“………… राज मधुकरले रानी मधुमालती समेतलाई उही फटिकको खम्बाबाट निस्केको बायुपंखी घोडामा चढाई त्यहाँबाट उडे ।” आमा एउटा किताब लिएर पढ्न थाल्नुहुन्थ्यो ।
त्यसबेला म ज्ञानी बालकजस्तै आमाको छेउमा चुपचाप बसिरहन्थेँ । यद्यपि म बाहिर बिल्कुलै शान्त र गम्भीर देखिन्थे, तर आमाको प्रत्येक शब्दको तालमा मेरो मुटुको प्रत्येक धड्कन छिटो छिटो हुँदै जान्थ्यो । भय, आशङ्का र खुशीले मिसिएको विचित्र अनुभूति ! “साँच्चै मधुकर अथवा मालती दुईवटामा एउटा घोडाबाट खसे भने ! ………अथवा घोडाले जिउ हल्लाइदिएर दुवै खसे भने …….त्यो मधुकरको आफ्नै घोडा होइन, खसालिदियो भने ? ….” मेरो आङ सिरिङ्ग गर्दथ्यो; रौं ठाडा भएझै लाग्दथ्यो । ओफ् त्यतिमाथि आकाशबाट खसेर डाँडामा अथवा पहरामा बज्रे भने ? …..” मलाई हाम्रै मावली गाउँको एउटा माने बूढाको सम्झना आउँथ्यो । विचरो बूढो, जहानबच्चा कोही नभएको एक्लो, दाउरा बेचेर खान्थ्यो– एक्लो भए पनि खानै पर्ने । बूढो एक दिन फट्केको भीरबाट माथिदेखि नै खसेर तल फट्केको चोसे ढुङ्गामा बज्रेछ । ओफ्, त्यो बेलाको त्यसको अनुहार सम्झदा पनि अहिले डर लाग्छ । नाकमुख एकै ठाउँमा थेप्चिएर पट्टे रोटी जस्तो भएको, खप्पर पटक्क फुटेर गिदी छयालब्याल भएको, एउटा आँखा खोपिल्टोबाट प्याक्ल्याक्क बाहिर उछिट्टिएको, रगत मथिङलको सराबरीले एउटा भयानकता पैदा गरेको ।
यो सम्झनाले नै मेरो जिउ एक्कासि काँपेर आउँथ्यो र म एक्कासि आमाको छातीमा लिप्सिक्क टाँस्सिन जान्थेँ । आमा किताबबाट आँखा उठाएर अनौठो दृष्टिले मतिर हेर्नुहुन्थ्यो ।
“आमा, मधुकर त्यो घोडाबाट खसे भने ?” ……..मालती खसी भने ?, …… दुवैजना खसे भने ?” मेरो काँपेको आवाजमा प्रश्न सुनेर आमा हाँसीदिनुहुन्थ्यो । “धत् लाटा मधुकर किन खस्थे ? ….मधुमालती पनि खस्तिन् । ….. त्यो घोडा चानचुने घोडा हो र ?”
साँच्चै त्यो घोडा चानचुने होइन, खम्बाबाट निस्ककेको । मधुकर र मालती पक्कै खस्दैनन् भन्ने मनमा ढुक्क भएपछि म पनि मधुकरकै जस्तो गौरीलाई पछाडि राखेर, उनीहरुकै पछाडि उड्दथेँ । म र गौरी स्वच्छसँग चारैतिरका नदी–नाला समुन्द्र, पहाड, झर्ना, जङ्गल, बादल, हिउँ इत्यादिका मनोहर दृश्य हेर्दै आवामा उड्न थाल्दथ्यौँ ।
“मधुकर समुद्रको आधाआधी पुगे ।” आमा भन्दै जानुहुन्थ्यो, साथै म पनि गौरीको साथै समुद्रको आधाआधी पुग्दथेँ । हामी अनन्त आकाशको मुक्त बायुमण्डलमा स्वच्छन्दसँग चीलका जोडीझैँ कावा कान्थ्यौँ । कहीले बादलमा पस्थ्यौँ, कहिले बाहिर खुलामा । चारैतिर अन्तहीन, नीलो र शुन्य बायुमण्डल, तल विशाल नीलो र गम्भीर समुन्द्र मनको स्थिति अनौठो उल्लासले भरिएको हुन्थ्यो । किन्तु–
अकस्मात् आफ्नो पछाडि आँ–ब्यारी सुसाएझैँ सुसाउँदै प्रचण्ड वेगले लखेटेर आउन लागेका महाविकराल अनुहारका छ वटी राक्षस्नीलाई देखेर मेरो सातोपुत्लो उढ्दथ्यो । म आमाको काखमा लेप्सिन आइपुग्थेँ । गौरीसम्म पनि कता गई, त्यसिम्म खोजखवर गर्न पनि मलाई होस हवास भएन ।
“ती छ वटी मालतीका राक्षस्नी दिदीहरू क्रोधले चूर भएर मधुकरको घोडाको पुच्छरमा झुण्डिए ।” आमा आफ्नै सुरमा भन्दै जानुहुन्थ्यो । म डर, आशंका र असफलताको क्रोधले छट्पटिन थाल्थेँ । मलाई यति रीस उठ्थ्यो कि मेरा दाँत बज्नथाल्दथे । तर म एउटा सानो, सात आठ वर्षको केटो उद्धिग्न भएर समुद्रमाथि उडिरहेको मधुकर, मालती र घोडाको पुच्छर समातेर झुण्डिएको छ वटी भयङ्कर राक्षस्नीहरुलाई हेरिरहनु बाहेक के गर्नसक्दथेँ ।
मेरो मुटुको ढुक ढुक प्रत्येक सेकेण्ड तीब्र हुँदै जान्थ्यो । मेरो मनले पूरा अठोट गरिसकेको हुन्थ्यो, अब मधुकर एक दुई तीन बाँच्न सक्तैन । त्यो एकलो, अनि ती छ छः वटी !
