विषयप्रवेश
हरिप्रसाद भण्डारी नेपाली साहित्यका एक सशक्त व्यक्तित्व हुन् । उनको जन्म गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नं ५ (साविको वस्तु गा वि स वडा नं ४) वस्तुमा वि सं २०१६ जेठ ५ गते आमा विनिता भण्डारी र बुबा परमानन्द भण्डारीका प्रथम पुत्रका रुपमा भएको हो ।
नेपाली साहित्यमा र जनप्रशासनमा स्नातकोत्तर गरेका भण्डारी नेपाल सरकारको निजामती सेवाबाट प्रमुख जिल्ला अधिकारी पदबाट निवृत्त व्यक्ति हुन् । कवि, कथाकार, बालकथाकार, बालउपन्यासकार तथा नियात्रामा कलम चलाएका भण्डारीको मुख्य रुचि लघुकथा र बालसाहित्यमा रहेको देखिन्छ ।
प्रथम पटक २०४६ सालमा उत्साह साहित्यिक मासिक (वर्ष १२ पूर्णाङ्क ५०) पत्रिकामा कुकुर तिहार नामक लघुकथा प्रकाशित गरी उनको लघुकथा यात्रा आरम्भ भएको हो । हालसम्म उनका चिराग (२०४७), अबिरल यात्रा (२०६३) र काला सर्पको खोजी (२०६७) तीन लघुकथा सङ्ग्रह प्रकाशित भएका छन् ।
उनका अन्य लघुकथा भने विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् र हुने क्रम पनि जारी छ । उनका अस्वीकृत कथाहरु (कथासङ्ग्रह २०५८), चरिका रमाइला कथा (बालकथा सङ्ग्रह २०६७), कुनमिनको सेरोफेरो (नियात्रा २०६९), मनको आँखा (बालकथा सङ्ग्रह २०६९), गोनु झा र चोरहरु (बाल चित्रकथा २०७०) सुनको स्याल (बालउपन्यास २०६७), पनि प्रकाशित भएका छन् ।
भण्डारी सरकारी जागिरेका रुपमा नेपालका धेरै स्थानमा पुगेका छन् । उनले समाजका यथार्थ घटना र भोगाइलाई नजिकबाट नियालेकाले त्यसको प्रभाव लघुकथामा देखिन्छ । सामाजिक, आर्थिक, राजनीतिक, ऐतिहासिक, शैक्षिक तथा समसामयिक विषयलाई बडो मिहिन ढङ्गले कथाको कथ्य विषय बनाई चरित्रका सहायताले उदाङ्गो बनाउन सक्नु उनको लघुकथागत विशेषता हो । उनका प्राय लघुकथा चोटिला, ओझिला, भावमा सघनता, विचारले सम्प्रेषणीय र सशक्त रहेका छन् ।
उनको काला सर्पको खोजी पनि एक सशक्त लघुकथा हो । यो कथा काला सर्पको खोजी लघुकथा सङ्ग्रह (२०६७)मा सङ्ग्रहित छ । यस कथालाई यहाँ विविध पक्षबाट विश्लेषण गरिएको छ ।
सन्दर्भ
काला सर्पको खोजी २०६३ सालमा विद्युत कर्मी साहित्य समाजले आयोजना गरेको राष्ट्रव्यापी प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल लघुकथा हो । यो कथा काला सर्पको खोजी लघुकथा सङ्ग्रह (२०६७) मा सङ्ग्रहित छ । यस लघुकथाले नेपाली समाजमा नारीले भोगी पुरुषबाट अमानवीय ढङ्गले कसरी यौन शोषण गर्छन् र त्यसको पीडा व्यथा कसरी खेप्न बाध्य हुन्छन् भन्ने कुरालाई सशक्त ढङ्गले उठाइएको छ । पुरुष यौन पिपाशुबाट बँच्नका लागि सुरक्षित स्थान कहीँ नपाएकाले आफूले त्यसलाई नौलो नठानी तिनैलाई लठ्याएर जीवन निर्वाह गर्नुपर्ने बाध्यात्मक परिस्थितिमा भौँतारिएको यथार्थ घटना देखाउने सन्दर्भमा यो लघुकथा सात अनुच्छेद दुईसय पाँच शब्द र सत्ताइस वाक्यमा संरचित देखिन्छ ।
कथानक
