निर्वाचनको समय नजिकै आइसक्दा समेत आफूले उम्मेदबारी पाउने नपाउने भन्ने कुराको निक्र्यौल नहुँदा नेता आनन्दरामले पार्टीमा बबाल मच्चाउन थाल्यो ।
आफूले टिकट पाए पार्टीभित्रका युवापुस्ताको सम्मान हुने, पार्टी अझै सुदृढ र लोकप्रिय हुनेजस्ता तर्कहरू अघि सारेर आफूलाई उम्मेदवार बनाउन नेतृत्वसमक्ष दवाव दिइरहेको थियो । उसको अनुरोधजन्य दवावले पटक्कै काम नगरेपछि आफ्नो पार्टीबाट निर्वाचन क्षेत्रमा खडा हुने आधिकारिक उम्मेदवारलाई हराइदिने भनेर उसले अलि धम्कीपूर्ण दवाव पनि दिन थालेको थियो ।
यतिले पनि सकारात्मक परिणाम आएन । अबऊषड्यन्त्रको तरवार बोकेर जिल्ला र केन्द्र धाइरहेको थियो । उसको मनमा बेचैनीको हुरी चल्न थालेको थियो । अनि ऊ अन्तिममा पार्टीलाई ठूलै रकम चन्दा दिने आशयको अन्तिम अस्त्र बोकेर पार्टी नेतृत्वकहाँ पुग्यो । उसको कुरा सुनिसकेपछि पार्टी अध्यक्ष मुसुक्क हाँसे र आनन्दरामको काँधमा धाप मार्दै साउतीको स्वरमा भने, ‘कति ढिलो कुरा बुझेको तपाईंले ? तर केही छैन । म मिलाउँला ।’
यताउता हेरेर फेरि भने, ‘कहिलेसम्म हुन्छ नि व्यवस्था ?’
अध्यक्षको आशय बुझेपछिऊनिकै नै उत्साहित भयो । उसले कृतज्ञ नेत्रले अध्यक्षलाई हेर्दै भन्यो, ‘व्यवस्था भैसकेको छ अध्यक्षज्यू ! अहिल्यै टक्र्याऊँ कि ! टिकट चाहीँ पक्का हुनुपर्छ नि !’
यति भनेरऊनिकैबेर हाँस्यो । आफ्नोे गाडीमा रहेको ब्रिफकेस लिएर आउनु भनेर उसले मोबाइलमा कसैलाई आदेशपूर्वक भनेपछिऊर अध्यक्ष बैठक कोठाबाट भित्री गुप्ती कोठामा पसे । केहीबेरमा हातमा ब्रिफकेस बोकेको, आँखामा कालो चश्मा र शीरमा छत्रे टोपी लगाएको अधबैँसे पुरुष बैठकमा आइपुग्यो । अध्यक्षको निजी सहायकले उसको हातबाट ब्रिफकेस लियो र आगन्तुकलाई बाहिरै फर्काइदियो । अब ब्रिफकेस पनि गुप्ती कोठामै आइपुग्यो ।
अध्यक्षसँगको गोप्य भेटघाटपछिऊबाहिरियो र सडकमा आयो । उसैलाई पर्खिरहेको जीपमा आसन जमायो र सिधै आफ्नोे निर्वाचन क्षेत्रतिर रमाना भयो । यतिखेर ऊ जीपको सिटमा बसेर संसदको कुर्सीमा बसेको सपना देख्नथालेको थियो । मनभरि उठेको सन्तुष्टिको लहरमा लहरिँदै ऊ जिल्ला आइपुग्यो ।
आनन्दरामले रोजेकै संसदीय निर्वाचन क्षेत्रबाट टिकट पाएपछि ऊभन्दा पुराना, लोकप्रिय र जुझारु नेताहरू आश्चर्यचकित भएका थिए । उनीहरू निराश पनि देखिए ! चोक चोकका चिया पसल, भट्टी चारैतिर उसैको चर्चा थियो ।
‘होइन, कसरी पायो हँ आनन्दरामले सांसदको टिकट ?’