“आमा, मधुकर मर्छ हगि ? …. राक्षस्नीले खान्छन् हगि ?” मेरो स्वर काँपेकै हुन्थ्यो ।
‘समुनद्र पारी पुग्न सक्यो भने उनीहरुको जोर चल्दैन ।” आमा भन्नुहुन्थ्यो । म आफ्नो सम्पूर्ण इच्छाः शक्तिले मधुकरको घोडालाई छिटो छिटो, अझ छिटो धकेल्न थाल्दथेँ ।
“पुग्यो, पुग्यो……… अलिकति छ ?” मेरो उत्सुक्ता क्लाइमेक्सको चरमतिर बढ्दथ्यो । अब के हुन्छ; अब अब । मेरा अङ्ग प्रत्यङ्ग बेहोशमै बटारिन थाल्दथ्ये । “स्यावास् !” मधुकरको हातको सुदर्शन चक्र घामको तेजमा बिजुलीझँै चम्कन्थ्यो । तत्कालै ती छः वटी राक्षस्नीहरू एकै गुजुल्टो भएर समुन्द्रको विकराल पेटमा समाधि हुन्थे । मेरा हात अनजान मै थप्पडी पिटेर नाच्न थाल्दथे । “आमा ! मधुकर, मालती बाँचे हगि ?”
आमा मुग्ध आँखाले मेरो विचित्र खुशी निहार्न थाल्नुहुन्थ्यो । मधुकरले सफलतापूर्वक मालतीलाई समुन्द्र पार गराएको खुशी मेरो हृदयमा यति नअटाई हुन्थ्यो कि आफ्नो गौरीलाई त्यो नबाडुन्जेल मेरो अजीर्ण समन हुदैनथ्यो । “गौरी ! मधुकरले त छ ः अैजना राक्षस्नी मा¥यो; मालतीलाई समुन्द्रपारी तान्यो ।” खुशीको आवेगमा झण्डै निस्सास्सिएर म गौरीको हात समातेर हल्लाउँदथेँ ।
‘साँच्चै !’ गौरी आधी खुशी र आधी अविश्वासको स्वरमा चिच्याउँथी र आफ्ना बडा बडा रिठ्ठाका गेडाजस्ता आँखामा कौतूहल भरेर मेरो खुशीले प्रदीप्त अनुहार हेर्दथी । त्यो बेला मलाई गौरी अत्यन्त राम्री लाग्दथी । म एक एक गर्दै उसको गाला, चिउँडो, नाक, आँखा, ओठ, निधार अनि कपाल छुन्थेँ । मलाई उसलाई पनि मधुकरको जस्तै वायुपंखी घोडामा चढाएर देश विदेश, नदी–नाला, जङ्गल–पहाड, आकाश–पताल घुमाउने इच्छा उठ्दथ्यो । तर खोइ मेरो घोडा ? ….. मेरो मन अलि धमिलो भएर आउँथ्यो । अनि म बिस्तारै उसको हात समातेर भन्थे घोडामा चढाएर समुन्द्रमाथि बादलमा उडाउँथे । …म पनि राक्षस्नीलाई मार्थें ।”
मेरो आइलाएको अनुहार देखेर गौरी शायद द्रवित हुन्थी, उसको पनि मुख मलीन हुन्थ्यो । अनि मेरो छातीमा टाँस्सिएर बडो फुल्याउने स्वरमा भन्दथी– “शंकर, तिमी क्या ऐले केटाकेटी नै छौ । पछि ठूलो भएपछि तिमी र म घोडामा चढेर बादलमाथि जाउँला ।”
“मलाई घोडा कल्ले किनिदिन्छ र ?” मलाई शंकै लाग्दथ्यो, किन कि मलाई घोडा किनिदिने काँटको मानिस जति खोज्दा पनि आफ्नो बिचारमा चढाउन म समर्थ भइनँ । मेरो आमासँग एक पैसा पनि छैन भन्ने कुरा मलाई केटाकेटी नै भए पनि थाहा थियो । अनि मेरो बाबाले पनि मलाई घोडा किनिदिनुहुन्छ भनेर म पत्यार गर्न सक्तिनथेँ, किन कि मलाई बाबाले कुनै दिन पनि ख्यालख्यालको घोडासम्म पनि किनिदिनु भा’ छैन ।
“म ल्याइहाल्छु नि । मेरो बाबासँग धेरै पैसा छ, तिम्रो बाबा पो गरीब छ । म मेरो बाबालाई भनेर घोडा किन्न लाउँछु, अनि भैगो नि ।”
वास्तवमा गौरीको यो अभिमान कुनै फोस्रो अभिमानको आधारमा थिएन । उसको र मेरो आर्थिक स्थितिमा पूर्व र पश्चिमको अन्तर थियो । शहरबाहिरै भए पनि उसको घर धेरै ठूलो, झिलीमिली, उसको घरमा मोटर पनि थियो; मेरो सानो कुचुक्क परेको–खुम्री बूढीजस्तो÷गौरी राम्रा राम्रा फ्रक, गराराहरू लाएर, कपाल पनि बास्ना आउने तेल, रिबनले लजाएर, फ¥याक फुरुक गर्दै यता र उती उड्थी । उसको अगाडि म ? के भनूखोई नयाँ सडकको भिलिमिलीको अगाडि मखन्न टोलको रछाने गल्ली÷…. यस्तो बीचमा पनि असाधारण स्नेह, आश्चर्य !
