सन्दर्भ उठान
योगमाया, रणहार र महारानी यी तीन उपन्यासहरु क्रमशः बिक्रम संवत २०७४, २०७५ र २०७६ मा नेपालकै सबैभन्दा प्रतिष्ठित मानिने मदन पुरस्कारबाट सम्मानित भए। लगातार तीन पटक उपन्यासहरुमात्रै मदन पुरस्कारबाट सम्मानित हुनु चर्चायोग्य विषय खास नभएपनि यी तीनवटै उपन्यासहरु ऐतिहासिक उपन्यासहरु पर्नु/ हुनुचाहिँ सामान्य अवस्य होइन । ऐतिहासिक आख्यान लेखन परम्परा, यसको आवश्यकता अनि नेपालमा भएको अभ्यासबारे खास चर्चा परिचर्चा सुनिदैन । अब यो विषयबारे छलफल गर्न ढिलो भइसकेको अनुभूति हुन लागेको छ।
ऐतिहासिक आख्यान लेखनको कसीमा राखेर महारानी उपन्यासको थोरै चिरफार गरिएतापनि यो आलेखको मूल उद्देश्य महारानी उपन्यासको समीक्षा/ समालोचना गर्नु होइन बरु ‘महारानी’को आलोकमा ऐतिहासिक आख्यानबारे थोरै छलफल गर्नुचाहिँ हो ।
किन लेखिन्छन् होला ऐतिहासिक आख्यान ?
ऐतिहासिक आख्यान परम्परा धेरै लामोजस्तो देखिदैन । सर वाल्टर स्कट अनि लियो तोल्स्तोयहरु यसका पायोनियरहरु मध्येकै हुन् । लियो तोल्स्तोयको “वार एन्ड पिस” नेपालमा सबैभन्दा धेरै पढिनेमध्येको एक ऐतिहासिक उपन्यास हो । नेपालमा पनि बसन्ती, सेतो बाघ लगायत उपन्यासहरु ऐतिहासिक उपन्यास अन्तर्गत पर्छन् । फाट्टफुट्ट लेखिने ऐतिहासिक उपन्यासहरु पछिल्लो चरणमा लगातार रुपमै लेखिन थालेका छन । डायमन शमशेरको ऐतिहासिक आख्यान लेखनमा रहिआएको लगभग एक्लो उपस्थिति अब तोडिएको छ।
जब सर्जकहरु आख्यान लेखनको लागि वर्तमानमा कुनै गतिलो विषयवस्तु भेट्दैनन् अनि उनीहरु इतिहासबाट ती बिषयहरु उधिन्न थाल्छन जुन विषयहरु वर्तमानका पाठकहरुलाई रोचक लाग्नसक्छ वा इतिहास पर्गेल्न उपयोगी हुनसक्छ । कहिलेकाहीँ वर्तमानका जल्दाबल्दा इस्स्युहरुमाथि सर्जकले आफ्नो धारणा स्पष्ट गर्न नसक्दा पनि इतिहासभित्र पसेर विषय खोज्ने गर्छन् । अझ कहिलेकाहीँ त सर्जकहरु यस्तो धर्मसङ्कटमा फस्छन् कि वर्तमानको जल्दोबल्दो इस्यूको मूल माग या दिशासँग सहमत हुन पनि उनिहरु सक्दैनन् । अनि त्यसको बिपक्षमा रहेर लेख्नको लागि आवश्यक जोखिम बहन गर्ने हिम्मत जुटाउन पनि सक्दैनन् । नलेख्न या गुमनाम हुन उनिहरुलाई सकस हुन्छ । यस्तो अवस्थामा ऐतिहासिक उपन्यासहरुले गर्वधारण गर्न पुग्छन् ।
कहिलेकाहीँ लेखकहरुलाई आफ्नो पहिचान गासिएको भूगोल, संस्कृति, समाज या आफ्नै पुर्खाहरुको योगदान ओझेल परेको अनुभूति हुँदा उनीहरुभित्रको “पहिचान या पुर्खा प्रेम” अचानक हलचल गर्न थाल्छ । प्रयाप्त प्रमाण जुटाउन नसक्दा यी विषयहरुको इतिहास लेख्न पनि कठिन हुन्छ । अर्कोतर्फ सबैसँग इतिहास लेखनको लागि आवश्यक सिप र ज्ञान हुनु संभव पनि छैन । अझ कतिपयको रुचि नै इतिहास लेखनमा नहुन सक्छ । अब ऐतिहासिक आख्यानले यी सब समस्याको समाधान दिन सक्छ ।
