पट्पट् फुटेको ओठ छाम्दै हेरिरहेको थियो त्यो बृद्ध पट्पट् फुटेर चिराचिरा परेको सुकेको नदी । जब ऊ केटाकेटी थियो गोठालाहरुसँगै भैँसी चढेर आउथ्यो घामको न्यानो किरणमा त्यो नदीमा मज्जाले भैँसीहरु आहाल बस्थे पानी हाँसहरु रमाउँथे थरीथरीका सानाठूला माछाहरु पौडिरहन्थे उफ्रिरहन्थे । तर जुन दिनदेखि सुक्यो न त केटाकेटी आए न त भैँसी, माछा र हाँस नै आए कहाँ गयो ? कता गयो ? अबिरल बगिरहने त्यो पानी जलविना रित्तोरित्तो सुकेको नदी । जब ऊ जवान थियो त्यो नदीको पानी बर्षामा त यस्तरी उर्लन्थ्यो बल्लतल्ल हेलिदै हेलिदै तर्नुपर्थ्यो उसको जोश र नदीको जोश उस्तैउस्तै घाँसको भारी बोकेका घाँसेहरु पारि खेत हिँडेका खेतालाहरू लुगा सुर्किसुर्कि तर्थे सर्वाङ्ग भिजेर अनि लुगा मचक्क मिचेर सुकाउँथे किनाराका ठूलाठूला चिप्लेटी ढुङ्गामा । त्यहीँ किनारमा हिउँद महिनामा हाट लाग्थ्यो नदीको शीतल हावामा रमाउँदै युवायुवतीहरु दोहरी गाउँथे नदीको कलकल सङ्ग्लो पानी पनि सँगसँगै गाइरहन्थ्यो नदीको वरिपरि परपर माथिल्लो गाउँ तल्लो गाउँ उमङ्ग र उल्लास छरिन्थ्यो छङछङ आवाजको सुमधुर धूनले । तर जुन दिनदेखि नदी सुक्यो न त घाँसे न त खेताला न त त्यो हाट न त युवायुवतीको दोहोरी कहाँ गयो कता गयो त्यो रमझम त्यो खुसीयाली एक्लोएक्लो अलपत्र सुकेको नदी । धमिलिएको पावरवाला चश्मा पुछेर आँखामा मिलाउदै त्यो वृद्धले सबैतिर नियाल्ने चेष्टा गर्यो पर परसम्म बगरै बगर फाँडिएका सबै बनपाखा पहिरो गएर भासिएर बसाईँपछि छुटेका गाउँघरका टुटेफुटेका अवशेष । यसो टुसुक्क बसेर त्यो बृद्धले उजाड नदीको सतह यताउता हातले छाम्यो स्नेहपूर्वक आफ्ना बाल्यकाल र जवानी खोजेझैँ । तर चुपचाप चुपचाप छ सुक्खा सुक्खा सुनसान उराठलाग्दो सुकेको नदी । (लस एन्जेलस)