कवि पवनले ढकालको ‘फैसला हारजीतको’ कविता संग्रहबाट ‘श्राद्ध बाबु–आमाको’ कविता वाचन गरे । हिमांशुले ‘नाम कमाउने रहरमा’ र विष्णु अधिकारीले ‘जिउनुको अर्थ खोज्दा’ निबन्ध पाठ गरेका थिए । यी दुवै निबन्ध ढकालको ‘नाम कमाउने रहरमा’ पुस्तकमा समावेश छन् ।
ढकालले माओवादी जनसेनाको नेपाली सेनामा समायोजन गरिएको सन्दर्भमा लेखेको फुटकर कथा ‘क्यान्टोन्मेन्टबाट बिदाइ’ कवि तारा चौलागाईंले वाचन गरिन् । २०६७ सालमा ‘शब्द संयोजन’ पत्रिकामा प्रकाशित अन्तर्वार्ताको महत्त्वपूर्ण अंश पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो । अन्तर्वार्ता ज्वालामुखी लामिछानेले वाचन गरेका थिए । कार्यक्रममा गायक अन्जान बाबुले ढकालको गीत ‘छैन विश्वास लागेको’ सुनाए ।
‘ढकालका फुटकर रचनाहरुको वाचन र श्रवणले उहाँको वैचारिक पक्षधरता र सिर्जनात्मक योगदान बुझ्न सहयोग पुग्छ भन्ने हेतुले हामीले यसप्रकारको कार्यक्रम गरेका हौं’, समालोचक तथा माक्र्सवादी चिन्तक निनु चापागाईंले भने, ‘उहाँका निबन्ध र कविताहरुमा सांस्कृतिक रुपान्तरणमा जोड, अर्थपूर्ण जीवनप्रति निष्ठा, अवसरवादको विरोध अभिव्यक्त हुन्छ । अन्तर्वार्ताले चाहिँ उहाँको पारिवारिक पृष्ठभूमि, उहाँको वैचारिक विकास र प्रगतिवादी आन्दोलनभित्रका समस्याबारे उहाँको दृष्टिकोण बताउँछ ।’
चापागाईंले घनश्याम ढकाल सांस्कृतिक रुपान्तरणप्रति अत्यन्तै प्रतिबद्ध लेखक भएको उनका रचना र जीवनव्यवहारले पुष्टि गर्ने बताए । घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत रहेका चापागाईंले भने, ‘ढकाललाई जनयुद्धका कथाकार भनेर पनि चिन्न सकिन्छ । उहाँका कथामा नेपाली समाजका समस्या, नेपालको कम्युनिस्ट आन्दोलनका विचलनबारे पनि विषय बनाइएको छ । तर, मूलतः जनयुद्धसँग जोडिएका विषयमा लेख्ने थोरै कथाकारमध्ये उहाँ पनि एक हो ।’
ढकालको २०६८ साल फागुन १ गते जनयुद्ध दिवसको कार्यक्रममा सहभागी हुन जाँदा सडक दुर्घटनामा निधन भएको थियो । ढकालका कथा, उपन्यास, निबन्ध, कविता, समालोचना गरी विभिन्न विधामा झण्डै दुई दर्जन पुस्तक प्रकाशित छन् । उनी प्रगतिशील लेखक सङ्घ, अखिल नेपाल लेखक सङ्घको अध्यक्ष पनि थिए । घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानले ढकालका सम्पूर्ण रचनाहरुको संकलन र प्रकाशनको तयारी गरिरहेको छ ।