फागुन २१, काठमाडौं ।
काठमाडौको आरआर क्यामपसमा अभ्युत्थान साहित्य प्रतिष्ठानले १११ ओं नारी दिवसको अवसरमा “महिला र साँस्कृतिक रुपान्तरण : चुनौती र कार्यदिशा” विषायक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
अभ्युत्थान साहित्य प्रतिष्ठानकी सदस्य जनकवि युद्ध प्रसाद मिश्रकी जेष्ठ सुपुत्री दिव्यवती मिश्रको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै शुरु गरिएको कार्यक्रममा आहुतीले अवधारणा र प्रतिष्ठानकी महासचिव शुशिला प्रधानाङ्गले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने कार्यपत्रमाथि प्राध्यापक सावित्री श्रेष्ठ र लेखक पार्वती राउतले टिप्पणी गर्नु भएको थियो ।
महिला लेखक साहित्यकारहरूको उपस्थिति बिच सम्पन्न कार्यक्रममा आहुतीले मार्क्सवादी अवधारणा अवलम्बन गर्ने आन्दोलनहरूले राजनीतिक रूपमा केही उपलब्धीहरू प्राप्त गरे पनि जनजीवनमा प्रत्यक्ष अनुभूत हुने गरि उपलब्धीहरू देखिएको छैन, आधारभूत रूपमा रूपान्तरण नभइ साँस्कृतिक रूपान्तर हुन सक्दैन भन्ने सन्दर्भ जोड्दै विकाशोन्मुख मुलुकहरूको वा पुँजीवादी मोडलले ल्याएको परिवर्तन पनि महिला मुक्तिको लागि विश्वव्यापी बन्न सक्दैन किनकि पुँजीवादले महिलालाई वस्तुमा परिणत गरेको पाइन्छ भन्ने धारणा राख्नु भयो ।
उहाँले विश्व कम्युनिष्ट पार्टी भित्रै पनि महिलाको मुद्दालाई हल गर्ने समानताको दृष्टिकोण निर्माण गरेको नपाइएकोले महिला मुद्दाले प्राथमिकता नपाएको र वर्गीय मुद्दा हल गर्न पुरूष भए पुग्छ भन्ने धारणा बनाउनु नै कम्युनिष्ट आन्दोलनको कमजोरी भएको मन्तव्य राख्दै महिला मुद्दा वर्गीय मुद्दा भन्दा कमजोर समस्या नभएको तर कम्युनिष्टहरूको अध्ययनमा वर्गीय मुद्दा नै मुख्य मान्नु र महिला मुद्दालाई कमजोर प्रकृतिको मानेर विश्लेषण गर्नु नै कम्युनिष्टहरूको पनि कमजोरी भएको बताउनु भयो । पुरानो मार्क्सवादले मात्रै महिला, दलित वा रङ्गभेदको मुद्दा हल गर्न नसक्ने र मार्क्सवादको विकासले बाध्यात्मक परिस्थिति निर्माण गर्नुपर्ने उहाँको निचोड रह्यो ।
त्यस्तै गरेर कार्यपत्र प्रस्तोता शुशिला प्रधानाङ्गले अन्यायमा प्रतिवाद गर्न नसक्नु महिलाको कमजोरी र पुँजीवादले महिलालाई नै सिकार बनाइरहेको अवस्थालाई वृस्तित रूपमा उजागर गर्नु भएको थियो ।
सीता शर्माको अध्यक्षतामा सम्पन्न प्रस्तुत गहन विषयवस्तु माथिको अन्तरक्रियात्मक कार्यक्रम सचिव कमल मिश्रले सञ्चालन गर्नु भएको थियो ।