इतिहासमा उल्लेख्य योगदान भएको तर विविध कारणबश गुमनाम भएको या बनाइएको व्यक्तिहरुलाई दृश्यमा ल्याउन पनि ऐतिहासिक उपन्यास लेखिने गरेको छ । योगमाया उपन्यास यसकै एउटा उदाहरण हो।
इतिहासका गम्भीर अध्येताहरु (यहाँ औपचारिक शिक्षामा इतिहास अध्ययन गरिरहेकहरुलाई मात्र भनिएको होइन) अध्ययनको क्रममा यस्ता केही ‘मिथ’हरु भेट्छन या इतिहासमा रहस्यको गर्भमा लुकेका केही घटनाहरुसँग साक्षात्कार गर्न पुग्छन तिनीहरुको पुष्टि गर्ने प्रयाप्त ऐतिहासिक आधार भेटिदैन । तर यी विषयहरु इतिहासप्रतिको धारणा बदल्न या बलियो बनाउन (पुरानै धारणा) अत्यावश्यक लाग्छन् (लेखकहरुलाई) अनि ऐतिहासिक आख्यानहरु अङ्कुरित हुन पुग्छन् ।
इतिहासप्रतिको धारणा बदल्ने अभिप्रायले लेखिने ऐतिहासिक आख्यानहरुमा ‘आग्रह’को लेपन पुरानै धारणा मजबुत बनाउन लेखिने आख्यानमा भन्दा ज्यादा चहकिलो हुन्छ।
महारानी : रचना गर्वबारे एकछिन ।
चन्द्र प्रकाश बानियाँले पङ्तिकारलाई फोनवार्तामा बताएअनुसार महारानीको रचनागर्भ माथि उल्लिखित कारणहरुमध्ये तेस्रोमा निहित छ । ‘खस जातिहरु र कुलपूजा’, ‘ऐतिहासिक पर्वत राज्यको इतिहास’ जस्ता इतिहास नै मूल विषय भएका पुस्तकहरु सम्पादन तथा लेखन गरिसकेका ‘महारानी’का लेखकले आफ्नो पछिल्लो पुस्तकको रचनागर्भबारे बताएको सन्दर्भ विश्वसनीय नै लाग्छ । स्थानीय रुपमा प्रचलित महारानीको मिथलाई मिहिन अध्ययन गरी मिथ र इतिहासको सम्बन्ध खोजी गरिएको यो ऐतिहासिक उपन्यास तत्कालीन पर्वत राज्यको अनटोल्ड इतिहासलाई अनफोल्ड गर्न सक्षम भयो या भएन समीक्षा गर्नलायक पाटो यही नै होला सायद । तर मिथकहरु पनि इतिहास अध्ययनको बेवास्ता गर्न नमिल्ने पाटोमध्येका हुन् र मिथक पुर्ण काल्पनिक हुदैनन् भन्ने बलियो प्रमाणको रुपमा भने महारानी उपन्यास दर्ज भएको छ।
ऐतिहासिक उपन्यास लेखनमा महारानीको मुल्याङ्कन
ऐतिहासिक आख्यान लेखनमा केही अघोषित शर्तहरु लागु हुन्छन् । ती शर्तहरु ऐतिहासिक आख्यान लेखनको उद्देश्य प्राप्तिसँग सम्बन्धित रही निर्धारित हुन्छन् । ऐतिहासिक आख्यान लेखनमा यथार्थ घटनालाई मुल मियो बनाई काल्पनिक उडानले दाइँ गरिन्छ । इतिहासमा प्रमाणित भएका अनि गिनेचुनेका पात्रहरुको जिवन्तताका लागि काल्पनिक पात्रहरु आवस्यकताअनुसार लेखकले जन्माउन सक्छ । मुल घटनाहरुलाई तोडमोड नगरिकन (मिति र घटनाको प्रकृति दुबै) उक्त घटनालाई आकर्षक ढङ्गले व्यक्त गर्न सहायक घटनाहरु कल्पना गर्न पनि लेखक स्वतन्त्र हुन्छ । तर काल्पनिकताको लेपन त्यतिसम्म बाक्लो बनाउने छुट मात्र लेखकलाई हुन्छ जतिले इतिहासका घटनाक्रम, पात्र अनि मितिलाई धमिलो बनाउदैन अनि तत्कालिन राज्यव्यवस्था अनि जनजीवनको चित्र मधुरो बन्दैन।
