खरको छानो बुकुरो सानो टाल्यौ कि टालिनौ
सम्साँझ आमा पालामा बत्ती बाल्यौ कि बालिनौ
गै सक्यो दशैं आइपुग्यो तिहार दुनियाँ भन्दा हुन्
बिदेशी छोरा टाढा छन् छोरी अनि दिन गन्दा हुन् ।
आँगनी डिल गुर्धाैली थुङ्गा फुल्यो कि फुलेन ?
त्यो गैरी खेत अनदी धान झुल्यो कि झुलेन ?
मामाले घरमा तिहार मान्न डाके हुन् ऐले नि
पाउन्नयौ फेरि माइत जान तिहारमा कैले नि ।
कुटमिरा डाली कौवाले काका गरे नि रुँदिहौ
सान्नानी भुन्टी क्वै भेट्न आए झन् दुःखी हुँदिहौ
लामो छ रात नसुती तिमी कसरी काट्दै छ्यौ
लुकाई दुःख हाँसो र खुसी कसरी बाँड्दै छ्यौ ।
खसी र पाठा डोराउँछन् होला छिमेकी रमाई
तिमीले आँसु पुछेकी हौली निधारमा समाई
तिजमा दर पकायौ अरे नखाई फालियो
दशैंका टीका मुछेर राख्यौ जमरा पालियो ।
बिदेशमा यस्तै खबर आउँदा मन मेरो कुँडिन्छ
आमाको माया उम्लेर आउँछ मुटु नै चुँडिन्छ ।