प्रस्तुत आलेख तयार पार्दा खसहरू तथा खसान क्षेत्रमा प्रस्फुटित लोकगीत, लोकसंस्कृति, प्रगतिशीलता एवं लोकसाहित्यको प्रमुख विधा ‘लोकगीत’ बारे सामान्य चर्चा गर्दा विषयवस्तुबारे बुझ्न सरल हुने देखेको छु । ‘लोकगीतमा प्रगतिशीलता’ शीर्षकले नै नेपालमा रहेका १२५.जातजाति र हालसम्म जीवित १२३ भाषा भाषिकाका लोकगीत समेट्न गहन साधना आवश्यक त छँदै छ, यी विशाल जातजातिका लोकगीतबारे अध्ययन, अनुसन्धानतर्पm अग्रसर हुन लामो समयको गहन साधना पनि चाहिन्छ । त्यसबाहेक त्यस्ता लोकगीतमा प्रगतिशीलता समेट्न यो छोटो आलेखमा मुस्किलै पर्छ । यसैले खस महाजातिका लोकगीतमा प्रगतिशीलताबारे सामान्य चर्चा गर्ने प्रयास गरिएको छ ।
खस महाजातिका मानिसहरू देशका विभिन्न भागमा रहेका छन् । खसहरूबाहेक अन्य समुदायका लोकगीतलाई यसमा समेट्न सकिएको छैन । अन्य जातजातिका लोकगीतहरुमा समेत प्रगतिशीलता पाइन्छ नै । तथापि सबैलाई बुझ्न र ग्रहण गर्न सजिलो हुने खसानी लोकगीतमा प्रगतिशीलता खोज्ने प्रयास गरिएको छ । खसानी लोकगीतको चर्चापूर्व खसहरूको सामान्य चिनारी, ऐतिहासिक खस राज्य, लोकसाहित्य, लोकसंस्कृति एवं लोकगीतमा प्रगतिवाद र प्रगतिशीलताबारे छोटकरीमा चर्चा गरौँ ।
(क) खसहरूको ऐतिहासिक पृष्ठभूमि
मानव सभ्यताको उद्गमभूमि मानिने कविलाश (कैलाश) क्षेत्र कालान्तरमा खसहरूको प्रिय र आफ्नै भूमि बन्यो । सो पवित्र भूमिमा निर्माण भएका सभ्यताका विसारदहरू श्वेत वाराहकल्पको युद्धका कारण कैयौँ कुराहरू लोप भएको मानिन्छ । विभिन्न मिथकसँग जोडिएको यो हिमवत्खण्डमा रुद्र, नाग, किरात, यक्ष, गन्धर्व, किन्नर, लाङ्घा, खस जस्ता विभिन्न जातजाति र यिनीहरूबाट निर्मित सांस्कृतिक क्रियाकलाप मानव सभ्यताका संवाहक बन्न पुगे । यस क्षेत्रमा बसोबास गर्ने वैदिक–अवैदिक, आर्य–अनार्य, शैव, शाक्त, बौद्ध तथा हिन्दुहरूको तपोभूमि, क्रीडाभूमि मात्र होइन, यहाँका शासक र शासित वर्गबिच मिलन, सङ्घर्ष, रूपान्तरण, अन्तरघुलन भएका ऐतिहासिक र पौराणिक तथ्यहरू रहेका छन् । यिनै सङ्घर्ष, रूपान्तरण, मिलन र अन्तरघुलनबिच तत्कालीन खसान क्षेत्रको खारी हुँदै लामाथाडा (सिँजा) केन्द्र भई पछि विस्तार हुँदै व्यापक क्षेत्र ओगटेको खस राज्यमा निर्मित लोकसंस्कृतिका अभिन्न अङ्ग बन्न पुगेको लोकसाहित्यभित्रको लोकगीत विधाले आफ्नो छुट्टै पहिचान दिन पुगेको छ ।
(ख) खसराज्य
