका धेरै छलफलहरू गराएर अनुवाद गरेर संसारभरि पुर्याउनु पर्ने कुरा कुलपति उप्रेतीले बताउनु भयो ।
पारिजातसँग बिसं २०१९ सालमा भेट भएको र उहाँ सँगका धेरै गोप्यकुराहरू मसँग छन् । सुकन्यासँग नभएका कुराहरू पनि छन् । तर लेख्न सकेकी छैन भन्दै इन्दिरा दलीले आफ्ना कुरा सुनाउनु भयो ।
कार्यक्रमका अध्यक्ष प्राध्यापक श्री मोहन सिटौलाले सबै सहभागिहरूको योगदानको उच्च मुल्याङ्कन गर्दै प्रशंसा गर्नु भयो । सबै महाँदेश र ठाउँहरूबाट सहभागिताको प्रयास गरे पनि सफल नभएको तर गर्दै जाने बताउनु भयो । पारिजातका कृतिमा बिम्वको प्रयोगका बारेमा अनुसन्धान हुनुपर्ने कुरा राख्नु भयो । पारिजातले वालवालिका यूवा सिमान्तकृत अपहेलितको आवाज उठाउनु भएको छ र त्यस्तै हिँसावाद अस्तित्वबादलाई जनवादी समाजवादी माक्सवादी चिन्तनको प्रयोग भएको छ भन्दै कार्यक्रममा पुन धन्यवाद दिनु भयो ।
कार्यक्रमका विचबिचमा प्रभात दिक्षितले कार्यक्रममा सहभागिहरूका बारेमा जानकारी दिँदै आफु स्थानिय निर्वाचनमा सक्रिय बन्नु परेर तयारीमा खट्न नसकेको प्रति दुख प्रकट गर्नु भयो । कार्यक्रमका विचविचमा छन्दबद्ध कविता रच्दै र सुनाउँदै कवि प्रकाश पाण्डेले व्यवस्थित तरीकाले कार्यक्रम सन्चालन गर्नुभयो ।