चैत १५, आँबुखैरेनी ।
आँबुखैरेनी स्रष्टा समाज आँबुखैरेनीले विभिन्न क्षेत्रका ६ जनालाई सम्मानित गरेको छ । समाजले आँबुखैरेनीमा एक कार्यक्रमको आयोजना गरि विभिन्न क्षेत्रका ६ जना व्यक्तित्वहरुलाई सम्मानित गरेको हो ।
समाजले हरेक वर्ष वितरण गर्ने ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’बाट कवि मित्रलाल पंज्ञानीलाई सम्मानित गरेको छ । सम्मानित व्यक्तित्व पंज्ञानीलाई खादा, सम्मानपत्र, मायाको चिनो र नगद राशीले सम्मान गरेको हो । यो पुरस्कारको राशी नगद १० हजार रहेको छ ।
यस्तै ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’बाट कलाकार रमेश केसी मत्तारेलाई सम्मानित गरेको छ । समाजका संरक्षक इन्द्रमान परियारले आफ्नो स्वर्गीय मातापिता पुतली÷बुद्धिमान परियारको स्मृतिमा स्थापना गरिएको यो पुरस्कारबाट कलाकार केसीलाई खादा, सम्मानपत्र, मायाको चिनो र नगद १० हजार राशीले सम्मान गरेको हो ।
त्यसैगरी, भगवानदास मल्ल संरक्षक रहनुभएको कृष्णदास चेतकुमारी मल्ल उत्कृष्ट स्वास्थ्य सेवा सम्मान पुरस्कारबाट आँबुखैरेनी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्याय र आँबुखैरेनी स्वास्थ्य चौंकीमा कार्यरत कर्मचारी (ल्याव टेक्निसियन) अमृत पण्डित सम्मानित भएका छन् । कोरोना भाइरसको संक्रमणको अवस्थामा उच्च स्थानमा रहेर काम गरेको भन्दै उपाध्याय र पण्डितलाई खादा, सम्मान–पत्र, मायाको चिनो र नगद राशी जनही ५ हजार रुपैंया प्रदान गरी सम्मान गरिएको हो ।
यस्तै, संगिता श्रेष्ठ संरक्षक रहनुभएको ‘महेशकुमार श्रेष्ठ प्रतिभा पुरस्कार’ बाट आँबुखैरेनी क्याम्पसका स्नातक तहमा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुनु भएका व्यवस्थापन संकाय तर्फका सपना गुरुङ र शिक्षाशास्त्र संकाय तर्फका दिपीका थापा सम्मानित भएका छन् । गुरुङ्ग र थापालाई खादा, सम्मान–पत्र, मायाको चिनो र नगद राशी २ हजार ५ सय रुपैंया प्रदान गरी सम्मान गरिएको छ । आँबुखैरेनी स्रष्टा समाजले २०७१ सालदेखि ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ र २०७३ सालदेखि ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ प्रदान गर्दै आइरहेको छ भने ‘महेशकुमार श्रेष्ठ प्रतिभा पुरस्कार’ बाट आँबुखैरेनी क्याम्पसका स्नातक तहमा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने व्यवस्थापन र शिक्षा शास्त्र संकाय तर्फका एक–एक जना गरि २ जना विद्यार्थीलाई सम्मानित गर्ने गरिएको छ।
शनिबार सम्पन्न कार्यक्रम समाजका अध्यक्ष अनिल श्रेष्ठको सभापतित्व तथा वरिष्ठ समालोचक, सौन्र्दय चिन्तक प्राध्यापक डा. जगदिशचन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो । कार्यक्रममा विशिष्ट अतिथि समालोचक प्रा.डा. ताराकान्त पाण्डे, गाउँपालिका अध्यक्ष गिर बहादुर थापा, अतिथिहरु डा. कृष्णराज अधिकारी, तेजविलास अधिकारी, सृजन अविरल, अप्सरा अधिकारी, गौरी दाहाल, मोदनाथ मरहठ्ठा, भिम रानाभाट, शिला योगी, कृष्णप्रसाद पोखरेल, नारायण मरासिनी, पर्शुराम कोइराला, खगेश्वर सापकोटा, गोपाल मरहठ्ठा, अम्बिका मुडभरी, नर्मदा पंगेनी लगायत स्थानीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो।
यस्तै कार्यक्रममा सम्मानित स्रष्टा मित्रलाल पज्ञानीको बारे वरिष्ठ समालोचक सौन्दर्य चिन्तक प्रा.डा. ताराकान्त पाण्डे र कलाकार रमेश के.सी. मत्तारेको बारे कलाकार अप्सरा अधिकारीले मन्तव्य राखेका थिए ।
सम्मानित स्रष्टाहरुलाई कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, दाताहरु र समाजका अध्यक्ष लगायतले सम्मान गरेका थिए। बिशाल थापाले संचालन गरेको कार्यक्रममा स्रष्टाहरुले आफ्ना विभिन्न सृजनाहर समेत प्रस्तुत गरेका थिए ।