अति प्राचीन कालमा यस क्षेत्रलाई विभिन्न नामले चिनिए पनि पनि हिमवत्खण्डमा खसहरू कसरी पुगे ? भन्नेबारे विविध मत रहेका छन् । हिन्दु अध्यात्मावादी सोचअनुसार मानव उत्पत्तिको आधारभूमि हिमालय वा कैलाश क्षेत्रलाई मानेका मिथकीय पौराणिक कथन पाइन्छन् भने कतिपय समाजशास्त्रीहरू यस क्षेत्रमा खसहरूको प्रवेशपूर्व कर्णाली नदी आसापस र यस क्षेत्रका अन्य केही स्थानमा घुमन्ते मानवहरूको बसोबास रहेको बताउँछन् । त्यही अवशेषको रूपमा कुसुन्डा, वनमानुष, राउटेलाई लिने गरिन्छ । खसहरू यहाँ पुग्नुपूर्व नै विभिन्न वंशको राज्य रहेको प्रमाणसमेत पाइन्छ । जालन्धर, पाल, मल्लहरू खसराज्य स्थापनापूर्व नै अस्तित्वमा थिए । पाँचौँ शताब्दीपछि भने विभिन्न स्थानबाट आआफ्ना प्रचलन, सभ्यता बोकेका विविध मानव समुदायहरूले आआफ्नो सभ्यता–संस्कृति भिœयाएको पाइन्छ ।
मध्य एसियाको ककेसस क्षेत्रका कविलाइ कशहरू इरान, इराक, अफगानिस्तानको बाटो हुँदै यस क्षेत्रमा प्रवेश गरेका विभिन्न जातजातिहरू यसपूर्व जहाँजहाँ बसेर शासन गरे, त्यहाँ आपूmले प्रयोग गरेका सांस्कृतिक कृत्यहरूलाई यस क्षेत्रमा प्रवेश गराउँदा रैथाने संस्कार–संस्कृतिसँग प्रभाव पार्दै अन्तरघुलन भएको पाइन्छ । इतिहासका विभिन्न कालखण्डमा भएका विविध सत्ता सङ्घर्ष र जनविद्रोहले निर्माण गरेका लोकसाहित्यमा प्रगतिशीलताका छनक पनि पाइन्छन् । यसरी यस क्षेत्रका आदिमानव, रैथाने जातजाति, तिनीहरूबिचको रक्त मिश्रण र अन्तरघुलन वैदिक सभ्यताका मिथकहरू, वेदपुराणमा वर्णित भिन्न सभ्यता–संस्कृतिबिचका सङ्घर्ष, रूपान्तरण, समन्वय हुँदै गर्दा एघारौँ शताब्दीमा सिँजा लामाथाडामा खसराज्य स्थापित भई विशाल खसराज्यले जानीनजानी अनुमोदन गरेको लोकनिर्मित संस्कृतिभित्रको लोकसाहित्यको प्रमुख विधा लोकगीतले छुट्टै सामाजिक पहिचान बोकेको छ ।
(ग) लोकसंस्कृति
निश्चित भूगोलमा बस्ने मानव समुदायका सामाजिक क्रियाकलापका सम्पूर्ण विषयवस्तु लोकसंस्कृति हुन् । अर्को अर्थमा समाज, समुदायमा रहेका आमनागरिकका क्रियाकलापलाई लोकसंस्कृति भनिन्छ । यही मानवीय क्रियाकलापभित्र जीवनजगत्लाई बुझ्ने र तदनुरूप क्रियाकलाप सम्पन्न गर्ने गरेको पाइन्छ । संस्कृति कुनै अलौकिक शक्तिको देन वा उपज नभएर जनता स्वयंले आफ्नो संस्कृति निर्माण गरेका हुन्छन् । यसरी संस्कृति निर्माण हुँदा समाजभित्रका अन्तरविरोध, विचार, आदर्श मूल्यमान्यताले अहं भूमिका निर्वाह गर्ने गर्छ । संस्कृति निर्माण हुने अवस्थामा परम्परागत यथास्थितिवादी शक्ति र नवीन सोचका शक्तिबिच सामाजिक अन्तरविरोधबिच बहुसङ्ख्यक जनताको चाहनाले महत्त्वपूर्ण भूमिका खेल्छ । जनता स्वयंले निर्माण गरेका मूर्त–अमूर्त संस्कृतिहरू समाजको गतिसँगै जीवित र लोप हुन्छन् । तिनले लोकसाहित्य, लोकगीत आदि सिर्जना र विकास गरेको पाइन्छ ।
