हजुर !
म एउटा मजदुर
हरेक दिन
धर्तिमा उज्यालो खस्नु अघि
सुरु हुन्छ मेरो अविराम जिन्दगीको भागदौड ।
अनि पग्लिन्छन मेरो अङ्ग प्रत्यङ्गहरु
र बग्छ आफ्नै शरीरबाट नदी
घोटिन्छ्न मेरा हात पाखुराहरु
जाँतो घोटिएझैँ
चोइटिन्छन मेरा अस्थिपन्जरहरु
सिसा टुक्रिएझैँ
कमजोर हुन्छ मेरो जीर्ण शरीर
धमिराले मक्काएको बूढो रुखझैँ ।
तथापि,
म चलाइरहन्छु मेरा हात पाखुराहरु
दौडाइरहन्छु, मेरा हातगोडाहरु
आदेशले
चल भन्छ म चल्छु
रोक भन्छ म रोकिन्छु
जा भन्छ म गइहाल्छु
खा भन्छ म खान्छु
उठ भन्छ म खाँदाखाँदै उठ्छु
कुद भन्छ म सकिनसकी कुद्छु ।
शरीर मेरो हो
चेतना मसँग पनि छ
तर एउटा मेसिनझैँ
म उसको आदेशमा चल्छु
उसको इशारामा कुँद्छु
उसलाई भोक लाग्दा खान्छु
उसको फुर्सदमा आराम गर्छु
किनकि म एउटा मजदुर हुँ ।
तर अफसोच,
मेरा पसिनाले सिन्चिन्छ बाली
खेतबारी उसको हुन्छ
म रित्तिएर ढिकुटी भरिन्छ
मालिक ऊ ठहरिन्छ
बैंकहरुमा मेरो परिश्रम जम्मा हुन्छ
खाता र सहीछाप उसको चल्छ ।
म ठड्याउछु महल
भोगाधिकार उसको हुन्छ
म बनाउछु बाटो, चौतारी र मन्दिर
इतिहास उसको लेखिन्छ
हजुर !
म एउटा मजदुर !
(पोर्चुगल)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।