तैपनि गौरीको यो अश्रवासन मेरो पुरुष–आत्मालाई अति सह्य हुँदैनथ्यो । मधुकरलाई पनि त घोडा मधुमालतीले किनिदिएको होइन, आफ्नै पुरुषार्थले उसले शय मन फलामको चिउरा खाएर, शय मन दूध पिएर, शय फेरा डण्डा पेलेर अनि एकैचोटिमा फटिकको खम्बा फोडेर निकालेको हो नि । –मेरो पुरुष–अभिमान गर्जन्थ्यो । “नाइँ, म तिमीले किनेको घोडा लिन्नँ ।”
मेरो त्यो अप्रत्यासित इन्कारमा गौरी जिल्ल पर्थी, शायद दुःखी पनि हुन्थी– “किन ?”
“मधुकरलाई मालतीले दिएको हो र ? ……उसले आफै ल्याएको । म पनि ठूलो भएपछि आफँै खोजेर ल्याउँछु ।”
“कहाँबाट नि ?”
“ऊ त्यो बादलमाथिको शहरबाट ।”
“साँँच्चै ?” मेरो त्यो अनौठो जवाफले गौरी साँच्चै जिल्ल पर्थी । ऊ भन्थी– “कसरी जान्छौं नि त्यति माथि ?”
किन ? …. ऊ त्यो डाडामा जान्छु, अनि त आकाश हातैले भेट्टिइहाल्छ नि !” म शिवपुरीको डाडोलाई देखाएर यसरी जवाफ दिन्थेँ कि, मेरो निमित्त त्यति काम त हात्तीले जिरा खानु जत्तिकै हो ।
अनि हामी मुग्ध भएर त्यो नौलो अनन्तमा छिन छिनमा रूप वदल्दै हावाको गतिसँग यता र उति खेल्ने, कपासका फूलहरू छरिएझँै फाटफुट बादलका टुक्राहरुलाई हेर्न थाल्दथ्यौँ । गौरीलाई पूरा पत्यार परिसकेको हुन्थ्यो कि त्यो बादलमाथि एउटा शहर छ, त्यो शहरमा एउटा घोडा छ, जसलाई म ठूलो भएपछि गएर ल्याउँनेछु । अनि दुवैजना–मधुकर र मालतीजस्तै त्यसमा चढेर समुद्रमाथि, वादलपारी आकाशको छातीमा उड्नेछौँ ।
“रातमा कति चंख भएर बस्दा पनि मधुकर निदाइहाले” आमा भन्नुहुन्थ्यो– “र विष्णु भगवान्का दूतहरुले मधुमालतीलाई स्वर्गको विमानमा हालेर उडाए । जाने बेलामा मालतीले मधुकरलाई बिउँझाउन भरमग्दुर गरिन तर…… भधुकर बिउँझेनन् । मधुमालतीलाई अर्काले चोरेर लग्यो ।” मैले देखेँ, मधुकर उठेर मालतीलाई नपाउँदा क्रोध, क्षोभ, ग्लानिले बौलाउन थाल्यो । उसका भन्दा बढी क्रोध मलाई उठ्यो । किन कि म त त्यो बेला बिउँझै थिएँ औ अहिले पनि ती बेइमान विष्णुका दूतहरुलाई पनि देख्दथेँ, उडिरहेको विमान भित्रकी मधुमालतीका विवस आँसु पनि देख्दथेँ ः अनि मधुकरको शोक पनि । मलाई चिच्याएर मधुकरलाई त्यो विमान देखाइदिने मन हुन्थ्यो, तर मेरो आवाज ज्यादै सानो हुन्थ्यो । निराश भएर मधुकरको हातबाट चक्र खसेर त्यो विमान बोक्ने चोरहरुलाई एक एक गर्दै गिडिदिने उत्तेजनाले छटपटाउथेँ; हातमा चक्र लिएर झम्टी पनि हाल्थेँ । तर तिनीहरुलाई मारेपछि त मालती समेतको विमान उनीहरूको काँधबाट खसेर पहाडमा बजारिहाल्छ नि, त्यसैले म हात रोक्दथेँ ।
मलाई अकस्मात् अर्कैतिर सम्झना जान्थ्यो– मालतीलाई जस्तै कुनै विष्णुका दूत आएर गौरीलाई पनि लगे भने ? मेरो मुटु आशंकाले काँप्दथ्यो । म एक्कासि किताब सुन्न छोडेर आमालाई आश्चर्यमा डुबाउँदै गौरीकहाँ दोडन्थेँ । गौरी आफ्नो ठूलो चोकमा खिलखिल हाँस्दै, सानो बाइस्कलमा चढेर घुमिरहेकी हुन्थी र मेरो मन केही ढुक्क भएता पनि मुटु अझै छिटोछिटो चलिरहेको हुन्थ्यो ।
“गौरी !” म डर र खुशी मिसाएर हतारिएको स्वरमा भन्थेँ, र बाइस्कलेको डण्डी समात्दथेँ ।