समाज, समुदायले जीवनजगत् बुझ्ने परम्परागत मूल्यमान्यता परिवर्तन हुँदै गर्दा लोकसंस्कृति पनि परिवर्तन हुँदै जान्छ । बिस्तारै त्यहाँ पुरानो लोप भई नयाँले प्रवेश पाउँछ तर राजनीतिक परिवर्तन जस्तो सजिलो र शीघ्र हुँदैन सांस्कृतिक परिवर्तन । यसले लामो समय र वंशपरम्परा लिन्छ । जब नयाँ संस्कार र संस्कृति उदय हुँदै जान्छ, त्यसबाट अन्य सामाजिक क्षेत्र जस्तै लोकसाहित्यका प्रत्येक विधामा स्वतःस्फुर्त सामाजिक प्रतिबिम्बस्वरूप परिवर्तन, परिमार्जन हुन पुग्छन् । यही क्रमले विश्वका विभिन्न स्थान र कालखण्डमा संस्कार र संस्कृति निर्माण हुने र लामो समयपछि लोप भएर जाने गरेका छन् । खसानी लोकसाहित्यमा पनि त्यसको प्रभाव नपर्ने कुरै भएन । खसराज्यको विशाल भूगोलभित्र रहने विभिन्न जातजाति, समुदायका मानिसले निर्माण गरेका तिनै संस्कार, संस्कृतिभित्रकै लोकगीतले आदिकालदेखि वर्तमानसम्म यसै क्षेत्रको पहिचान दिने गरेका छन् । श्रुतिपरम्परामा जीवित रहने त्यस्ता कैयौँ लोकगीतहरू लोप भइसकेका छन् भने कैयौँ रूपान्तरित हुँदै अस्तित्व बचाइरहेका छन् ।
(घ) लोकसाहित्य
लोक र साहित्यको संयोजन दुई शब्दबाट भए पनि ‘लोक’ को अर्थ व्यापक र सम्मानित छ । वैदिक साहित्यमा लोक र भुवनबारे विस्तृत चर्चा गरिएको पाइन्छ । लिखित साहित्यको ‘सूर्य नपुग्ने ठाउँमा कवि पुग्छ’ भन्ने उक्ति परापूर्व कालमै हाम्रा पुर्खाहरूले लोकसाहित्यमा अनुभूत गरिसकेका थिए । त्यसैले त्रिलोक चौध भुवनबारेमा वर्णन गरिएको हुनुपर्छ । यसरी समग्र भूगोल र आमजनतालाई समेट्ने ‘लोक’ शब्द वर्तमानमा समेत राजनीतिक क्षेत्रमा प्रिय बन्न पुगेको पाइन्छ ।
मानव उत्पत्ति र विकाससम्बन्धी विभिन्न मत रहेका छन् । आध्यात्मावादी दर्शनले मानव विकास दैवी शक्तिको उपज मान्छ भने समाजशास्त्रीय, मानवशास्त्रीय र भौतिकवादी खोजअनुसन्धानले विकासवादी सिद्धान्तलाई प्रमुख मान्छ । खसान क्षेत्र वा हिमवत्खण्डमा कविलाइ मानवहरू विभिन्न युग पार गरी कृषि युगमा प्रवेश गरेका हुन् । त्यसको प्रमाण खासै नदेखिन सक्छ । कृषियुगपछि बसोबास र बन्दोबस्ती गर्दै जहाँजहाँ जसरी पुगे, बस्ती बसाए । प्रकृति लगायत विभिन्न शक्तिसँग सङ्घर्ष गर्दै भोगेका सुखदुःख, माया प्रेम, आँसु हाँसो, उत्सव, उमङ्ग आदि विविध व्यवहारबारे आआफ्ना अनुभूतिहरु लोकसाहित्यमार्पmत व्यक्त गर्न थाले । समाजमा बस्दै गर्दा सामाजिक अन्तरविरोध र शासकीय वर्ग कित्ताको स्वार्थले वर्ग उत्पत्ति, वर्ग विभाजन र वर्ग सङ्घर्षमा होमिदै गर्दा जीवन भोगाइ र उन्मुक्तिका लागि कथिएका लोकसाहित्य हेर्दा ती केवल आर्तिउपदेश, रतीरागात्मक मायाप्रेमका विषयवस्तु र परम्परावादी मात्र देखिँदैनन् । लोकसाहित्यमा तत्कालीन समाजको प्रतिच्छाया मात्र पर्दैन, समाज रूपान्तरणका लागि समेत भूमिका रहेको हुन्छ । जसरी आमसाहित्यमा ‘समाज बुझ्ने मात्र होइन, समाज बदल्ने पनि हो’ भनिन्छ, त्यसै गरी लोकसाहित्यका नवीन प्रयोगले त्यसमा बल प्रदान गर्छ ।
