आमा ! म आज रातै फुलेकी छुँ हेर्नुस् त जस्तो वनभरि लालिगुराँस फुल्छ जस्तो बारीभरि गुलाव, सयपत्री अनि पानीभरि कमल र वाटरलिलीहरु फुल्छन् के फूल मन नपराउने मानिसहरु पनि बस्छन् र हाम्रो समाजमा आमा ? यदि त्यस्ता मानिस छैनन् भने किन हँसिया प्रहार गर्दैछन् मेरै फूलको बोटमा र पठाउँदैछन् आफूबाटै छुट्याएर टाढा त्यो डरलाग्दो छाउगोठमा आमा बिन्ती छ म सफा कोठा र अँगेनीमा नै बस्छु है किनकी म आज रातै फूलेकी छुँ । तिमीले नै उमारीदिएको यो बोटमा खुसी झुल्दा कोपिला हुँदै यसरी ढकमक्क रातै फुल्दा तपाईं पक्कै खुसी हुनुहुन्छ होला नि हैन यो खुसी मेरा बाबालाई पनि बाँड्नुस् है आमा । मलाई थाहा छ आमा रातै फुल्नु भनेको श्रृष्टिको रक्षा गर्नु हैन र ! आफूजस्तै अर्को फल फलाउनु हैन र ! जसरी तपाईँले मलाई यो संसार देखाउनु भो त्यसैगरी मैले पनि कसैलाई यो संसारमा ल्याउनु होइन र ! तपाईँ नै भन्नुस् त आमा के फूलविना फल फलाउन सम्भव छ यो धर्तीमा ? हो, आमा म आज हाम्रै लैनी गाईको दूध दही र घ्यू खान्छु यो फूल सफा गर्न हाम्रै त्यो पानी खाने पँधेरामा जान्छु है किनकी म आज रातै फूलेकी छुँ । मैले देखेकी छु आमा ! मजस्तै कैयौँ संङ्गीनीहरु यसरी नै मजस्तै फूल्दा कैयौँ आमा बाबाले फूलको सुगन्ध नबुझेर छिःछिः र दुर दुर को व्यवहार गरेर भैँसीगोठमा सुताउँदा भैँसिले नै कुल्चेर ज्यान गएको छ नि ! तपाईंलाई पनि त थाहा छ नि है आमा ! पोहोरसाल जेठाबाकी छोरी रातै फुल्दा राति बारीमै सुतेको बेला सर्पले डसेर मृत्यु भयो नि है । आमा ! याद छ अस्ति मात्र रातै फुलेको बेला हाम्रै सानिमाकी छोरीलाई भेँडी गोठमा एक्लै बसाउँदा पेट दुखेर मरेकी हैन र ! यति सबै कुरा देखेकी र भोगेकी मेरी आमा बिन्ती छ मलाई नपठाउनुस् है छाउगोठमा सुत्न दिनुस् यहि मेरै कोठामा किनकी म आज रातै फुलेकी छुँ । आमाले बिर्सिनु भयो अस्ति भर्खर मात्रै हाम्रो गाउँ पनि छाउगोठ मुक्त भयो नि ! सबैकी छोरी यसैगरी रातै फुलेको बेला त झन् मिठो खाना चाहिन्छ सफा नाना चाहिन्छ प्रशस्त आराम चाहिन्छ अनि बढी सरसफाई चाहिन्छ नि ! कति धेरै मेरी संगीनीहरुको ज्यान लिएको त्यो चिहान समान अँध्यारो कालो छाउगोठमा बिन्ति छ मेरी आमा ! मलाई नपठाउनुस् है । आमा ! यदि म त्यो कालकोठरीमा नजाँदा यी देउता रिसाउँछन् भने यी समाजका मानिस घृणा गर्छन् भने म तपाईँले जस्तोगरी अन्याय सहन सक्दिनँ बरु मर्छु तर तिनीहरुसँग लड्छु । बिन्ती छ आमा ! मलाई त्यो कालकोठरीमा नपठाउनुस् है किनकी म आज रातै फुलेकी छुँ । (मुगु)