किताबको मात्र गृहकार्य दिँदा कसैले गर्ने, कसैले नगर्ने भएपछि एक दिन पुकार सरले फरक किसिमको गृहकार्य दिने सोँच बनाउनु भयो र भन्नुभयो, “भोलि आउँदा तिमीहरूले जसले जे जे जानेको छ, त्यही कुरा २/२ पेज गृहकार्य लेखेर ल्याउनु ।”
“सर गीत लेखे हुन्छ ?” हरिले सोध्यो ।
“सर फिल्मको नाम हुन्छ ?” मिलनले भन्यो ।
“हुन्छ, हुन्छ तर सबैले लेख्नुपर्छ । जे लेखेपनि हुन्छ । कथा, कविता, गीत, फिल्मको नाम, कहानी, हिरो, हिरोनीको नाम, खेलकूद, चित्रकला, गाउँखाने कथा, तीजगीत जे लेखेपनि हुन्छ । ल सबैले लेख्छौँ ल्याउँछौँ भनेर हात उठाउ ।” भन्दै पुकार सरले प्रतिबद्धता गराउनु भयो ।
सबैले हात उठाउँदै एकै स्वरमा भने, “लेख्छौँ सर, ल्याउँछौँसर ।”
भोल कक्षामा सरको अगाडि सबैले गृहकार्यको कापी राखिदिए । कहिल्यै गृहकार्य नगर्ने, बहाना बनाउने, आलटाल गर्ने, भनेको नमान्ने, अल्छी गर्ने, कुरा मात्रै गर्ने, विद्यार्थीहरूले समेत पूरा गृहकार्य गरेर ल्याएको देखेर पुकार सर अचम्म पर्नुभयो र गृहकार्य हेर्नुभयो ।
अनुजले क्रिकेटको इतिहास लेख्यो । अनिलले विश्वकप फुटबलका हस्तिहरू पेले, म्याराडोना, रोनाल्डो र मेस्सीको बारेमा लेख्यो । हरिले चारवटा गीत लेखेर ल्यायो । मिलनले दुई सयवटा फिल्मको नाम लेख्यो । विरुले नेपाली फिल्मका हिरोहरूका नाम लेख्यो । गणेशले दुईवटा सुन्दर चित्र बनायो । हर्केले दुई पेज गाउँखाने कथा लेखेर ल्यायो । शर्मिलाले सय जना हिरोइनहरूको नाम लेखेर ल्याइन् । दीपाले टेलिभिजनमा आउने हिन्दी सिरियलको नेपालीमा कहानी नै लेखेर ल्याइन् । पार्वतिले देखे जानेको सम्झेको जति भगवान र मन्दिरहरूको नाम लेखेर ल्याइन् । मायाले कक्षाका सबै साथीहरू र स्कुलका सबै शिक्षक शिक्षिकाहरूको नामको सूची तयार पारेर ल्याइन् । सबै विद्यार्थीले केही न केही लेखेर ल्याए ।
“विद्यार्थीहरूको रुची, चाहना, इच्छा, आवश्यकता, स्वभाव र उमेर अनुसारको गृहकार्य गर्न दिए त सबैले गर्दा रहेछन् नि । अब मैले बेला बेलामा यस्तै गृहकार्य दिनेछु ।” मनमनमा यसो भन्दै पुकार सर मुस्कुराउनुभयो र सबै विद्यार्थीलाई उठाई गृहकार्य गरेकोमा सबैले सबैलाई ताली बजाउन लगाएर भन्नुभयो, “धन्यवाद, सधैँ यस्तै गरी गृहकार्य सबैले गर्नुपर्छ । तिमीहरू सबैलाई म भोलि चकलेट दिनेछु ।”
(पाल्पा)