मलाई देख्नासाथ गौरीको अनुहार प्रदीप्त हुन्थ्यो; स्वरमा सहनाई बज्दथ्यो …., “शकर, तिमी बाइस्कल चढ्दैनौ ?” ऊ मलाई बाइस्कल दिन्थी । म चढ्न खुट्टा मात्र के उचाल्दथेँ, माथि बरन्डाबाट एउटा बाँस चिरिएझैँ चिरिएको आवजले मेरो रगत जमाई दिन्थ्यो– “ए त्यो बाइस्कलको सत्यानास पारिसकी राक्षस्नीले …… टोलभरिका माग्ने मोराहरूलाई ल्यायो, सुम्प्यो … ए काले., ए माइला, को छ हँ तल ? ए सत्यनारायण, त्यो बाइस्कल छिडीमा हुलेर ताल्जा मारिदे । ….. भएभरका अभागी मोराहरूलाई घरमा ल्याई……यो सत्यानासिनी ……‘’– वास्तवमा त्यहाँ म एउटा बाहेक कुनै ‘टोलभरिका मोरा’ हुँदैनथेँ । तर गौरीकी फुपूको आँखामा म शायद एकबाट अनेक रूप हुन्थेँ ।
उनको आवाजको साथै तीनजना नोकरले तीनतिरबाट झम्टेर जबरजस्ती बाइस्कल मबाट खोसेर लग्दथे । त्यति बेला मेरो बादलको शहरमा गएर घोडा ल्याउने, त्यसमा गौरीलाई चढाएर समुद्रमाथि उढ्ने बहादुरी जोश, सबै वाफजस्तै उडेर जान्थ्यो । म असहाय र दीनझैँ नोकरको त्यो रुखो व्यवहार सहन्थेँ ! मेरो भित्र असह्य चोटको अनुभव भएर आँखा टल्बलाइहाल्थे । मेरा आँखामा टलबलाएको आँसु देखेर गौरी पनि दुःखी हुन्थी शायद ऊ मलीन अनुहार लिएर मेरो नजिक आउँथी र मेरो हात समातेर भन्थी “शंकर, त्यो हाम्रो दिदीआमा नि, असादे नजाती मलाई सधैं तिमीसँग खेल्यो भनेर गालीमात्रै गर्छे बूढी ! …..तिमी गरीबको छोरो रे !……. हो, तिमी गरीब ?”
म के जवाफ दिऊँ । म गरीब र गौरी धनी किन, औ मैले गौरीसँग खेल्न किन हुन्न ? यो मेरो सोच्ने विषय नै थिएन । मलाई त यही थाहा थियो कि, गौरी गौरी हो, र उसलाई मैले भोलिपर्सी बालदमाथिको शहरमा उडाउनुपर्छ । अनि घोडामा राखेर समुद्र डाक्नुपर्छ ।
“त्यसले भनेरम मान्दिनँ के…. बुबामुमाले भने पनि मान्दिनँ ।” आखिर गौरी आफैं निश्चय गर्थी । अनि हामी दुवै हातेमालो गर्दै बगैंचाको सानो पोखरीको डीलमा आएर अभिन्थ्यौँ र पानीमा परेको उल्टो छायामा परस्पर मुख हेरेर हाँस्दथ्यौँ । अनि अगाडिको आलुबखराको हाँगामा तलमाथि गर्ने धोबिनी अथवा पोखरीमा सल्याङ बल्याङ गर्ने राता, पहेँला माछालाई मुग्ध भएर हेथ्र्यौं ।
“शंकर, तिमी घोडा लिन कैले जाने ? ” शायद पानीमा परेको सेतो बादलको एक टुक्रा छायाँले गौरीको स्मृतिमा कैलेदेखिको पूरिएको कुरा कोटायाइदिन्थ्यो । ऊ एक्कासी प्रश्न गरेर मनको स्थिति खलबल्याइदिन्थी । मलाई त्यो विस्मृत घटनाले फेरि खिन्न पाथ्र्यो । “गौरी, मधुमालतीलाई त विष्णुले चोरेर लग्यो ।” म बोझिलो स्वरमा भन्थँे ।
“किन ?.. मधुकरले विष्णुलाई पिटेन ?”
“ऊ त निदायो, नसुत्न खोज्यो र पनि सुत्यो ।”
“फर्साद प¥यो ! अब उनीहरुको भेट हुन्न हगि ?” एक्कास्सि गौरी पुर्खिनी बूढीझैँ बनेर भन्थी– “फर्साद प¥यो !”
त्यस दिन म गौरीकहाँबाट घरतिर फर्कदा मनमा एउटा टर्रो बोझ बोकेर फर्कें । भित्र छातीमा कता कता दुखेझैँ लाग्दथ्यो । अनि आँखा कताकता भरिएझैँ । मलाई गौरीकी बूढी दिदी–आमादेखि भित्रभित्रै रीस उठिरहेको थियो । मलाई उसले किन लडाइदिई ? …मैले उसको बाइस्कल चढेको हो र ! …. त्यो त गौरीको बाइस्कल पो त !