सामाजिक सम्पत्तिको रूपमा ग्रहण गरिएको लोकसाहित्यले परम्परागत सोचमा अपठित गाउँलेहरूको साहित्यको संज्ञा दिए पनि व्यापक अर्थमा अधिकांश नागरिकसँग जोडिएको साहित्य हो । लोकगीले इतिहासका विभिन्न कालखण्डमा मानवीय त्याग, बलिदान, सङ्घर्ष आदि घटना परिघटनाको साक्षी बनेर परम्परागत मूल्यमान्यता भत्काउँदै नवीन सोच स्थापित गर्न प्रभावकारी उपस्थिति देखाउने गरेको पाइन्छ । प्रस्तुत आलेखमा लोकसाहित्यका अन्य विधाहरूलाई थाती राखेर लोकगीतबारेमा छोटो चर्चा गरौँ ।
(ङ) लोकगीत
लोकगीत लोकसाहित्यको लोकप्रिय वा सर्व प्रचलित विधा हो । यसलाई बालकदेखि वृद्धसम्म सबै ज्यादै मन पराउँछन् । समाजभित्र घट्ने सुखदुःख, आँसुहाँसो मात्र होइन सामाजिक, धर्म, संस्कृति, इतिहास, रीतिस्थिति, मायाप्रेम, प्रथापरम्परा, जीवन मूल्य, राजनीति, अर्थनीति, औषधिमूलो, शोषण, दमन, सङ्घर्ष जस्ता समाजमा घट्ने विविध विषयहरू लोकगीतमा समेटिएका हुन्छन् । यिनै सामाजिक सेरोफेरोको वृत्तवरिपरि लोकगीत सिर्जना भएर गाइन्छन् । गाउँसमाजमा हुने चाडपर्व, मेलापात, वनजङ्गल, हाटबजार, यात्रा, सामाजिक कार्यमा लोकगीत प्रयोग हुने स्थल हुन् । जीवनजगत्लाई बुझ्ने दृष्टिकोण विभिन्न प्रकारका विभेद जस्ता अनुभूतिजन्य संवेदना युक्त भावहरू लोकस्रष्टाले लोकगीतबाट व्यक्त गर्न पुग्छ । यसरी लोकगीत पनि वर्गीय भावभङ्गिमा सिर्जना हुने कुरालाई स्विकार्र्नै पर्छ । मानव बस्तीको आदिकालदेखि आजसम्म यसरी नै लोकसाहित्यरूपी बगैँचामा लोकगीत फलेफुलेको पाइन्छ । यिनै आकर्षणले लोकगीहरू सबैको प्रियवस्तु भएर हालसम्म जीवित रहन सकेका छन् ।
माथि उल्लेख गरेअनुरूप खसान क्षेत्रको प्रारम्भदेखि भिन्नै र बेग्लै पहिचान दिन सफल खसानी लोकगीतहरू जाति, भूगोल, समाज, समुदायगत विविधता देखिए पनि यस क्षेत्रका सबै मानिसहरूले सजिलै सबैका गीतहरूको अर्थबोध गर्न सक्छन् । खसान क्षेत्रका खस महाजाति र अन्य जातिहरूका आआफ्नै लोकगीतका बोल, ढाँचा, शैली, प्रस्तुति भए पनि सबै समूहबाट आपसमा सम्मान गर्ने गरिन्छ । लेख्य साहित्यमा पाइने विचार, वाद, विवाद जस्तै लोकगीत वा ग्राम्य साहित्यमा पनि त्यस्ता विविध वाद, सिद्धान्त विचार समावेश भएका पाइन्छन् । किनभने जुनसुकै साहित्यको सिर्जना मानव समाजलाई केन्द्रमा राखेर निर्माण भएको हुन्छ । अतः लोकगीतमा प्रगतिशीलता खोज्नुपूर्व प्रगतिशीलता र प्रगतिवादको सामान्य चर्चा गर्नु सान्दर्भिक होला ।
(च) लोकगीतमा प्रगतिवाद
