शान्तमा अति शान्त
सुन्दरमा अति सुन्दर
प्रकृतिमा निछट्टो प्राकृतिक
चञ्चलतामा विछट्टै चञ्चल
भर्जिनमा अति भर्जिन
अचम्ममा साह्रै अचम्म
यी सबैको उचाइ एक पटक नाप्नुछ भने
चुचेमारा र काञ्जिरोवाको आडमा
छायाँनाथ र ऋणमोक्षको आशिर्वादमा
अजम्मरी बूढो नहुने जवानी पाएकी
स्वर्गकी अप्सरा !
हिमालकी रानी !
नेपालकी जननी !
रारा हेर्न आउनु ।
निश्चल र अति बेगवान
छलक्क छालहरूको सुसाई
डाँफे,मृग ,कस्तुरी र घोरलको उफ्राइ
असलाको घर
हिमचुलीको दन्ते लहर
डाँफेको रंग
फूलै फूलको सुगन्ध
यी सबैको उचाइ नाप्ने भए
रारामा आउनु ।
आहा रारा !
तिमी तरुनी जननी बैँशालु धरा
तिमी नै हौ सगरकी अप्सरा !
हे संसारमा प्रेमले तिर्खाएका प्यासी मान्ठहरू हो
प्यास मेट्ने भए रारामा आउनु
प्रेमिल अंगालोमा बाँधिरहनेछिन् राराले ।
मरुभूमीको तातो रापमा निधार सेकिएका ठेटाहरूहो
छहारी मार्न रारामा आउनु
शितलतामा लता फिँजाइरहनेछिन् राराले ।
जीवनको अन्तिम पल पर्खेका
आत्महत्या गर्ने बैरागीहरू हो
अन्तिम इच्छा प्रकट गर्न रारामा आउनु
नयाँ जीवनदान दिनेछिन् राराले ।
विश्व सबैको हो भन्दै नारा लगाएर
आफैले टेक्ने जमिन नपाएका अभागिहरू हो
फाटेका पैतला लिएर रारामा आउनु
कोमल फूलका थुंगा विच्छाइ दिएर
विश्राम दिनेछिन् राराले ।
यो जगतबाट भागेर फगत पत्थर बनेका र
मुटुमा काँडा उमारेर मनलाई चट्टान बनाएका
जिवात्मा छन् भने कोही रारामा आउनु
चट्टानी मन र पत्थरको आत्मालाई
मायाको रसातलमा डुबाइदिनेछिन् राराले ।
यो विश्वमा मातृस्नेह नपाएर रन्थनिदै
लतमा ,कुलतमा, लहैलहैमा लागेका छौ भने कोही
जननी दर्शन गर्न रारामा आउनु
यो सबै भुलाएर समार्गमा दौडाइदिनेछिन् राराले ।
जीवनमा धोका खाएका
प्रेमप्रमिका सबै गुमाएका
प्रेमील बिजोडी छौ भने कोही
हराएको माया खोज्न रारामा आउनु
आँखाभरि, मनभरि, तनभरि
मायालु नै मायालु नै स्पर्श गराउनेछिन् राराले ।
धनधान्य, छोराछारी र श्रीसम्पत्तिले सम्पन्न भई
जीवनको बिसाउनी खोजिरहेका बूढा बाआमाहरू हो
स्वर्ग खोज्ने भए रारामा आउनु
जीवनको अन्तिम प्रहरमा पनि
सन्तोषको श्वास फेराउनेछिन् राराले ।
निराशा निधारमा टाँसेर
दुःखको उकालो चढ्दै तिर्थयात्रामा हिँडेका छौ भने कोही
पाप मोक्षका लागि रारामा आउनु
राराको उचाइ नाप्न आउनु ।
(मुगु)