काला सर्पको खोजी’ लघुकथाको विषयवस्तु विशुद्ध रुपमा सामाजिक छ । समाजमा घटित घटनालाई बडो मिहिन र गहन ढङ्गबाट प्रस्तुत गरिएको छ । विषयवस्तु चयनका हिसाबले हेर्दा यो कथा समाजको प्रत्यक्ष प्रस्तुति हो । कथाकारद्वारा सामाजिक विषयवस्तुलाई यथार्थपरक तरिकाले प्रस्तुत गरिएको छ ।
सानी छँदा एकान्त पारेर एउटा सर्पले उनलाई झम्टियो बाट कथाको आरम्भ भएको छ । प्रारम्भमा नै उनी नारी जातिका रुपमा उभ्याइएको छ भने सर्प पुरुष जातिको प्रतिनिधित्व गराइएको छ । विषालु सर्पबाट जोगिन प्रयत्न गर्दागर्दै पनि त्यो सर्पले उनी पात्रमा विष खन्याएर भागेको छ अर्थात् जवर्जस्ती यौन शोषण गरेको छ । रक्ताम्य अवस्थामा घर पुगेकी ती उनी बालिकाको दयनीय अवस्था देखेर घरपरिवार भावविभोर भएका छन् । छिमेकीबाट सर्परुपी यौन पिपाशु पुरुषको विरुद्ध आक्रोस देखिए पनि सर्प मार्न भने सकेका छैनन् । त्यो यौन डसाइबाट पीडित बनेकी नारी महिनौँ बिरामी परेकी छन् । यो पीडा सहन नसकेर उनलाई गाउँमा बस्न मन नलागेकाले र समाजको नजरबाट टाढा हुनका लागि सहरतर्फ लागेकी छन् । सहरमा जुठोभाँडो गर्दै प्राण धानेकी उनी नारी पात्र अर्को सर्प अर्थात् पुरुषबाट यौन शोषणमा परेकी छन् ।
उनको जीवनमा पीडामाथि पीडा थपिएपछि सर्पको अत्याचारबाट बँच्न मन्दिर, पाठशाला, कार्यालय, संघसंस्था पुग्छिन् । उनी जहाँ पनि सर्पसँग डसिने अवस्थामा रहन्छिन् । सर्पको डसाइले आक्रान्त बनेकी नारी पछि डसाइ खप्दा खप्दा सर्पभन्दा पनि विषालु बनिन् । सर्पको अमृत बनेकी उनलाई अमृत ठानेर यौन क्रीडामा पुरुष लठ्ठिन्छन् । यो दृश्यले आनन्दित बनेकी नारीले पुरुषलाई घृणाले थुक्छिन् । ती नारीको अवस्था सर्प डसाइविना बाँच्न नसक्ने भएकाले त्यस्ता काला सर्पको खोजीमा भौँतारिएको अवस्थामा कथाको कथानक समाप्त भएको छ ।
लघुकथामा एकान्त ठाउँमा उनी पात्रलाई झम्टेर डस्नु अर्थात् यौन शोषण गर्नु, लुगा च्यातिनु, रक्ताम्य हुनु, छिमेकीले सर्पको विरोध गरे पनि मार्न नसक्नु र महिनौँ थलिनु कथाको प्रारम्भावस्था हो । गाउँमा बस्न मन नलाग्नु, आफन्तको साथमा सहर पस्नु, जुठोभाँडोमा लाग्नु, त्यहाँ पनि सर्पबाट डसिनु सङ्घर्षविकासको अवस्था हो ।
सुरक्षित ठाउँका लागि मन्दिर, पाठशाला, कार्यालय, सामाजिक संघसंस्थामा पुग्नु तर त्यहाँ पनि डसाइका प्रयत्न हुनु, सर्पको डसाइ खप्दा सर्पभन्दा पनि बढी विषालु हुनु चरमोत्कर्षको अवस्था हो । सर्पहरु लठ्ठिएर ढल्दा आनन्द मान्नु, घृणाले थुक्नु, सर्पले डस्छ कि भन्ने पिर नहुनु चरमोत्कर्षको ह्रास अवस्था हो भने सर्पको डसाइविना रहन नसक्नु र त्यसैको खोजीमा भौँतारिनु उपसंहार अवस्था हो ।
