आमा ! म आज रातै फुलेकी छु – सिपी संघर्ष प्रियापत्थर
on:
आमा ! म आज रातै फुलेकी छुँ
हेर्नुस् त
जस्तो वनभरि लालिगुराँस फुल्छ
जस्तो बारीभरि गुलाव, सयपत्री
अनि पानीभरि कमल र वाटरलिलीहरु फुल्छन्
के फूल मन नपराउने मानिसहरु पनि
बस्छन् र हाम्रो समाजमा आमा ?
यदि त्यस्ता मानिस छैनन् भने
किन हँसिया प्रहार गर्दैछन् मेरै फूलको बोटमा
र पठाउँदैछन् आफूबाटै छुट्याएर टाढा
त्यो डरलाग्दो छाउगोठमा
आमा बिन्ती छ
म सफा कोठा र अँगेनीमा नै बस्छु है
किनकी म आज रातै फूलेकी छुँ ।
तिमीले नै उमारीदिएको यो बोटमा खुसी झुल्दा
कोपिला हुँदै यसरी ढकमक्क रातै फुल्दा
तपाईं पक्कै खुसी हुनुहुन्छ होला नि हैन
यो खुसी मेरा बाबालाई पनि बाँड्नुस् है आमा ।
मलाई थाहा छ आमा
रातै फुल्नु भनेको श्रृष्टिको रक्षा गर्नु हैन र !
आफूजस्तै अर्को फल फलाउनु हैन र !
जसरी तपाईँले मलाई यो संसार देखाउनु भो
त्यसैगरी मैले पनि कसैलाई
यो संसारमा ल्याउनु होइन र !
तपाईँ नै भन्नुस् त आमा के फूलविना
फल फलाउन सम्भव छ यो धर्तीमा ?
हो,
आमा म आज हाम्रै लैनी गाईको
दूध दही र घ्यू खान्छु
यो फूल सफा गर्न
हाम्रै त्यो पानी खाने पँधेरामा जान्छु है
किनकी म आज रातै फूलेकी छुँ ।
मैले देखेकी छु आमा !
मजस्तै कैयौँ संङ्गीनीहरु
यसरी नै मजस्तै फूल्दा
कैयौँ आमा बाबाले फूलको सुगन्ध नबुझेर
छिःछिः र दुर दुर को व्यवहार गरेर
भैँसीगोठमा सुताउँदा
भैँसिले नै कुल्चेर ज्यान गएको छ नि !
तपाईंलाई पनि त थाहा छ नि है आमा !
पोहोरसाल जेठाबाकी छोरी रातै फुल्दा
राति बारीमै सुतेको बेला
सर्पले डसेर मृत्यु भयो नि है ।
आमा ! याद छ
अस्ति मात्र रातै फुलेको बेला
हाम्रै सानिमाकी छोरीलाई
भेँडी गोठमा एक्लै बसाउँदा
पेट दुखेर मरेकी हैन र !
यति सबै कुरा देखेकी र भोगेकी मेरी आमा
बिन्ती छ
मलाई नपठाउनुस् है छाउगोठमा
सुत्न दिनुस् यहि मेरै कोठामा
किनकी म आज रातै फुलेकी छुँ ।
आमाले बिर्सिनु भयो
अस्ति भर्खर मात्रै हाम्रो गाउँ पनि
छाउगोठ मुक्त भयो नि !
सबैकी छोरी यसैगरी रातै फुलेको बेला त
झन् मिठो खाना चाहिन्छ
सफा नाना चाहिन्छ
प्रशस्त आराम चाहिन्छ
अनि बढी सरसफाई चाहिन्छ नि !
कति धेरै मेरी संगीनीहरुको ज्यान लिएको
त्यो चिहान समान अँध्यारो कालो छाउगोठमा
बिन्ति छ मेरी आमा !
मलाई नपठाउनुस् है ।
आमा !
यदि म त्यो कालकोठरीमा नजाँदा
यी देउता रिसाउँछन् भने
यी समाजका मानिस घृणा गर्छन् भने
म तपाईँले जस्तोगरी अन्याय सहन सक्दिनँ
बरु मर्छु
तर तिनीहरुसँग लड्छु ।
बिन्ती छ आमा !
मलाई त्यो कालकोठरीमा नपठाउनुस् है
किनकी म आज रातै फुलेकी छुँ ।
(मुगु)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।