तिम्रा इच्छा विपरीत
तिम्रो सुडोल शरीरमा
कसैले स्पर्श गर्ने प्रयास गर्छ भने
तिमि ९९९ डायल गरेर
प्रहरी गुहारिहाल्छ्यौ होला
र प्रहरीले संदिग्धलाई
केरकार गरेर संजाय देला !
तर मेरो सम्वेदनशील वक्षस्थलमा
बडेमानको डोजरले डाम बस्नेगरी कोतार्दा
म कसलाई गुहारू हॅ ?
त्यसैले म गड्याङ गुडुङको घण्टी बजाएर
गुहार्छु आकाशलाई
र पठाइदिन्छ उसले बादल
र बर्षाउँछ झमझम मनसुनी भेल
र भेलले गन्ट्याङगुन्टुङ बगाइदिन्छ
ती मलाई कोतार्ने बिकाशवादीहरुलाइ !
तिम्रो कोमल शरीरमा
जबरजस्ती कसैले गर्न खोज्छ भने
तिमी लगाइदिन्छ्यौ उसलाई बलात्कारीको मुद्दा
र ढकढक्याउँछ्यौ अदालतको ढोका
अनि जितेर
हाल्छ्यौ उसलाई जेल !
मेरो शरीर ऊपर पनि
बलजफ्ती बगाइएका छन कुकर्मका ढलहरू
स्खलित पारिदैछन् दुर्गन्धका वीर्यहरु
ल अब तिमी नै भन
म न्याय माग्न कुन अदालतको ढोका ढकढकाउन जाऔँ ?
त्यसैले म इन्द्र देवतालाई प्रथना गर्छु
र बर्षिन्छन् आशीर्वाद बनेर
बादलभित्रबाट पानीका थोपैथोपाहरु
अनि
-बहुलाउँदै
-थुनिदै
-गज्रिदै
-सुस्साउँदै
पस्छन बस्तीहरू भित्र
र कोच्छन मेरो बलात्कारीलाई
डुवानको कठघरामा !
तिमीलाई
कसैले नङ्ग्याउने प्रयास गर्छ भने
झुटो आरोप लगाएर हुन्छ कि
कोरा कानुनको सहारा लिएर हुन्छ
नाङ्गिनुबाट आफूलाई जोगाइ हाल्छ्यौ
माया र सद्भावले अंगालो हाल्नेहरूलाई पनि
इच्छा विपरीतको संसर्ग भनी
अदालतमा पुराइहाल्छ्यौ !
देखेकै छौ क्यारे
म त नाङ्गै हुनेगरी नाङ्गिसकेँ
पहिरो जानेगरी भात्किसकेँ
लौ तिमी नै भन
अब म 'मी टु' आन्दोलन गरौँ कि
कुन कानुनको सहारा लिऔँ ?
बाचाउन मेरो अस्मिता ?
(फोक्स्टोन, केन्ट, यु के)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।