कथामा कथाकारले सानैमा बालिका बलात्कृत हुनु परेको घटना बडो सान्दर्भिक तवरले उठान गरेका छन् । यौन शोषणबाट बँच्नका लागि सहर पसे पनि त्यहाँ पनि यौन शोषणको शिकार बन्नु परेको कारुणिक अवस्था प्रस्तुत छ । यौन शोषणबाट बँच्न सुरक्षित ठानिएका मन्दिर, पाठशाला, कार्यालय र सामाजिक संघसंस्थामा पुगे पनि त्यहाँ पनि सुरक्षित हुन नसकेको समाजको बास्तविक चित्रण गरिएको छ । यौन शोषणको पीडामा परेकी नारीको अवस्था बदलिएर जीवन निर्वाह गर्नका लागि ती क्रुर यौन पिपाशु पुरुषलाई खोज्नु परेको बाध्यात्मक घटना बडो मिहिन ढङ्गबाट प्रस्तुत गरिएको छ । घटनालाई उनी पात्रका माध्यमबाट आदिदेखि अन्त्यसम्म प्रस्तुत गरिएको छ । कथाको घटनाक्रम उनी पात्रकै सेरोफेरोमा रहेको छ । कथाकारले कथाको विषय पनि उनी पात्रका माध्यमबाट प्रस्तुत गरेकाले यो कथा तृतीय पुरुषीय दृष्टिविन्दुमा संरचित छ । कथाले पाठकमा कुतुहलता सिर्जना गरेको छ । प्रतीकात्मक र बिम्बात्मक पात्रका सहायताले कथा झन् गर्भिलो बन्न पुगेको छ ।
पात्र
हरिप्रसाद भण्डारीको काला सर्पको खोजी लघुकथामा उनी (नारी), सर्प (पुरुष), घरका जहान, छिमेकी, आफन्त, अर्को सर्प (अर्को पुरुष पात्र) र अन्य सर्प पात्रका रुपमा आएका छन् । उनी अर्थात् नारी यस कथाकी प्रमुख पात्र हुन् । उनी गाउँले नारी पात्रका रुपमा आएकी छन् । नारी पात्रकै केन्द्रीयतामा कथाको कथ्य विषयले गति लिएको छ । त्यसैले उनी पात्र नै कथाकी प्रमुख चरित्र हुन् । गाउँमा जन्मिएकी उनी पात्र पुरुषबाट सानैमा डसिएकी छन् । त्यस्को पीडा सहन नसकी सहर पसेकी उनी त्यहाँ पनि पुरुषबाट शोषित भएकी छन् । यौन शोषणबाट बँच्न र त्यसका विरुद्ध लाग्न मन्दिर, पाठशाला, कार्यालय र सामाजिक संघसंस्था पुग्दा पनि शोषणबाट अछुतो रहन नसक्ने पात्र हुन् । उनी पात्रमा उच्च चेतना, गरिबी र संरक्षणको अभाव छ । कथामा पहिलो सर्प र दोस्रो सर्प जसले उनी पात्रलाई यौन शोषण गरेकाले सहायक पात्रका रुपमा उपस्थित भएका छन् । बालिका अवस्थामै यौन शोषण गर्ने गाउँले सर्प बडो विषालु छ भने सहर पसेपछि भाँडा माझ्ने घरबाटै यौन शोषण गर्ने अर्को पुरुष पात्रका रुपमा आएको छ । पुरुष सत्ताबाट नारी सत्ताले खेप्नु परेको पीडा, यौन शोषकलाई कार्वाही हुन नसक्नु, सुरक्षित ठानिएका ठाउँमा पनि सर्पको विगविगी देखिनुले सर्प सहायक पात्रका रुपमा अएका छन् । यी सर्परुपी पुरुष पात्र गाउँ सहर जताततै यौन शोषणमा लठ्ठिएको कारण यी अत्याचारी स्वभावमा देखिएका छन् । अन्य घरपरिवारका सदस्य छिमेकी गौँण पात्रका रुपमा कथामा उपस्थित भएका छन् । यसरी यस कथामा उनी मानवीय पात्रका रुपमा देखिएकी छन् भने सर्प मानवेत्तर पात्रका सहायताले पुरुष पात्रको प्रतिनिधित्व गरिएको छ ।
लघुकथामा मूलत दुई तीन जना पात्रको समन्वयमा कथा संरचित हुने हुँदा यस कथामा पनि मूलत उनी नारी पात्र र सर्पहरु पुरुष पात्रका रुपमा सशक्त भएर अएका छन् । कथानकलाई सही ढङ्गले अवतरण गरेकाले लघुकथाको चरित्र सार्थक देखिन्छ ।
परिवेश