“तिमी चढ्दैनौ शंकर ! चढ न ।” गौरीले नै जिद्दी गरी ! अनि उसले मेरो हात समातेर बाइस्कलमा चढाई र पो, अनि आफू पछाडि धकेल्न थाली । म अविस्मरणीय आनन्दले बाइस्कलमाथि चढेर आफूलाई घोडामा चढेको मधुकरभन्दा कम ठूलो अनुभव गर्न थालेको दिइनँ । आखिर मेरो पछाडि पनि त गौरी–मालती थिई ।
किन्तु एकास्सि मेरो सम्पूर्ण सुख–स्वप्न त्यै राक्षस्नी दिदी–आमाले भत्काइदिई । मलाई बाइस्कलबाट लडाई दिई, अनि गौरीलाई पनि गालामा चड्कन दिई । “यो राक्षस्नी, यो सत्यानाशिनी ।”
त्यसपछि भुईँबाट भरखरै लुगाको धुलो झार्न लागेको मलाई आँखा तरेर भनी– “यी माग्ने मोराहरुको संगतमा लागेर ….. अबदेखि सानुमैयाँसँग खेल्न नजानू जा घर, अबदेखि पनि आइस् भने ….।”
म बिस्तारै सडकको ठूलो ढोकाबाट निस्केँ, अनि भरिएका आँखाले ढोकाको डण्डीबाट भित्र हेरेँ, गौरी मतिर हेरिरहेकी थिई । “तिमी हाम्रो दिदी आमाको घर नजऊ है, शंकर ? …..त्यो त बोक्सी बूढी ।” गौरी हात हल्लाइ हल्लाई भन्दै थिई ।
अनि दिदीआमा बूढी र गौरीको बुबा माथि बरण्डमा उभिरहेका थिए । “हेर मलाई गाली गरेकी ? यो मोरो माग्ने छिमेकमा छोरी भाँड्न आँट्यौ तिमीले । …….छोटाको हावा लागेपछि बडाको स्वभाव कताबाट होस् ? यो छोटाहरूको टोल नछाडेसम्म यिनले छोड्ने होइनन् ।” दिदीआमा बुबासँग भन्दथिई ।
मेरो सानु मगजमा पनि त्यति बेला दुःख, क्रोध र क्षोभले एकै पटक भुमरी उठ्यो के गरुँ ! म ठूलो भैदिया भए मधुकरको सुदर्शन चक्र ल्याएर ….
“मधुकरको हातको सुदर्शन चक्र बिजुली चम्केझैँ चम्क्यो । तत्कालै ती मालतीका राक्षस्नी दिदीहरू समुद्रको पेटमा ……।” आमा भन्नुहुन्थ्यो । अनि म मालतीका दिदीहरूको ठाउँमा गौरीको दिदीआमालाई हेर्न इच्छा गर्थें । बोक्सी बूढी !
“गौरी, तिमी मकहाँ आउँछ्यौ ? …..आउ है त ?” म कराएँ ।
“ल ल, म भोलिपर्सी आउँला ।”
म त्यहाँबाट आफ्नो घरतिर आएँ, मन त त्यसै भरिएको छँदै थियो, आमाको अगाडि पुग्नासाथ मुटुको भक्कनो त्यसै फुट्यो । म आमाको काखमा घोप्टो परेर रुन थालेँ ।
“किन बाबु, के भयो ?” आमाले अनौठो मान्नुभयो ।
“त्यै गौरीकी दिदीआमा बूढीले त हो नि अर्कालाई लडाई दिई, अनि गौरीसँग खेल्न नआउनु भनेर गाली गरी ।” म कोक्किई कोक्किई वेलि–विस्तार लाउन थालेँ ।
“त अर्काकहाँ खेल्न किन जानु त ।” आफ्नो घरमा खेल्नू ।”
आमाले त्यतिमात्र भन्नुभयो । तर एकै क्षणको लागि उहाँको अनुहार बिकृत भयो । “उनीहरू ठूलाबडा मान्छे, उनीहरूकहाँ नजानू ।”
तर उनीहरू किन ठूला वडा हामी किन छोटा, यो प्रश्न त्यतिबेला मेरा गिदीमै चढ्न सक्तैनथ्यो । गौरी त ठूलाबडा होइन नि, ऊ त गौरी नै हो । ……. ऊ त मै जस्तो हो, ठूलाबडा कसरी हो ? …..
त्यसैदिन बेलुकी मलाई किन किन जाडो जाडो लागेर आयो । मैले आमालाई बताएँ, आमाले मेरो निधार, गाला एक–एक गरी छामेर, मलाई ओछ्यानमा सुताएर, सिरकले कुटुमुटु पारिदिनु भयो । मैले उठ्न खोज्दा मलाई त्यसो गर्न दिनुभएन । बेलुकी बाबा आउनु भएपछि आमाले बासँग भनेको मैले सुनेँ– “छोरालाई त बेफुङको ज्वरो छ ।”
म रातभर इन्तु न चिन्तु रहेँ । भोलिपल्ट बिहान मलाई मेरो शरीर कस्तो कस्तो लाग्यो । गौरी कहाँ पुग्न मेरो प्राण छट्पटाउन थाल्यो, तर उठ्न खोज्दा तिघ्रा कामेझँै मलाई लाग्यो । उनि मैले हिजो आमाले बासँग भनेको सम्झेँ, मलाई बेफुङको जरो छरे ! मलाई जरो छ, तर गौरीसँग खेल्ने इच्छा पनि सानो छैन ! गौरी त्यतिबेला के गरिरहेकी होली ? ……ऊ बगैचाको चौतारामा बसेर पोखरीको माछालाई सजाबजी दिइरहेकी होली । …..म जबरजस्ती उठ्न खोजेँ, तर त्यसै बखत आमा टुप्लुक्क आइपुग्नु भयो र मलाई फेरि ओड्नेले गुटुमुटु पारेर सुताउनु भयो । तर मेरो मन भने गौरीको वरिपरि मडारिरहेको थियो । गौरी साँच्चै त्यति बेला के गरिरकेही होली ? ……. साँच्चै ऊ केभराको पातमा जाईको फूल टिपेर मलाई पर्खिरहेकी भए ? …..
