पानीको थोपा रहेछ सम्झना
खसेर जान्छ कि कतै
हृदयको अन्जुलीबाट ।
सधै भन्ने गछ्र्याै तिमी मलाई
ओ ! निष्ठुर मान्छे
लाग्दैन अलिकति पनि लाग्दैन
तिमीलाई मेरो माया ।
थाहा छ के तिमीलाई तर
कति बेइमान छ यो छातीको देब्रे कुना
अनायासै आइदिन्छ
बोकेर तिम्रा यादहरू परेलीमा
बेइमान त म छु झन् धेरै
भन्नै सक्दिनँ
हरेक क्षण तिमीलाई नै सम्झिरहेको कुरा ।
छुट्याउनै सक्दिनँ म
कहाँबाट सुरु हुन्छ प्रेम ?
सक्दिनँ जसरी छुट्याउन
बन्नलाई कहाँबाट सुरु भएको थियो
माकुराको जालो
र, कहाँ पुगेर भएको थियो अन्त्य ?
तिमी आउँदा सम्झनामा
म आफैलाई भुलिदिन्छु
जीवनको सम्पूर्ण गणित भुलिदिन्छु
जोड्नु पर्ने अङ्कहरूलाई घटाइदिन्छु
घटाउनु पर्ने अङ्कहरूलाई जोडिदिन्छु
सायद प्रेम आफैमा एक गणित हो कि ?
जहिल्यै मिलेमिले जस्तो हुने
तर कहिल्यै नमिल्ने ।
थाहा छ के तिमीलाई ?
तिमीले थाहै नपाई खसेको
तिम्रो एक थोपा आँसु
सिङ्गो तिमी सम्झेर
सँगालेर राखेको छु मैले
मेरो दाहिने आँखाको एउटा कुनामा कतै ।
सधै रोक्ने गर्छु
म आफूलाई रुनबाट
यो सम्झेर कि
म रोएँ भने त तिमी खस्छ्यौ
सधै सधैका लागि मेरो आँखाबाट ।
अझै तिमी मलाई भन्दै छौ निष्ठुरी ?
पानीको थोपा रहेछ प्रेम आखिर
झरेर जान्छ कि कतै
जीवनका
बाङ्गाटिङ्गा हाँगाहरूबाट ।
(मोरङ)