आज तामाङ समुदायले विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व अर्थात नयाँ वर्ष मनाउँदै छन् । यसलाई ग्याल्पो ल्होसार पनि भनिन्छ ।
माघ शुक्ल प्रतिपदाका दिन सम्पन्न हुने यस पर्वलाई तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउँछन् । केही वर्ष अघिदेखि देशका विभिन्न ठाउँबाट राजधानी आएका बसोबास गर्ने तामाङ समुदायले टुँडिखेलमा सांस्कृतिक झाँकी प्रदर्शनसहित् कार्यक्रम गर्ने गरेको भएता पनि कोरोना महामारीका कारण यसपल्ट घरघरमै बसेर ल्होसार भनाइँदै छ ।
मञ्जुश्री पात्रो अनुसार आजबाट मुसा वर्ष सकिएर गाई वर्ष सुरु भएको छ । तामाङ क्यालेन्डरे अनुसार आजैबाट २८५७ औँ वर्ष सुरु भएको छ । यस पात्रो अनुसार मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर,चरा, कुकुर र सुँगुर गरी १२ किसिमका वर्ष हुन्छन् । तामाङ भाषामा ल्हो भनेको वर्ष र सार भनेको फेरिनु हो ।
२८५७ वर्ष पहिले आजैको दिन मञ्जुश्रीले पञ्चशीर्ष डाँडामा बसेर ८४ हजार ग्रन्थको धर्मादेशना गरेकोले आजैका दिनदेखि मञ्जुश्री संवत सुरु भएको मानिन्छ ।
यसपल्ट सोनाम ल्होसार पर्वको अवसरमा नेपाल सरकारले देशैभरि सार्वजनिक विदा दिएको छ ।