“आमा, म गौरीकहाँ नगए गौरी यहाँ आउँछे ? …. हो आमा ।” मैले आमासँग सोधेँ ।
“हो आउँछे, लौ ज्ञानी भएर सुत ।” आमा जानुभयो । अब मलाई अलि ढुक्क भयो । म ज्ञानी भएर सुतिराखे गौरी आउँछे । अनि म आमाले भन्नु भएजस्तै ज्ञानी भएर सुतिरहेँ । तर तीन–चार दिन सुत्दा पनि, ज्ञानी भएर सुत्दा पनि, गौरी आइन ।
“आमा गौरी किन आइन ?”
“आमा गौरी किन आइन ?”
“आउँछे, आउँछे,लौ चुप लागेर सुत, ज्ञानी भएर ।”
म चुप लागेर पनि सुतेँ; तर गौरी आइन । बिहान उज्यालो बोकेर आउँथ्यो, तर गौरी आइन । किन आइन गौरी ? …..
“रानी मधुमालतीले राजा मधुकरलाई एउटा मुरली दिएर स्वर्ग गइन् ? राती मधुकर, जब मालतीलाई डाक्न मन लाग्दथ्यो अनि, मुरली बजाउँथे । त्यो मुरलीको स्वर सुनेर मालती आउँथिन् ।” आमा किताब पढेर भन्नुहुन्थ्यो । तर मसँग त बाँसुरी छैन । त्यसैले गौरी आइन् ! मुरली बजाएपछि गौरी पक्कै आउँछे । तर खोइ मसँग मुरली ? …..
“आमा हामीलाई मधुकरको मुरली ल्याइदिनोस्न । म पनि बजाएर गौरीलाई डाक्छु । ….. मुरली बजाएपछि गौरी आउँछे हगि आमा ?”
मेरो कुरा सुनेर आमा मलाई अनौठोसँग हेर्नुहुन्थ्यो, मानो म वहाँको छोरो नभएर कुनै जन्ममा पनि नदेखेको नौलो र अनौटो जन्तु हुँ । मुखले भने तर केही पनि बोल्नुहन्नथ्यो ।
दुई चार दिन त आमाले यसै गरी नबोली टार्न खोज्नुभयो; तर अन्तमा मेरो ढिपी यतिसम्म बढ्यो कि वहाँले, हाम्रै छिमेकका पराजुली पंडितको गाई चराउने गोपेलाई भनेर, एउटा मुरली बनाएर नदिई सुख्खै पाउनु भएन । म पनि अब मुरली पाएर आफूलाई मधुकर राजा नै संझन थाले । अब केछ, भरे साँझ हुन्छ, अनि मैले मुरली बजाएँ कि त गौरी दौडेर आई ! बस त्यो संध्याको प्रतीरक्षामा मेरो मुटु उफ्रन थाल्यो–संध्या आई कि त गौरी पनि आई ।
बिस्तार बिस्तार त्यो प्रतीरक्षाको घडीको अन्त भयो; बिस्तारै संध्याले मेरो झ्यालभित्र खुट्टा हाली, अनि बिस्तारै ऊ त्यहाँबाट भागी पनि । मेरो ह्दयले धैर्य छोड्यो । अब मैले मुरली बजाएँ कि त गौरीले कोठाभित्र पाइला टेकी ।
साँच्चै नै त्यो सन्ध्याको धमिलोमा मेरो एकान्त कोठामा मुरलीको स्वर फुट्यो । मेरो सास मुरलीमा प्राण फुक्दै, आँखा ढोकाबाट पस्न गौरीको प्रतीक्षामा । अब आई गौरी, अब पसी गौरी ? म बाँसुरीमा जोर जोरसँग फुक्न थालेँ । मेरो घाँटी सुकेर सास भित्रै रुमल्लिन थाल्यो, तर गौरी आइन । मेरो आँखा ढोकैमा टाँस्सिन पुगे; तर गौरी आइन । मैले अरु जोरले बाँसुरी फुकेँ, बाँसुरीबाट घाँटी सुकेको मानिसले चिच्याएजस्तै स्वर निस्क्यो; तर गौरी आइन ।
तीन दिन मुरलीले चिच्याएर डाक्दा पनि मालती–गौरी आइन । बिस्तार बिस्तार मन मुरलीबाट मरेर गयो । मुरली त्यसै छेउमा मिल्किरहन्थ्यो, तर उठाएर त्यसमा प्राण भर्ने इच्छा हुँदैनथ्यो । गौरी आइन; मुरलीको स्वरले पनि ऊ आइन ! ….मलाई ज्यादै नरमाइलो लाग्यो ।
“आमा, गौरी आइन; किन आइन आमा ?” –म आमासँग बराबर सोध्न थालेँ । तर आमाले के जवाफ दिने । ….. वहाँ भरिलो आँखाले मलाई हेरिरहनु हुन्थ्यो ।
एकदिन बिहान जब मैले उठ्न खोजँे, त्यसबेला मैले आफ्ना तिघ्रा पैलेझँै काँमेको अनुभव गरिनँ, आँखा पनि तिरमिराएझैँ लागेन । मेरो मनमा अपार आनन्द भयो । अब गौरी मकहाँ नआए पनि के म उसकहाँ जान सक्तिनँ र ? मलाई अब निको भैहाल्यो । म प्रवल उत्साह र अधीर भएर आमालाई पर्खन थालेँ । आमा आएपछि सोधेर गौरी कहाँ जान ।
“आमा अब त गौरीकहाँ जाने है ? मलाई अब निको भयो हगि ?” आमा आउनसाथ मैले सोधेँ ।
“लौ, लौ, अब दुई दिनपछि जाउला । ऐले चुपचाप लागेर सुत ।” आमा भन्नुहुन्थ्यो । तर मलाई लाग्यो, त्यो दुई दिन यति टाढा छ कि, त्यस्तालाई पसारेर पनि भेट्टाउन सकिदैन ।
“हो आमा, पर्सी, हैत ?”