एकै शब्द जस्ता देखिने प्रगतिवाद र प्रगतिशीलताबिच कैयौँ समानता हुँदाहुँदै पनि सारतत्त्वमा धेरै फरक छ । त्यसैले यथास्थितिवाद विरुद्ध सर्वहारा वर्गको भूमिका लागि द्वन्द्वात्मक तथा भौतिकवादी दर्शनलाई आत्मासात् गरी वर्ग सङ्घर्ष र बल प्रयोगको सिद्धान्तलाई स्वीकार गर्दै साम्राज्यवाद, विस्तारवाद, प्रभुत्ववाद लगायत सबै खाले संशोधनवाद विरुद्ध प्रयोग गरिने लोकगीतहरूलाई प्रगतिवादीको श्रेणीमा राखिन्छ । अझ लोकगीतमा यस्तो सचेतपूर्ण सिर्जन तत्त्व बिरलै पाइन्छ । निश्चित व्यक्ति नदेखिने तर समाज र समुदायमै सिर्जना हुने लोकगीतको सर्जक कति सजक छ ? जीवनजगत् बुझ्ने उसको दृष्टिकोण भौतिकवादी छ÷छैन, त्यसमा पनि निर्भर हुन्छ प्रगतिवाद । इतिहासको कुनै कालखण्डमा नेपालको जनयुद्धमा समर्पित लोकस्रष्टाहरूले सचेततापूर्वक सिर्जना गरेका प्रगतिवादी लोकगीतहरू पनि पाइन्छन् । उदाहरणका लागि—
रामारोसन हिउँ पढिगो, बुढी गङ्गा बैत ।
नयाँ सत्ता ल्याउनु पड्¥यो, जान्ने पिमा छैत ।।
माया लाउँला माया पाउँला, मायैको भोजन ।
जैलसम्म ठालु रन्छन्, जादैन शोषण ।।
नयाँ सत्ता र सामन्त अर्थात् ठालुहरू रहँदासम्म शोषणको अन्त नहुने खसानी देउडा वा ठाडी भाकाको उल्लिखित गीतमा व्यापक सामाजिक अर्थ समेटिएको छ । मानिस कविलाइ समाजदेखि वर्तमानसम्म आइपुग्दा उसले प्रारम्भिक सङ्घर्ष प्रकृतिसँग गरे पनि राज्यसत्ताको अभ्युदयपश्चात् निर्माण भएका वर्ग भिन्नता एवं स्वार्थले आआफ्नो वर्गरक्षाका लागि भएका सानाठुला विद्रोहले उपजनै वर्तमान हो । मानव सभ्यता विभिन्न चरणमा विभिन्न सङ्घर्षबाट वर्तमानसम्म आइपुग्दा समाजका कैयौँ सानाठुला परिवर्तन भएका छन् । यस्ता परिवर्तन स्वतः भएका होइनन्, परम्परावादी राज्य शक्तिबाट निर्मित ऐनकानुन, नीतिनियम, प्रथापरम्पराले वर्ग पक्षधरता ग्रहण गर्दा यथास्थितिवादी र परिवर्तनकामी दुई भिन्न वर्ग कित्तामा विभाजित समाजभित्र अन्तरविरोध हुनु स्वाभाविक हो । त्यही अन्तरविरोधका उपज हुन् त्यस्ता सामाजिक परिवर्तन ।
(छ) लोकगीतमा प्रगतिशीलता
अनेक वर्गकित्तामा विभाजित समाजमा यथास्थितिभन्दा अग्रगमनका हिमायतीहरू नै प्रगतिशील मानिन्छन् । यिनै प्रगतिशील भावना भएका लोकस्रष्टाहरूबाट प्रगतिशील लोकगीतको सिर्जना हुन पुग्छ । समकालीन समाज जस्तो छ, जसरी चलिरहेछ, त्योभन्दा पृथक् वैज्ञानिक सोच, शैलीलाई आत्मासात् गरी समाज रूपान्तरणमा प्रवाह गरिने उन्नत विचार नै प्रगतिशील अवधारणा हो । लोकसाहित्यको प्रमुख विधा लोकगीतको सिर्जना एवं क्रीडा भूमि ग्रामीण क्षेत्र भएको र क्रान्ति एवं परिवर्तनका संवाहक किसान, मजदुर वा आममानिसहरू गाउँमै रहने भएकाले आफ्नो मुक्तिखातिर भएका सङ्घर्षमार्पmत नै उनीहरु लोकगीतमा प्रगतिशीलता प्रवेश गराउँछन् । यसैमार्पmत गरिब किसानहरूले सजिलै ती गीतहरू आत्मसात् गर्छन् । यसरी खसानी समाजका अन्तरविरोधबिचबाट लोकगीतमा प्रगतिशीलताले प्रवेश पाएको छ ।