ऊभन्दा पुराना, जनतामा भिजेका लोकप्रिय नेताले अवसर नै पाएनन् । पार्टीका अध्यक्ष र केन्द्रीय नेताहरूसँग नजिक मानिएकाले समेत उम्मेदबारी नपाएको अवस्थाले कार्यकर्ताहरू निराश थिए । ऊ परिचित नेता थिएन । ऊ जनतामा लोकप्रिय पनि थिएन । गाउँका मानिसहरूले उसलाई केही समयअघिसम्मको काठ तस्करका रूपमा बुझेका थिए । ऊ आफ्नै पार्टीका कार्यकर्तासँग पनि नजिक थिएन ।
चुनावको दिन नजिकिएपछि उसले दश बाह्रवटा जीप भाडामा लियो र बीस पच्चिस जना जति मुन्द्रे र जगल्टेहरू जम्मा पारेर चुनाव प्रचारप्रसार अभियानमा लागेको थियो । अव जीपमा बसेर मुन्द्रेहरूले उसको प्रचार गर्न थाले । एउटा झ्याप्ले चिच्च्यायो, ‘भोट कसलाई ?’
अन्य मुन्द्रेहरूको कोरस स्वर गुन्जियो, ‘आनन्दरामलाई !’
मुन्द्रेहरूका गाडी गाउँमा कुइरीमण्डल धुलो उडाउँदै यता र उता दौडिरहेका हुन्थे । ती गाडीमा बज्ने हिन्दी गीत र कर्कसध्वनी सुनेर गाउँलेहरूले कान थुन्न थालेका थिए ।
चुनाव प्रचार प्रसारमा खटिएका कार्यकर्ताहरूलाई आनन्दरामले जीप भित्रै कुखुराका साँप्रा टोक्ने र बियरको बिर्को खोल्ने सुबिधा उपलब्ध गराउँदै आएको थियो । यस्तो सुबिधाले गर्दा जिल्लाभरिका मुन्द्रे र झ्याप्लेहरू उसका खाँटी कार्यकर्ता बनिसकेका थिए । मात्तिएको स्वरमा उनीहरू जिन्दावाद र मुर्दावादका नारा लगाउँथे अनि घरिघरि आफ्नोे नेताको गुणगानमा समय खर्चन्थे ।
उसको चुनाव प्रचार अभियान देखेर अरु उम्मेदवारहरू एकातिर खुसी भैरहेका थिए भने अर्कातिर ससंकित पनि थिए । खुसी यस हिसावले कि उनीहरू जनताको मन जितेर घरघर भोट मागेर हिँडेका थिएनन् । सडकमा धुलो उडाएर जनतालाई आतंकित बनाउँदै बियरको मातमा मुन्द्रेहरूले जीपको छतबाट चिच्च्याएर भोट माग्दैमा भोट पाइन्न भन्नेमा बिपक्षीहरू ढुक्क थिए । आफ्नोे प्रचारप्रसारमा मुन्द्रेहरूको अभावले भने उनीहरूलाई खल्लो बनाएको थियो ।
बियर र कुखुराको साँप्रा छोडेर कुन मुन्द्रे जाओस् विपक्षीको चुनावी प्रचारमा ? आनन्दरामसँग पो तस्करी गरेर कमाएको अकूत धन थियो । त्यसैले जिल्लाभरिका मुन्द्रे र आवाराहरू उसका यार भए ।
चुनाव अझ नजिकियो । मुन्द्रेहरू अझै बढे । जीपहरू अझै थपिए । लाउडस्पिकरहरू पनि अझै थपिए । उसले मुन्द्रे कार्यकर्ताहरूको खान्की र पकेटखर्च पनि बढाई दियो । कार्यकर्ताको मनोबल बढेकाले उनीहरूले अझै जोडजोडले आनन्दरामको जयगान गर्न थाले ।
सको निर्वाचन क्षेत्र निकै गुन्जयमान भैरहेको थियो । जीपको छतमा राखिएका माइकहरूले एउटा कुरा सधै भन्ने गर्थे ।
‘आनन्दराम जिन्दावाद !! आनन्दरामलाई भोट दिनुस् !!’