लेखक राम लोहनीले उपन्यास विमोचनको अवसरमा बोल्दा र पछि अन्नपूर्ण पोस्टको शनिवारीय परिशिष्टाङ्क फुर्सदमा प्रकाशित “महारानी बन्न नसकेकी महारानी” शिर्षकमा समीक्षात्मक लेखमार्फत् औल्याउँनु भएका कतिपय तिथिमितिगत र पात्रगत त्रुटिहरु दोस्रो सस्करणमा मूलभुत रुपमा सच्याइएको जानकारी लेखकबाट पङ्तिकारले पाएको र पङ्तिकारले पुरानै संस्करण पढेकोले उक्त त्रुटिहरुबारे हाललाई मौन रहनुनै उपयुक्त हुने देखिन्छ।
उपन्यासले तल्कालीन समाजको सजीव चित्रण गर्यो कि गरेन भन्ने प्रश्न सायद उपन्यासकारको जान या अन्जानको इमानदारीतासँग जोडिन्छ । अझ महारानी उपन्यास त लेखककै भनाइमा समयको गर्तमा पुरिएका इतिहासको एकसरो उत्खननको इमान्दार प्रयत्न हो । यो भनाइलाई आधार मानेर भन्ने हो भने तत्कालीन समाज, संस्कृति, भाषा अनि घटनाहरुको इमानदारीपूर्ण चित्रण उपन्यासको अनिवार्य शर्त हुन जान्छ । तर यो सवालमा उपन्यासकार केही पक्षमा चुकेका देखिन्छन् ।
तत्कालीन पर्वत राज्यमा अपवादलाई छाडेर राजा घनश्याम र प्रजाहरुबिचको सम्बन्धलाई उपन्यासले न्याय गर्न सकेको देखिदैन । घनश्यामको जनतासँगको त्यति प्रगाढ सम्बन्ध कसरी सम्भव थियो होला त्यतिखेरको राज्यव्यवस्थामा भनेर सामान्य इतिहास चेत भएको पाठक पनि छक्क पर्छ । उपन्यास पढ्दै गर्दा राज्यमा आउने समस्याहरुको समाधान गर्नको लागि राजाले त्यतिसम्म प्रजातान्त्रिक प्रक्रिया अपनाउने गर्थे भनेर पत्याउन निकै गाह्रो छ।
रानीहरुको राजकाजमा ठ्याक्कै कति हिस्सा हुन्थ्यो भन्ने प्रश्नको यकिन जवाफ नभएपनि यो विषयमा उपन्यास केही सन्तुलित नै देखिन्छ । यद्यपि बुधेलाई मृत्युदण्ड दिने कि नदिने विषयमा भएको छलफलमा रानी गुलबदनले खेलेको सक्रिय र झण्डै निर्णायक भुमिका तत्कालीन राज्यव्यवस्थामा फिट नहुने खालको हो कि जस्तो अनुभुत हुन्छ । १७७० बिक्रम सम्बत आसपासको मानिएको उक्त समयमा रानीहरुको लैङ्गिक स्वतन्त्रताबारे उपन्यास अलिक उदार देखिएको भान हुन्छ।
उपन्यासभरि समस्याको गाँठो फुकाउन अनी इतिहासको घटनालाई प्रमाण र तथ्यसहित व्याख्या गर्न सुमन्त बानियाँ उपस्थित भइरहन्छन् । समस्या समाधानको लागि उनको कुटनीतिक क्षमता तथा गम्भीर इतिहासबोध हेर्दा/ देख्दा उनको उमेर कमसेकम बुढेसकालको हुनुपर्ने जस्तो लाग्छ । तर उपन्यासमा उनलाई नौजवानको रुपमा उभ्याइएको छ । अर्कोतिर तत्कालीन समाजमा औपचारिक अध्ययनको चलनै थिएन । सुचना पाउने माध्यमहरु अति सीमित थिए । अनि सुमन्त बानियाँ ‘इन्साइक्लोपेडिया’ बन्न कति सम्भव थियो होला भन्ने प्रश्न पनि उठ्छ । एकै व्यक्तिमा यति धेरै विषयको ज्ञान हुन्छ र भनेर पाठक अलमलिन्छ ।
उपन्यासमा प्रयुक्त संवादमा तत्कालीन समयको भाषा प्रयोग गर्न खोजिएको देखिन्छ । तर लेखक राम लोहनीका अनुसार उपन्यासमा प्रयुक्त भाषा तत्कालीन समयको जस्ताकोतस्तै हुने सम्भावना निकै कम छ।
बलियो पाटाहरु