सामाजिक परिवेश विचित्रको हुन्छ । समाज परिवर्तनका आफ्नै मूल्यमान्यता छन् । एक थरी मान्छेहरु ‘लोकगीत विशुद्ध मनोरञ्जक हुनुपर्छ, यसमा मायाप्रेम र परम्परागत मूल्यमान्यताका अर्तिबुद्धि, उपदेशयुक्त विचारहरू व्यक्त हुनुपर्छ’ भन्दै समाजका पुराना मूल्यमान्यता मात्र पछ्याउँछन् । कतिपय मानिस भने समाजमा रहेका असमानता, थिचोमिचो, शोषण, दमन, रूढीवादी अन्धविश्वास, कथित प्रथा, प्रचलन संस्कार, संस्कृति आदिमा समयकाल अनुसार फेरबदल गर्नुपर्ने प्रगतिवादी सोच राख्ने गर्छन् । यी दुवैको अन्तरविरोधबिच यथास्थितिमा रहेको समाजलाई परिवर्तन गर्नका लागि वैज्ञानिक, समुन्नत सोचअनुरूप लोकगीतहरू सिर्जना हुन्छन् । यसरी यथास्थिति र परिवर्तिनवादीको द्वन्द्वबिचबाट प्रगतिशीलताको उदय हुन्छ । यही प्रगतिशीलता नै कालान्तरमा प्रगतिवादमा रूपान्तरण हुन्छ । प्रगतिवादको प्रस्थानबिन्दु वा प्रारम्भिक रूप नै प्रगतिशीलता हो ।
खसानी समाजका विभिन्न तह र तप्कामा जानी नजानी प्रारम्भदेखि नै यथास्थितिवाद विरुद्ध लोकस्रष्टाहरूले लोकगीतमार्पmत आफ्ना भावना व्यक्त गर्दै सामाजिक चेतना जागृत गर्ने गरेको पाइन्छ । जातीय असमानता विरुद्ध लोकगीत सिर्जना भएको एउटा उदाहरण हेरौँ—
केटी— साठीका बगालभित्र गाईको नाम छ ध्यानु ।
साइको बाउली समाउँदाउर जात भैगो स्यानु ।।
केटा— जुन खोली भात खायौ साइले, त्यो खोली पात छैन ।
निद्रालाई बिस्तरा छैन, मायालाई जात छैन ।
लोकगीतका स्रष्टाहरू आफ्नो भूगोलमा मात्र सीमित हुँदैनन् । विदेशी भूमिमा समेत भएका अन्याय, अत्याचार, थिचोमिचो विरुद्धसमेत आवाज उठाउन पछि पर्दैनन् । अमेरिकी साम्राज्यवादले भियतनाममा गरेको हमलाको विरोध गर्दै नेपालमा लोकगीत सिर्जना भएका थिए—
खोला खोला नहिँड्नु होला
अम्रिकानले खसाउँछ बमगोला ।।
यस्तै नेपालले आफ्नो विशाल भूभाग सुगौली सन्धिमार्पmत गुमाउनुप¥यो । त्यसको असैह्य पीडा नेपाली जनमानसमा पैदा भयो । सो असन्तोषको राप खसानी क्षेत्रमा प्रचलित देउडा र ठाडीभाकामा यसरी गुन्जन पुग्यो—
देश बिग्रियो लथालिङ्ग, पेसा छ मन्दीमा ।
सीमा मिची नेपाल खायो, सुगौली सन्धिमा ।।
सुगौली सन्धिपछिका विभिन्न काखलण्डमा हाम्रो भूभागका कैयौँ स्थानमा भारतबाट सीमा मिचिनु, पारवाहन तथा व्यापार सन्धिका नाममा नाकाबन्दीदेखि कैयौँ राजनीतिक हस्तक्षेप हुँदा सिक्किमीकरणको नियति भोग्नुपर्ने हो कि भन्ने चिन्ता प्रकट गर्दै न्यायप्रेमी नेपालीहरूलाई सचेत गराउन यस क्षेत्रका गाउन्याराहरूले खसानी वनजङ्गल, मेला, जात्रा र विभिन्न जमघटमा गीतबाटै आफ्ना विचार यसरी व्यक्त गर्छन्—
लेकका सिमसिमे खोला, काल्च्या कराउँछ की ।
सीमा मिच्दै भारतले, सिक्किम बनाउँछ की ।।
अम्रैका हाँगाका दाउरा, दियाले झर्कैको ।
सुस्ता हाम्रै, लिपु हाम्रै, चकचकी अर्कैको ।।
