पट्पट् फुटेको ओठ छाम्दै
हेरिरहेको थियो त्यो बृद्ध
पट्पट् फुटेर चिराचिरा परेको
सुकेको नदी ।
जब ऊ केटाकेटी थियो
गोठालाहरुसँगै भैँसी चढेर आउथ्यो
घामको न्यानो किरणमा
त्यो नदीमा
मज्जाले भैँसीहरु आहाल बस्थे
पानी हाँसहरु रमाउँथे
थरीथरीका सानाठूला माछाहरु
पौडिरहन्थे उफ्रिरहन्थे ।
तर
जुन दिनदेखि सुक्यो
न त केटाकेटी आए
न त भैँसी, माछा र हाँस नै आए
कहाँ गयो ? कता गयो ?
अबिरल बगिरहने त्यो पानी
जलविना रित्तोरित्तो
सुकेको नदी ।
जब ऊ जवान थियो
त्यो नदीको पानी
बर्षामा त यस्तरी उर्लन्थ्यो
बल्लतल्ल हेलिदै हेलिदै तर्नुपर्थ्यो
उसको जोश र नदीको जोश
उस्तैउस्तै
घाँसको भारी बोकेका घाँसेहरु
पारि खेत हिँडेका खेतालाहरू
लुगा सुर्किसुर्कि तर्थे
सर्वाङ्ग भिजेर
अनि लुगा मचक्क मिचेर सुकाउँथे
किनाराका ठूलाठूला चिप्लेटी ढुङ्गामा ।
त्यहीँ किनारमा हिउँद महिनामा
हाट लाग्थ्यो
नदीको शीतल हावामा रमाउँदै
युवायुवतीहरु दोहरी गाउँथे
नदीको कलकल सङ्ग्लो पानी पनि
सँगसँगै गाइरहन्थ्यो
नदीको वरिपरि
परपर
माथिल्लो गाउँ
तल्लो गाउँ
उमङ्ग र उल्लास छरिन्थ्यो
छङछङ आवाजको सुमधुर धूनले ।
तर
जुन दिनदेखि नदी सुक्यो
न त घाँसे न त खेताला
न त त्यो हाट
न त युवायुवतीको दोहोरी
कहाँ गयो कता गयो
त्यो रमझम त्यो खुसीयाली
एक्लोएक्लो अलपत्र
सुकेको नदी ।
धमिलिएको पावरवाला चश्मा
पुछेर आँखामा मिलाउदै
त्यो वृद्धले सबैतिर नियाल्ने चेष्टा गर्यो
पर परसम्म बगरै बगर
फाँडिएका सबै बनपाखा
पहिरो गएर भासिएर
बसाईँपछि छुटेका
गाउँघरका
टुटेफुटेका अवशेष ।
यसो टुसुक्क बसेर
त्यो बृद्धले उजाड नदीको सतह
यताउता हातले छाम्यो
स्नेहपूर्वक
आफ्ना बाल्यकाल र जवानी
खोजेझैँ ।
तर चुपचाप चुपचाप छ
सुक्खा सुक्खा
सुनसान
उराठलाग्दो
सुकेको नदी ।
(लस एन्जेलस)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।