“लौ लौ, पर्सी ।” आमा आफ्नै काममा जानु भयो ।
आधी खुशी र आधी अधैर्यले म गौरीकहाँ जाने पर्सीको प्रतीक्षा गर्न थालेँ । पर्सि जब सूर्यको सुनौला किरणको घोडा चढेर बिहान हाम्रो आगनमा वर्लन्छ, अनि म गौरीकहाँ दौडन्छु । तर यतिका दिन पछि उसकहाँ जाँदा एउटा घोडा लिएर जान पाए ऊ दङ्ग पर्थी । उसले मलाई ‘यतिका दिन किन नआएको ?’ भनेर सोध्न पनि सक्तिन सोधे पनि के त म भनिहाल्छु नि, यही घोडा लिन गएको भनेर । अनि ऊ छक्क पर्छे, कति मज्जा हुन्छ । कति मज्जा ! बस घोडाको धुन चढ्यो ।
“आमा बालाई, हाम्लाई मधुकरको घोडा किन्न भनिदिनोस्न ।”
त्यसैदिन मैले आमासँग आफ्नो अनौठो माग पेश गरेँ । मेरो अनौठो मागले आमा एकपटक त लाटी जस्तै हुनुभयो । तर वहाँ केही पनि बोल्नु भएन ।
“आमा, है भन्या हाम्लाई मधुकरको घोडा ।” मेरो जिद्दी भने, रात जति छिप्पिन्थ्यो उति त्यसैको साथमा छिप्पिन्थ्यो । आखिर मेरो ह्दयमा मधुकरको घोडाको, गौरीलाई चढाएर बादलमाथि उड्ने कुराको यति गैह्रो छाप बसिसकेको थियो कि त्यसलाई मेट्न ब्रह्मा पनि समर्थ हुने थिएनन् भन्ने आज लाग्छ । त्यसमाथि मलाई पर्सी गौरीकहाँ जानु थियो । यदि पर्सी जाँदा घोडा लगेर उसलाई दिन नपाए त के रमाइलो । त्यसैले मेरो जिद्दी ज्यादै बढ्यो । यतिसम्म कि आमा पनि ज्यादै दिक्क हुनुभएछ । त्यसै राती मैले सुनेँ, आमा बासँग भनिरहनुभएको थियो– “यो बिरामी भएदेखि त कस्तो जिद्दीवाल भैरहेको छ भने हैरान गराइसक्यो । आज बिहानदेखि घोडा, घोडा रटेर टिप्नु खानु छैन ।”
“के घोडा ? …..।” यो बाको स्वर थियो ।
कुन्नि के हो, घोडा रे । …. अस्ति मधुकरको मुरली भनेर तमासा ग¥यो र एउटा बनाउन लगाए दिउँ, दुईदिन बजायो, कता फ्याँक्यो । अब आजदेखि घोडा ….”
‘यो सबै संगतको गुनको फल । ठूलाबडाको संगतको विष त महामारी फैलेझैँ पो फैलिन्छ । यसले हामीजस्ताको त प्राणै चुस्छ । त्यो घरको हावाबाट जतिसक्यो परै राख भन्यो मान्दिनौ तिमी । यसैगरी आज घोडा र भोलि मोटरको फर्माइस हुन थाल्यो भने ?” बाको स्वर बिल्कुलै बैलाएको थियो ।
“के गर्नु केटाकेटी, त्यहाँमाथि बिरामी । फेरि आजसम्म दिन पनि त केहि सकिया छैन ….”
आमा र बाको कुरा के हो मैले जम्मै बुझिनँ; र बुझ्ने चासो पनि थिएन । मैले वहाँहरूको कुराबाट यति नै बुझेँ कि आमाले बासँग भनेर मलाई घोडा किनिदिन लगाइ छोड्नुहुन्छ । आफूलाई त्यति भन्द बेसी अरु बुझ्नु पर्ने पनि त के थियो र । बस अब घोडा आयो, म पर्सी गौरीकहाँ पुगेँ । बस, कति आनन्द !
नभन्दै त्यसको भोलिपल्ट बेलुकी आमाले मेरो हातमा घोडा ल्याएर दिनुभयो – सानो सानो निर्पानी रंगको सुन्दर बायुपंखी घोडा । तर प्लाष्टिक (आलु)को ! मेरो मन केही खिस्रिक्क भयो । ख्यालख्यालको त गौरीसँग बाइस्क्ल नै छ नि । तर तत्कालै मेरो मनमा अभिमान आयो– कहाँको घोडा कहाँ त्यस्तो जाबो बाइस्कल ! खब रह्यो साँसच्चको र ख्यालख्यालको । साँच्चिको घोडा त ऊ त्यो बादलभित्रको शहरमा पो छ, जसलार्ए म भोलिपर्सि, ठूलो भएपछि गएर ल्याउँछु । अहिले त म केटाकेटी न छु, यसले भैहाल्छ नि ।
“तिमी अहिले क्या, केटाकेटी नै छौ ।” गौरी पनि त मलाई त्यसै भन्यो ।
आखिर त्यो लामो पर्खाइपछिको पनि एकदिन अन्त भयो । सूर्यले बिहान ल्याउनुभन्दा अगाडि गएर मैले आमालाई झिंझोलेँ– “आमा आज पर्सि होइन ? हामी गौरीकहाँ जाने है आमा ? ….है ?”
