बगिरहेको नदीलाई नजिकै गएर सोधेँ
मेरो प्रश्न सुनेर टक्क रोकिंदै
एकनासले मलाई हेर्न थाल्यो ।
एकतमासले बगेको बतासलाई सोधेँ
अट्टहासका साथ
मेरो वरिपरि घुम्न थाल्यो
र टक्क रोकिएर घोप्टो पर्यो ।
संसारको गन्तव्य सेतो पहाडलाई सोधेँ
अकस्मात ज्वालामुखी विस्फोट भयो
र चट्टान पग्लेर बग्न थाल्यो नदीजस्तै
बादलसंग लुकामारी खेल्दै गरेको
पूर्णिमाको टहटह जूनलाई सोधें
निसास्सिएर आँसु झार्दै मूर्छा पर्यो ।
मैले त्यही प्रश्न मध्याह्नको घामलाई सोधेँ
‘तिम्रो जिन्दगी कति बांकी छ?’
घाम थरथर काम्न थाल्यो
र टुक्रा टुक्रा भएर खस्यो
ब्रह्माण्ड नै भताभुङ्ग पार्दै !
कहिँ कतैबाट पनि जवाफ नपाएको प्रश्न
तपाईं सामु राख्ने प्रयास गरेको छु
भन्नुहोस् महाशय !
तपाईंको जिन्दगी कति बाँकी छ अब ?
(विराटनगर)