माइकहरूले आनन्दरामलाई भोट दिनुस् त भन्थे तर भोट किन दिनु पर्ने हो त्यो चाहीँ भन्दैनथे । तर पनि जनताले आफूलाई भोट दिएर जिताउनेमा ऊ ढुक्क थियो ।
अब मतदानको दिन आउन तीन दिन मात्र बाँकी थियो । अब उसका जीपहरू दगुर्न छाडे । माइकहरू बन्द भए । निर्वाचन आचारसंहिताले रातो बत्ती बालिसकेको थियो ।
उसले मुन्द्रेहरूलाई सोध्यो, ‘के छ केटा हो चुनावी हालखवर ? जितिन्छ नि ?’
मुन्द्रेहरूले बस्तुस्थिति बताए, ‘मज्जाले जितिन्छ । हाम्रो प्रतिस्पर्धामा आउनसक्ने उम्मेदवार कोही छैन दाइ । बिपक्षी पार्टीका उम्मेदवार रघुबीर पनि हामीभन्दा धेरैपछि छन् ।’
उनीहरूले फेरि थपे, ‘अलिअलि पैसा पनि बाँड्नु पर्ला दाइ ।’
मुन्द्रेहरूका हात हातमा लाख लाखका थाकहरू थपिँदै गए । अब टोलटोलमा खसी, राँगा, बंगुर, कुखुरा काटिन थाले । चोलो, सारी बाँडिए । सर्ट, पाइन्ट बाँडिए । यी सबैमा आनन्दरामको नाम जोडिएकै थियो । ऊ दिउसोको सट्टा रातिराति प्रचारप्रसारमा हिँडिरहेको थियो ।
उसका कार्यकर्ताहरूले जनताहरूलाई आश्वासनको चेक र नगद बाँडेर प्रलोभनको खोरमा थुन्ने प्रयास गरिरहेका थिए ।
देशैभरि चुनाव भयो । उसको निर्वाचन क्षेत्रमा उत्साहपूर्वक मत खस्यो । झन्डै त्रियासी प्रतिशत । ऊ खुसीले यताउता दगुरिरहेको थियो । विजयको माला लाउन ऊ ब्यग्र भएर पर्खिरह्यो ।
मतगणना पनि शुरु भयो । आनन्दराम नतिजाको पर्खाईमा छटपटाइ रहेको थियो । मुन्द्रेहरूका हात हातमा रहेका माला र अविरतिर उसको ध्यान थियो । ऊ कतिखेर मुन्द्रेहरूले आफूलाई बधाई दिँदै अविर र माला लगाइदेलान् भनेर रोमान्चक पनि भैरहेको थियो । मुन्द्रेहरू भने अविर र माला आफ्नो काखमा राखेर कुखुराका फिला टोक्दै थिए ।
मतगणनाको नतिजा आयो ।
बियरको मातमा एउटा मुन्द्रे करायो, ‘यो जीत कसको ?’
मुन्द्रेहरूको लर्बरिएको कोरस स्वर गुन्जियो, ‘रघुबीरको !’
मत परिणाम आइसकेछ । उसले भन्दा पहिले त मुन्द्रेहरूले थाहा पाइसकेछन् । उनीहरू त अविर र माला बोकेर रघुबीरतर्फ दौडिए । आनन्दराम एकटकले हेरिरहेको थियो तर केही बुझ्न सकिरहेको थिएन ।
मुन्द्रेहरू रघुबीरलाई काँधमा बोकेर जयकारको ध्वनी निकालेर बिजय जुलुसमा सामेल भैसकेका थिए । तर अफसोच ! आनन्दरामको आँशु पुछिदिन र उसको दुःखमा साथ दिन उसको परिवारबाहेक एउटा मुन्द्रे पनि बाँकी थिएन ।
(सर्लाही)