यस्तै २००७ सालको परिवर्तनमा किसान नेता भीमदत्त पन्तले डोटी–डँडेलधुरा क्षेत्रमा ‘कि त जोत हलो कि त छाडे थलो, यदि हैन भने अब छैन भलो’ जस्ता गीतको संयोजन गर्दै देउडा गाएको त्यस क्षेत्रका जनता अझ स्मरण गर्दै छन्—
बम्बै जाने रेलगाडीमा, दिल्लीको माल आयो ।
गरिबका दिन आया, ठालुको काल आयो ।।
२०५२ सालमा आरम्भ भएको जनयुद्धका क्रममा विभिन्न स्थानमा संस्कृति सेना र संस्कृति परिवार निर्माण भई स्थानीय स्तरका लोकगीत, लोकनाचमा नवीनपना ल्याई तिनमा प्रगतिशीलताको प्रचुर प्रयोग गरिएको थियो । त्यसबाहेक खसानी क्षेत्रकै लोकगीतको प्रयोगमा हेर्ने हो भने पनि यहाँ प्रचलित प्रमुख एवं मौलिक देउडाले देशैभरि प्रचारप्रसार हुने स्वार्णिम अवसर प्राप्त गरेको थियो । लोकगीतको विशेषतै यो हो गाउँ समाज हुँदै टाढाका दूरदराजमा विस्तार हुन पुग्नु । जसरी नेपालबाट विदेशका विभिन्न सैनिक क्याम्पमा भर्ती हुन गएका नेपालीहरूले नेपाली लोकगीत प्रवेश गराए । जनयुद्धक क्रममा देशभित्रै पनि विभिन्न भाका र नाचमा नयाँपना प्रवेश मात्र भएन, एक कुनाबाट अर्को कुनासम्म विस्तार भयो । यसले वर्तमानमा पनि निरन्तरता पाएको छ । पैसरी, सरङ्गे (गर्वा वा मयुरनाच) सिँगारु, टप्पाका गीत एवं नृत्यमा नवीनता आएको देखिन्छ । अतः जसरी समाज परिवर्तन हुन्छ, सामाजिक मूल्यमान्यतामा पुरानो चालचलन विस्थापित भएर नयाँ सूत्रपात हुन्छ, तब लोकस्रष्टाहरु लोकगीत सिर्जनामा दत्तचित्त हुन्छन् । समाजमा हुने विभिन्न प्रकारका शोषण र विभेदका लागि निर्माण भएका धर्म, संस्कृति, मूल्यमान्यताहरूमा लोकस्रष्टाहरूले ठुलै प्रहार गर्न नसके पनि सूक्ष्म रूपमा त्यसउपर व्यङ्ग्य र रोस प्रकट गर्दा अग्रगमनका गीतहरूले प्रगतिशीलताको सुरुआत गर्छन् । ती लोकगीतहरूले वर्गीय असमानता, कथित भगवान् पनि पक्षपाती भएको रोस र दुःखकष्टपूर्ण जीवनको वर्णन गरेको पाइन्छ—
कोइ खान्या जरनको भात, कोइसँग कोद¥या नाइँ ।
कोइ लाउन्या कम्पनी माला, कोइसँग पोत्या नाइँ ।।
ससुरा भान्छामा गया, बुहारी छुइ छन् की ।
कोइ सुखमा, कोइ दुःखमा, भगवान् दुई छन् की ।।
बाघले बाखरी मा¥यो, कोइ खान्छन् की मासु ।
जिन्दगी दुखैमा बित्यो, क्या सम्झेर हाँसु ।।
समाज पनि विचित्रको छ । जे देख्छ, त्यही भन्छ र आफ्नो रोस प्रकट गर्छ । सबै रोस प्रगतिशील हुँदैनन् । तथापि यथास्थितिको तानाबाना विरुद्ध आवाज उठाउनु पनि प्रगतिशीलताको प्रारम्भिक रूप बन्न पुग्छ । दिनानुदिन घट्ने घटनाबाट स्रष्टा बेखबर हुँदैनन् । वर्तमानमा विश्व महामारी कोभिड–१९ बाट हाम्रो देश पनि आक्रान्त छ । समाज अस्तव्यस्त भएको यही महामारी कालमा पनि भ्रष्टाचार र निहित राजनीतिक स्वार्थले समाजमा उत्पन्न विसङ्गगत क्रियाकलाप विरुद्ध लोकस्रष्टाहरूले यस्ता गीत गाउन थाले—