प्रस्तुत काला सर्पको खोजी लघुकथामा गाउँ र सहरको परिवेश छ । उनी नारी पात्र गाउँमा पुरुषबाट यौन आक्रमणमा परेकी छन् । गाउँमा बस्न मन नलागेको र समाजको हेराइबाट बँच्नका लागि सहर पसेको प्रसङ्गले लघुकथाको आरम्भ ग्रामीण परिवेशबाट भएको छ । सहरमा पसेर जुठोभाँडो गरेको र यौन शोषणमा परेको परिवेश सशक्त बनेर आएको छ । मन्दिर, पाठशाला, कार्यालय र सामाजिक संघसंस्था जस्ता ठाउँ पनि परिवेशकै रुपमा आएका छन् । काला सर्पलाई डसाउन भौँतारिएको परिवेशले पनि सहरीया परिवेशलाई इङ्कित गरेको छ । कथाले सामाजिक परिवेशलाई मूल रुपमा प्रतिस्थापित गरेको देखिन्छ ।
यसरी हेर्दा लघुकथाको परिवेश गाउँ र सहरमा घुमेको छ । सामाजिक परिवेशमा हुने यौन हिँसा सशक्त रुपमा आएको छ । समाजमा नारी बालिकामै यौन हिंसाबाट ग्रस्त हुनु परेको छ । गाउँमा बस्ने वातावरण नमिलेपछि बँच्नका लागि सहरको रोजाइ गर्दा त्यहाँ पनि यौन आक्रमणबाट बँच्न नसकेको स्थिति छ । सुरक्षित ठाउँ र संघसंस्थामा पनि यौन गिद्धे दृष्टिले बँच्न नसकी प्रताडना खेप्नु परेको नारीको कारुणिक अवस्था पनि सामाजिक परिवेशका रुपमा आएका छन् । बाध्य भएर जीवन निर्वाहका लागि ती डरलाग्दा काला सर्प खोजेर हिँड्नु पर्ने बाध्यात्मक परिवेशसमेत कथामा देखाइएको छ ।
भाषाशैली
काला सर्पको खोजी लघुकथा आदि मध्य र अन्त्यको संरचनामा संरचित छ । रैखिक ढाँचामा लेखिएको लघुकथाको भाषाशैली सरल, सहज र स्वभाविक छ । काला सर्प प्रतीकात्मक पात्रको प्रयोग सान्दर्भिक रहेको छ । ग्रामीण तथा सहरीया परिवेशमा चल्ने चलनचल्तीका शब्दको प्रयोगले कथालाई कुतुहलपूर्ण बनाएको छ । कथाकारले घटनालाई सोझै प्रस्तुत नगरी प्रतीकात्मक तथा बिम्बात्मक तरिकाले प्रस्तुत गर्नु कथाकारको भाषिक सक्षमता हो । लघुकथामा प्रयोग गरिने कुशाग्र क्षमतालाई शब्द तथा वाक्यका सहायताले सिङ्गो कथालाई नै गहन बनाएको छ । तत्सम, तद्भव, आगन्तुक शब्द र उचित चिन्हको प्रयोगले कथालाई चोटिलो र मार्मिक बनाएको छ । सर्पका विरुद्धमा आक्रोष उब्जियो तर तत्काल त्यो सर्पलाई मार्न सकिएन । यस वाक्यले यौन पिपाशु पुरुषलाई सिधै नाम उल्लेख नगरी प्रतीकात्मक ढङ्गले सर्पको दर्जा दिई कथालाई थप आकर्षक बनाइएको छ । यसमा ती यौन पिपाशु काला सर्पको भण्डाफोर भने गरिएको छैन । छोटो, सरल, सहज र स्वभाविक संवादशैली अपनाइएको यस लघुकथाको भाषाशैली लघुकथाले माग गरेबमोजिमकै देखिन्छ ।
उद्देश्य
काला सर्पको खोजी लघुकथाको उद्देश्य समाजमा नारीलाई अझ बालिकालाई बलात्कार गर्ने, यातना दिने, हिंसा गर्ने र आफ्नो शक्ति र आडभरोसाका साथ पुरुष सत्ताले समाजमा उन्मुक्ति पाउँछन् भन्ने कुरा रहेको छ । नारी यौन आक्रमणबाट बँच्न नसकी पीडा वेदना र बाध्यताले जिउनका लागि तिनै काला सर्प अर्थात् यौन पिपाशुको प्रताडना खप्न परेको कारुणिक विषय देखाउनु यसको उद्देश्य रहेको छ । यौन पीडामा परेर शरीर क्षतविक्षत हुँदा पनि दोषीलाई कार्वाही नहुने, समाजमा लाजले बस्न नसक्ने हुनु, सहरमा पसेर सुरक्षित हुन खोज्दा पनि यौन प्रताडनामा