प्रश्न त तिमीले सोधेका हौ सधै..!
खुसी भई हाँस्दा स-साना प्राप्तिहरूमा,
सोधेका हौ-
‘हैन छोरै पाइस् कि क्या हो ?’ भनी !
मानौँ, म छोरो भै जन्मेर
मेरा बा-आमाको जीवन फेरिएको थियो !
अलिकती सुकिलो लगाउँदा उत्साहहरूमा,
सोधेका हौ-
कुन लाहुरेले दियो र लगाइस् ?
मानौं, मैले पौरखले नयाँ लाउन नै सक्दिनँ कैलै
तिम्रा जडौरीले नै मेरो लाज ढाकिनु पर्छ सधै !!
केटाकेटीलाई स्कूल पठाउँदा
सोधेका हौ-
के गर्ने हुन र यिनले पढेर ?
बाजा कसले बजाउँछ फेरि ?
लुगा कसले सिलाउँछ फेरि ?
मानौं, पंक्षी जस्ता मेरा केटाकेटी
तिम्रा गोठका बँधुवा जनावर हुन !!
तिमीले नै सोधेका हौ
प्रश्नहरू पटक पटक…!
मन्दिरमा बचनले घोँचेर सोधेका हौ-
कसलाई सोधेर पसिस् ?!
पँधेरोमा धम्कीले धक्याएर सोधेका हौ-
कसलाई सोधेर छोइस् ?!
प्रेम गर्दा तरवार ताकेर सोधेका हौ-
कसलाई सोधेर बाँचिस् ?!
अधिकार माग्दा धर्म देखाएर सोधेका हौ-
कसलाई सोधेर मागिस् ?!
पर्व आउँदा तिम्रा बचेराका नयाँ लुगा सिलाएथेँ
लगन आउँदा तिम्रो आँगनमा हर्षका बाजा बजाएथेँ
तिम्रै मौजा जोत्न भनी जीवनभर गोरू बनेथेँ !
लहलह बाली झुल्दा तिम्रा खेत खलियानमा
हँसिया अर्जापेथेँ, कुटो उध्याएथेँ !
उपकारहरूलाई जातको बूटले कुल्ची
धेरैपटक सोधेका हौ तिमीले-
‘तँलाई तेरो स्तर थाहा छ ?’ भनी !
‘तँलाई तेरो औकात थाहा छ ?’ भनी !
‘तैंले बजा, म नाच्छु’ भन्यौ जैलै
‘सँगै नाचम’ कैलै भनेनौ !
‘तँ मरे मर्,म बाँच्छु’ भन्यौँ सधै
‘मिलेर बाँचम’ कैलै भनेनौ !
सानकाजी,
शरीर बाट प्वाँख हराउँदा
आत्तिदैन पन्छी खासै !
तर
पंख नै काटिन लागे
छटपटाउँछ असाध्यै !
आज अलिकति
प्रश्न सोध्न सक्ने के भएथेँ म,
तिमीले फेरि भन्न थालेका छौ-
उ..! मेरो धर्म मास्न आयो !
तिमीलाई त थाहा नै छ सानकाजी
जो कहिलै जोडिनै सकेको छैन
आफ्नो माटोसँग
आफ्ना मानिसहरूसँग
आफ्नो देशसँग
आफ्नो संविधानसँग
ऊसँग मासिन र मास्न बाँकि केही हुँदैन !
यत्ति बुझ,
मैले बनाएका
कोदालोहरूले,बन्चरोहरूले
हँसियाहरूले,चुलेसीहरूले
खुकुरी र तरवारहरूले
सहन सकेनछन
मेरो अस्तित्व माथिको बारम्बारको प्रश्न
र
निस्किएछन भने दमनको दापबाट बाहिर
उनीहरूले के के र को को मास्ने हुन, म जान्दिनँ !
के मैले भोलि
रित्ता मन्दिरहरूलाई प्रश्न सोध्नु ?
खाली पँधेराहरूलाई प्रश्न सोध्नु ?
हात खुट्टा काटिएका मनुहरूलाई प्रश्न सोध्नु ?
मलमूत्रमा सुतिरहेका मालिकहरूलाई प्रश्न सोध्नु ?
सानकाजी,
प्रश्न सोध्ने नै जिउँदो मानिसले
जिउँदो मानिसलाई हो,
जिउँदो बन र बन्न देऊ !
मलाई प्रश्न सोध्न देऊ !
तिम्रो धर्मको रक्षा बरु मै गरूँला !
यो जातको प्रश्न हैन,
अस्तित्वको प्रश्न हो
जुन तिमीले नै सोध्नुपर्ने हुनसक्छ कुनै दिन !!
(जापान)