कोरोनाको महामारी, सहर बजार गाउँमा ।
कोही रुने नेपालभित्रै, क्वै विदेशी ठाउँमा ।।
भैँसी गोठ कुमाख लेक, कुकुर भुक्यो गाउँमा ।
कमिसन कसकसले खाया, कोरोनाको नाउँमा ।।
घर बिग्य्राइ छोरीका माइत, आँसुको भेल भयो ।
कोरोनाको निहुँ गरी, कमाउने खेल भयो ।।
देशविदेश कोरोनाले, भयो हल्लीखल्ली ।
दुईतिहाइको घरझगडा, जन्ताको बिचल्ली ।।
न यताको न उताको, क्याको मोलाकाज ।
सरकारको नपर्नु भर, जन्ता ठग्ने राज ।।
उपसंहार
कविलाइ समाजदेखि वर्तमानसम्म आइपुग्दा मानिसले विभिन्न प्रकारका सङ्घर्ष गर्दै आइरहेको छ । समाजमा निर्मित विभिन्न प्रकारका धर्म, संस्कृति तथा तिनीहरूबाट प्रभावित ऐनकानुन पनि सामाजिक आवश्यकताले परिमार्जन, परिवर्तन र सुधार हुने गर्छन् । यस्ता सुधारहरू सामान्य अवस्थामा हुन गाह्रो हुन्छ । सामाजिक परिवेश पनि एकै पटक परिवर्तन हुँदैन । समाजमा रहेका विभिन्न वर्ग र तहका मानिसहरूको आआफ्नै वर्गस्वार्थले निर्माण हुने विचारबिच पनि द्वन्द्व हुनु स्वाभाविकै हो । अतः यस्ता विचारहरूबिचको द्वन्द्वका कारण समाजका अन्य तहमा जस्तै लोकसंस्कृतिको एउटा पाटो लोकगीतमा पनि प्रभाव पर्छ । विविध कारणबाट समाजमा विद्यमान विभिन्न विचारहरूमध्ये यथास्थितिभन्दा पृथक् उन्नत सोचयुक्त विचारलाई स्थापित गर्न सघाउ हुने प्रगतिशील लोकगीत सिर्जना हुन पुग्छन् ।
माथि नै उल्लेख गरियो, समाज रहेका हुने नहुने, हुनेखाने हुँदा खाने, गरीखाने ठगीखाने, पुरातनवादी अग्रगामी, प्रगतिवादी यथास्थितिवादी जस्ता विपरीत सोच वा प्रवृत्तिबिच साहित्य सिर्जनाको प्रसङ्गमा आदर्शवाद, यथास्थितिवाद विरुद्ध कथिने लोकगीतहरू नै प्रगतिशील लोकगीत हुन् ।
लामो सामाजिक शृङ्खलामा खसानी समाजमा रहेका जातीय, क्षेत्रीय, लैङ्गिक विभेदबिच परिवर्तनका लागि विभिन्न लोकगीतहरू सिर्जना भएका छन् । यस्तै प्रगतिशील राष्ट्रवादका पक्षमा पनि कैयौँ लोकगीतहरू खसानी समाजमा सिर्जना भएको पाइन्छ । हुन त यस आलेखमा देउडा गीत मात्र समावेश गरिएको छ तथापि झाप्रे, सिँगारु, टप्पा, सोरठी, छलिया, होरी, न्याउल्या आदि धेरै प्रकारका लोकगतिको क्षेत्रमा महत्त्वपूर्ण पहिचान दिन सफल र देउडा, ठाडीभाका, तेर्छीभाका, स्यामलै, न्याउल्यामा लय दिन मिल्ने देउडाबारे उल्लेख हुनु पनि महत्त्वपूर्ण छ । यसरी लोकगीत केवल मनोञ्जनका लागि वा परम्परागत शासकीय सत्ताको वृत्तवरिपरि घुम्छ भन्ने सोचभन्दा परिवर्तनको संवाहक चेतनायुक्त जनतालाई सङ्गठित गर्न प्रगतिशील गीतहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
पूर्व बग्ने गण्डकीय, पश्चिम बग्ने भेरी ।
सङ्घर्ष अपूरो भयो, लड्नुपर्छ फेरि ।
जुम्लाकी जुम्लेली आमै, काम्ली बन्देउ चौक्या ।
देशको दुर्दशा हेर्दै, बस्न सक्या छौक्या ।।
(सल्यान)