पर्नु, बाध्य भएर यौन कार्यमा संलग्न हुनुपर्ने बाध्यात्मक अवस्थाको चरित्र उद्घाटन गर्नु पनि लघुकथाको उद्देश्य रहेको छ । समाजलाई सचेत बनाउँदै यस्ता क्रियाकलाप विरुद्ध लाग्नुपर्छ र नारी समानताका पक्षमा उभिएर यस्ता हिंसालाई अन्त्य गर्नुपर्छ भन्ने सन्देश पनि यस कथाले प्रदान गरेको छ । अझ गाउँको कस्तो सर्प हो सहरको सर्प कस्तो हो भन्ने कुरालाई इङ्कित गरिएको र हिंसा विरुद्धको आवाज उठाइएको भए कथाको शक्ति बलवान् बन्न जाने देखिन्छ ।
यसरी उद्देश्य प्राप्तिका हिसाबले हेर्दा बालिका र नारीले भोग्नु परेको यौन हिंसाको यथार्थता, पुरुषले नारीप्रति गर्ने व्यवहार, सामाजिक दृष्टिकोण र नारीप्रति हुने यौन हिंसा विरुद्धको आवाज उठाइएकाले यो लघुकथा सफल र सार्थक देखिन्छ ।
शीर्षक
काला सर्पको खोजी लघुकथाको शीर्षक प्रतीकात्मक छ । काला सर्पको खोजी भन्नुले यौन पिपाशु पुरुषको खोजी भन्ने कुरालाई पुष्टि गर्दछ । ‘काला’ विशेषण ‘सर्प’ नाम ‘को’ विभक्ति र ‘खोजी’ नाम पदको संयोजनबाट शीर्षको निर्माण भएको छ । तीन शब्दमा संरचित शीर्षकको अर्थ गहन छ । शीर्षकले कथाको सिङ्गो कथानक र घटनालाई समेटेको छ । चरित्रले विषयवस्तुलाई उदाङ्गो बनाई त्यसको सार्थकता पुष्टिसमेत गरेकाले उद्देश्यलाई सार्थक बनाएको छ । वाक्यात्मक संरचनामा शीर्षक संरचित भए पनि यसको गहनता, उच्चारण र अर्थका हिसाबले हेर्दा शीर्षक उपयुक्त छ । समाजमा हुने काला सर्प अर्थात् यौन पिपाशुको सङ्केत गरिएको छ । नारी पात्रको प्रत्यक्ष नामाकरण नगरी उनी भनी काला सर्परुपी पुरुषको प्रताडनाले सताइएकी पात्रको दयनीय अवस्थालाईसमेत शीर्षकले समेटेको छ । यसरी हेर्दा कथाको शीर्षक घटना चरित्र र सामाजिक चरित्रलाई आत्मसाथ गर्ने लघुकथाको मर्मअनुरुप काला सर्पको खोजी सार्थक र सफल रहेको देखिन्छ ।
निष्कर्ष
लघुकथाकार हरिप्रसाद भण्डारीले काला सर्पको खोजी लघुकथाबाट समाजमा नारी पुरुषबाट बलात्कृत हुनुपर्ने बाध्यात्मक परिस्थितिलाई कारुणिक ढङ्गले उतारेका छन् । यौन पिपाशुबाट समाजमा बँच्न नसकेको र त्यस्ता व्यक्तिले समाजबाट उन्मुक्ति पाउने गरेको विषय पनि सशक्त रुपमा समेटिएको छ । नारीले सुरक्षित स्थान खोज्दा नपाएको बरु सुरक्षित ठानिएका ठाउँबाट पनि यौन शोषण भएको विषयलाई उजागर गरेका छन् । यौन घटनाले जीवन निर्वाह गर्न बाध्य भएर यौन पिपाशुकै खोजीमा लाग्नु परेको स्थितिलाई यथार्थ ढङ्गले उतारिएको छ । पुरुष सत्ताबाट नारी सत्ताले बेहोर्नु पर्ने शोषण यातना र यौन प्रताडनालाई देखाउँदै त्यसको अन्त्य हुनुपर्छ र सभ्य समाजको निर्माण हुनुपर्छ भन्ने सन्देश प्रदान गरेको छ । कथामा कडा रुपमा सामाजिक विद्रोहको भण्डाफोर गरिएको छैन । यसरी उपकरणका अधारमा अध्ययन गर्दा अनि कथानक चरित्र परिवेश भाषाशैली उद्देश्य र शीर्षकका हिसाबले हेर्दा काला सर्पको खोजी लघुकथा सार्थक र सफल रहेको देखिन्छ ।
(गुल्मी)