दुई जना असाध्यै मिलनसार साथीहरु थिए अक्रम र विक्रम । विक्रम मेहनती थियो, पढाइमा खुब ध्यान दिएर पढ्थ्यो । कक्षामा उत्कृष्ट थियो तर अक्रम फन्टुस थियो । सानैदेखि फटाहा र छुचो थियो । विद्यालयमा पनि अक्रमलाई कोही मन पराउदैनथे । SLC गरिसकेपछि दुबै साथीहरूको बाटो छुट्टाछुट्टै बन्यो । विक्रमले पढाइ टप गर्दै गयो । ISC , BSC , MSC सकेपछि पिएचडी पनि गर्यो । कम्प्युटर इन्जिनियरिङमा डबल डिग्री हासिल गर्यो । विक्रम यति मेहनती थियो कि उसलाई अक्रमसँग भेट हुन समेत फुर्सद भएन । अक्रमले के काम गर्छ थाहै भएन । दिनचर्या व्यस्त भयो । मुलुकभरि उसैको चर्चा थियो । विक्रम गरिब घर परिवारबाट भए पनि मुलुकको सम्पत्ति बनिसकेको थियो । उसले थुप्रै आविस्कार गरेको थियो ऊ वैज्ञानिक बनिसकेको थियो ।
एकदिन को कुरो हो विक्रम ले एक नया आविस्कार गर्यो । संचार माध्यमभरि उसैको चर्चा थियो, “विक्रम लाई राष्ट्रिय award बाट सम्मान गरिने ।” विक्रमसाह्रै खुसी थियो । उसलाई अक्रमको याद आयो । अक्रम कतै न कतै त सानोतिनो काम जरुर गर्दो होला । आज अक्रमले पनि मसँग नै मिलेर राम्ररी मेहनतसाथ पढेको भए उसले पनि मजस्तै पुरस्कार पाउथ्यो होला । तैपनि आज उसले मलाई भेटेको भए कति खुसी हुन्थ्यो होला ? पुरस्कार पाएको क्षण उसले मलाइ त्यही मंचबाट देख्नसके उसले आफ्ना छोराछोरीलाई त केही उत्प्रेरणा दिन्थ्यो होला सायद । कल्पना गर्दै विक्रम मंचतिर गयो ।
पुरस्कार वितरण समारोहमा विक्रम लाई बोलाइयो । एक जना भोटो लगाएका चिनेका जस्ता व्यक्ति विक्रमको नजिक आए । विक्रमको कानमा उनले खुसुक्क भने, ” ओइ विक्रमे मेरै हातबाट पुरस्कार लिनुथियो भने साले तैँले यति मरिहत्ते गरेर के गरिस ? फेरि तँलाई पुरस्कार दिने कि नदिने त्यो छनोट गर्ने त म नै हु साले ?”
विक्रमले चस्मा निकालेर फर्की हेर्यो । उही बचपनको साथी फन्टुस अक्रम पो रहेछ नेता बनेको । ट्वाल्ल बनेर विक्रम हलुको महसुस गर्दै परिवेशलाई धिक्कार गर्दै लुकेर फर्क्यो ।
(कञ्चनपुर)