एउटै गाउँको एउटै सरकारी स्कुलमा
एउटै कक्षाको एउटै सेक्सनमा
एउटै लहरको एउटै बेन्चमा
एउटै ऐच्छिक विषयका एउटै शिक्षकले
सिकाएका, लेखाएका, घोकाएका
एउटै प्रश्नका एउटै जवाफ घोकीघोकी
उस्तैउस्तै अङ्क ल्याएर परीक्षा पास गर्ने
तिम्रो र मेरो दुनियाँ
बेग्लै बेग्लै छ अहिले ।
झोला भिरेनौँ हामीले स्कुल जाँदा
बाक्ला पाठ्यपुस्तकका
पातला गाताहरू च्यातिने गरी
पिठ्युँनिर अड्याएर, भुँडीतिर घुसारेर
उस्तैउस्तै स्कुले सर्टका
एउटै खालका टाँकहरू
सँगसँगै छिनालेर
सँगसँगै हुर्किएका
तिम्रो र मेरो हैसियत
बेग्लै बेग्लै छ अहिले ।
स्कुलमा भिर्न
पहिले जानेनौँ, पछि मानेनौँ
थाहा थिएन
जिन्दगी जिउन भिर्नै पर्ने रहेछ
समयले परिबन्धको झोला
काँधमा बिसाइदिएपछि
उस्तैउस्तै मनस्थितिका
उस्तैउस्तै परिस्थितिका
दौँतरी दौँतरीबीच बेमेल गराउने
तिम्रो र मेरो झोला
बेग्लै बेग्लै छ अहिले ।
आऊ दाजौँ आज
तिमीले भिरेको झोला
र, मैले भिरेको झोला !
आश्वासनका लोभलालचले
बेइमानीका बकपत्रहरू
औजसका औजारहरू
जालसाँजीका गुजुल्टाहरू
तानावानाका पानाहरू
खाँदीखाँदी अटाइएको
झमेलाको
काँधै झट्कार्ने त्यो झोला
जुन नेताजीको हो, तिम्रो पनि होइन
तिमीलाई गह्रुङ्गो लाग्छ
तर हलुङ्गो मानेर बोक्छौ ।
अगाध आत्मसन्तुष्टिले
सत्कर्मका संकल्पहरू
इमान्दारीका इनामहरू
परिश्रमका पोकाहरू
जिम्मेवारीका जन्तरहरू
मिलाईमिलाई अटाइएको
स्वाभिमानको
काँधै सित्तल पार्ने यो झोला
जुन मेरो आफ्नै हो, अरु कसैको होइन
मलाई हलुङ्गो लाग्छ
अनि हलुङ्गै मानेर बोक्छु ।
तिमीलाई तिम्रो झोला गह्रुङ्गो लाग्छ
मलाई मेरो झोला हलुङ्गो लाग्छ
यो महसुस हो तिमीले र मैले गर्ने
के वास्तविक तौल उल्टो हुन सक्दैन र ?
ए मेरो दौँतरी !
आऊ जोखौँ एकफेर
तिम्रो र मेरो झोला
जो, बेग्लै बेग्लै छ अहिले ।
(डेनमार्क)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।