तर आमाको यो पखलाई मान्यता दिइरहने अब मलाई के जरुरत थियो र । अब उठ्दा मेरो खुट्टा काँप्दैनथे; आँखा पनि तिरमि¥याउँदैनथ्यो । सबभन्दा ठूलो कुरा त के भने गौरीलाई पनि जिल्ल पार्न मसँग घोडा थियो– सानो सानो निर्पानी रङ्गको सुन्दर प्लाष्टिक (आलु)को बायुपंखी घोडा । बस म बेलुकीपख त्यसैलाई काखी च्यापेर उसको घरतिर दौडेँ ।
बैशाख महिनाको सिरसिरे बतासले मेरो मन र अरीर दुबै खुब फुर्तिलो थियो । मेरो घरबाट गौरीको घर त्यै ५०० हात पनि पुगनपुग होला, मलाई त्यति जाबो पार गर्न कतिबेर लाग्थ्यो र, एक सासमा म उसको सडकको ठूलो ढोकामा पुगेँ ।
आज मलाई त्यहाँको रमझम देखेर आश्चर्य लाग्यो । ढोकाको दुईतिर अबीर, फूलले पूजा गरेर त्यसरी सिंगारेको, पानी भरी भरी भएको चाँदीको गाग्री त्यसरी राखेको मैले पैले कहिल्यै पनि देखेको थिइनँ । के होला ? आश्चर्यले पहिले वेग रोकिएको तर कौतुहलले डबल बेगले तानेको मैले जिज्ञासा रोक्न नसकेर ढाको छेउमा उभिएको बगैंचे शिवको छोरो गोरेलाई सोधेँ– “किन गोरेदाइ, के गर्ने त्यसले ? …. किन राखेको त्यो ?..”
“किन किन, तिमीलाई के ” सानु मैयाहरू जाने के ।” गोरेले जरकटिएको स्वरमा भन्यो । उनीहरूको व्यवहार पनि मप्रति रुखो, दिदीआमाकै ढंगको हुन्थ्यो । भता, यो व्यवहारसँग आफूलाई कुनै मतलब थिएन । मेरो कानमा त गोरेको त्यै जवाफ घुमिरहेको थियो, सानुमैया जाने ।’ कहाँ जाने ? …. मनमा खुलदुली दिएर म भित्र जान बढेँ । तर सिघै ढोकेले मलाई छेक्यो– “भित्र जानु हुन्न, मैयाँ अहिले यहीँ आउँछ ।”
म बिमूढ भएर त्यहीँ उभिरहेँ । त्यसबेला एउटा नयाँ मोटर भित्रतिरबाट ढोकातिर बग्दै आयो । ढोकामा आएर थामियो । मैले देखेँ, गौरीको बुबा गाग्रीमा पैसा हाल्न लागे, गौरी मोटर भित्र ।
“गौरी !” म मोटरतिर हुत्तिएँ । अनि झ्यालमा झुण्डिदै कराएँ । “हाम्ले घोडा ल्या छ बाबै मधुकरको घोडा !”
“खोई ?” गौरी खुशी र उत्सुक भएर म तिर झम्टी । मैले काखी मुनिबाट घोडा झिकेर उतिर लम्काएँ । तर एक्कासि मेरो जीउमा धक्का लागेझैँ लाग्यो, म उति पर पछारिन पुगेँ; मेरो घोडा मेरो हातबाट उछिट्टिएर, दश हात पर, सडकमा पछारियो ।
मैले झटपट भुईंबाट उठी धुरो टकटक्याउँदै उता हेरँे, मोटर बिस्तारै बग्दैथियो; झ्यालमा उभिएर मतिर हेरिरहेकी गौरीलाई एउटा जरखरिएको आइमाई हातले मोटरभित्र घिच्यायो । देख्दादेख्दै सडकको माझमा असहाय लोटिरहेको मेरो निरपानी रंगको सुन्दर आलुको घोडालाई आफ्ना भयानक पाङग्राले किचिमिची पार्दै मोटर अगाडि बढ्यो । त्यसै बेला मेरो कानमा आवाज आयो–
“……..शंकर, यो क्या, छोटाहरूको छिमेक रे, हाम्रो दिदीआमाले भन्या । यहाँका छोटाहरूको संगतले म बिग्रिएँ रे क्या, त्यसैले हामी घर सरेको । …… हो साँच्चि, अब म आउन्नँ । तिमी पनि नआउने हाम्रो घरमा ? ….. ऊ पर मधेशमा ।” गौरी दिदीआमाको हातबाट छुट्न बल गर्दै मोटरभित्रबाट हात हल्लाएर भन्दै थिई । उसको स्वर बिस्तारै मलिनिदै गयो ।
किन किन त्यतिबेला मलाई भित्रैदेखि रुँ रुँ लागेर आयो । अब गौरी यहाँ कैल्यै आउन्न । मेरो आँखा आँसुले धमिलो भयो । त्यै धमिलोमा मैले हेरेँ– पर, आफूभित्र गौरीलाई–मेरी मालतीलाई पचाएको कालो भयङ्कर दानव, मोटर सडकको छातीमा चिप्लिदै थियो, अनि त्यहाँ सडकको बीचमा, मेरो सानो सानो निरपानी रंगको सुन्दर आलुको घोडा–मधुकरको बायुपंखी घोडा, त्यो कालो दावनको भयकर पाङग्राले किचिमिची भएर असहाय लोटिरहेको थियो ।