चैत १६, काठमाडौं ।
फागु पूर्णिमा अर्थात् रङहरु खेलेर मनाइने पर्व होली आज तराई / मधेशमा मनाइँदै छ । नेपालमा यो पर्व पहाड र तराई /मधेशमा अलगअलग दिन मनाइन्छ । पहाडी भूभागमा हिजो मनाइएको थियो भने तराई / मधेशमा आज मनाइँदै छ ।
होली खासगरी नेपाल तथा भारतमा मनाइन्छ । प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने होली हिन्दू धर्मावलम्बीहरूको प्रमुख चाड हो।
होली पर्वलाई त्रेता युगसँग जोडेर हेरिन्छ । हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै फुपू होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आफै आगोमा भष्म भएकी थिइन् भन्ने किंवदन्ती छ । होलिकाले प्रल्हादलाई आगोमा हाले पनि उनलाई केही नभएको बरु उल्टै होलिका आफै आगोमा भष्म भएकी थिइन् । त्यही दिनदेखि होली पर्व सुरु भएको मानिन्छ।
यस पर्वले वसन्त ऋतुको आगमनको सङ्केत गर्छ । होलीको दिन मानिसहरूले एक अर्कालाई विभिन्न प्रकारका रङ्गहरू दलेर एक अर्कालाई रङ्गिन बनाउँछन् ।
होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलिका दहन गरिन्छ । राती होलिका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ ।
सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् । युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् । होली पुरानो कटुता समाप्त गरेर एकआपसमा मित्रता पुनर्वहाली गर्ने दिन पनि हो । यसकारण होलीलाई आपसी रिसीइबी बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।
काठमाडौंमा फागुन शुक्ल अष्टमीका दिन वसन्तपुर दरबार अगाडि चीर ठड्याएर विधिवत रुपमा होलीको शुभारम्भ गरिन्छ । यसरी सजाएर ठड्याइएको चीर/लिङ्गोलाई पूर्णिमाको राती ढालेर जलाएपछि होली समाप्त हुन्छ ।