तिमीले भन्यौ- अयोग्यहरूलाई योग्य काम दिने यो आरक्षण भन्ने कुरा खारेज होस ! मेरो पनि भन्नु छ - सवैभन्दा बढी आरक्षणको उपयोग मात्र तिमीले गरिरहेका छौ तिमी सोधौला, कसरी ? ल सुन म भन्छु- प्राय मन्दिरको पूजारी कुन जातको छ ? संस्कृत विद्यापीठका प्राचार्य कुन जातका छन् ? प्राचार्य र शिक्षक मात्र होइन विद्यार्थी पनि कुन जातका छन् ? सुन, अझै सुन- यो देशमा दुई सय पचास वर्ष किन एउटै जातको राजा भयो ? अझ किन एउटै वंशको भयो ? अझ किन छोरो मात्रै भयो ? अझ किन जेठो मात्रै भयो ? के यो आरक्षण थिएन ? अझै सुन्छौ ? लौ सुन- दुई सय पचास वर्षदेखि किन कुनै प्रधानमन्त्री एकै जातका भए ? किन प्रधान सेनापति एकै जातका भए ? मूख्य सचिव, प्रधान न्यायधीश किन खास जातका मात्रै भए ? फेरि सुन- तिमीले लगाउँने कपडा सिलाउँने किन दमाई मात्रै भयो ? तिमीले लगाउँने जुत्ता सिलाउँने किन सार्की मात्रै भयो ? तिम्रो घरको हँसिया अर्जाप्ने किन कामी मात्रै भयो तिम्रो आँगनको सिनो फाल्ने किन चमार मात्रै भयो हजारौं वर्षदेखि पढ्ने र पढाउँने एक्लो ठेकेदार किन ब्राम्हण मात्रै भयो ? ओ आरक्षणका विरोधी महोदय भात पकाउँने भाँडा माझ्ने तिम्रो वैवाहिक नोकर बन्ने काम किन आइमाईको मात्रै भयो ? बिर्ता बक्सिस पाउँने अधिकार किन तिम्रो मात्रै भयो ? तिमीले कव्जा जमाएका स्थानहरूमा किन रोकियो हामीलाई खुल्ला प्रतिस्पर्धा गर्न ? विज्ञानको कुन शाखाले भनेको छ- खास जातका मान्छे विद्वान हुन्छन् खास जातका मान्छे बहादुर हुन्छन् र खास जातकाहरू जन्मदै अयोग्य हुन्छन् ? ओ जन्मजात योग्य महासय मेरा प्रश्नहरूको जवाफ लेख्न एउटा विज्ञप्ती दिने हो कि ? र अन्तमा सुन- तिमीले अयोग्य घोषणा गरेका यी दुई सय पचास वर्षअघि पनि मानव जातिको इतिहास थियो तिम्रो योग्यता न चलाएर पनि हाम्रो सभ्यता चलेको थियो तिमीले अयोग्य घोषणा गर्नु अघिका हजारौं वर्ष हामी कुन योग्यताले टिक्यौं होला ? महासय, आऊ एउटा मज्जाको बहस हामी आँखा जुधाएर सुरु गरौं !