थुप्रै मिथहरुलाई डिमिस्टीफाई गर्न उपन्यासले गरेको प्रयत्नलाई स्यालुट गर्न मन लाग्छ । किंवदन्तीहरुलाई विश्वास गर्न लायक तर्कसहित पुष्टि गरी इतिहासमा लगाइएको रहस्यको पर्दा च्यात्न पनि उपन्यास सीमासहित सफल देखिन्छ ।
पाल्पाबाट बागलुङ ल्याइएकी कालिका देवीको सन्दर्भमा उपन्यासले फरक व्याख्या दिएको छ । वैश्णव मतबाट प्रभावित भइ पर्वते राजाले ढोलठानामा जगन्नाथ मन्दिरको स्थापना गरेको भन्ने इतिहासकारको मतको खण्डन पनि विश्वसनीय लाग्छ । जनै नलगाउने मगरहरुले जनै लगाएर क्षेत्री ठकुरी भएको विषयलाई किंवदन्तीको लहरोबाट यथार्थको धरतलमा अवतरण गराउन उपन्यासकारले गरेको व्याख्या उल्लेख्य महत्वको छ । तर मगरहरुको हिन्दुकरण हुनैपर्ने बाध्यात्मक परिस्थितिबारे बोलेको उपन्यास जुम्लीखसहरुको हिन्दुकरण के कारण भएको थियो भन्नेबारे कुनै व्याख्या गर्दैन । हुन त एउटा उपन्यासले कति विषय उठान गर्न सक्छ भन्ने पनि सीमा हुन्छ नै ।
इतिहासको बैकल्पिक व्याख्यामा पनि उपन्यासले गरेको प्रयत्न गजबको लाग्छ। रुकुमबाट पर्वत ल्याइएका आनन्दबम पर्वतकै मगर वंशज भएको रहस्योद्घाटन गरेका छन लेखकले । पर्वतका राजाहरुले नागबमदेखी पाउदै आएको मल्लको उपाधी दिल्लीदरबारले दिएको भन्ने इतिहासमाथि अविश्वास दर्ज गर्दै यो उपाधी स्थानीय रुपमै प्रतियोगिता जितेकाले प्राप्त भएको कथा भरपर्दो लागेको छ लेखक राम लोहनीलाई पनि ।
महारानी विश्वप्रभाले आत्महत्या नगरेको लेखकको दावी भने भरपर्दो देखिदैन । पछिल्लो सयवर्ष आसपासदेखी बेनी क्षेत्रमा पुजिदै आएकी महारानी विश्वप्रभा नै हुन् भन्ने लेखकीय दावी विश्वसनीय लाग्छ।
के भन्छन लेखक ?
उपन्यासमा पाठकको हैसियतमा पङ्तिकारले खुट्याएका कमजोरीहरुबारे लेखकसँग फोनवार्तामा कुरा भएको थियो।” पहिला पहिला ज्ञान विज्ञानको विकास शिशु अवस्थामै हुँदा पनि साशकहरु त्यति उदार र प्रजातान्त्रिक थिए भने अहिले झन लोकतान्त्रिक बन्नुपर्छ भन्ने नैतिक दवाब अहिलेका साशकलाई दिन नियतवश घनश्यामलाई बढी उदार, जनप्रिय र प्रजातान्त्रिक देखाइएको हो” भन्छन लेखक ।
ऐतिहासिक उपन्यास लेखनमा कल्पनामा कुद्न बेहद असजिलो हुने अनुभव समेत सुनाउनु भएका लेखकले यस विषयमा कल्पनामा कुद्दा भने ऐतिहासिक उपन्यासको मापदण्डलाई बिर्सनु भएको हो कि भनेर सोच्न बाध्य भइन्छ । जब इतिहासको तत्कालीन देशकालको समाज व्यवस्थालाई आग्रह प्रेरित कल्पनाको जामा ओडाइन्छ अनि पाठकहरु ज्ञानमा ठगिन्छन् । पाठकहरु इतिहासको आख्यानात्मक पठनमा केवल कथामा मनोरञ्जन मात्र गर्दैनन् बरु इतिहासका घटना अनि तत्कालीन समाजका अन्तर्क्रियाहरुमा डुबुल्की मार्न पुग्छन् । मस्तिष्कमा आख्यान गहिरोसँग बस्ने भएकोले इतिहासप्रतिको धारणा नै यिनै आख्यानहरुको आधारमा निर्माण हुन जान्छ थुप्रै पाठकहरुको ।
इतिहासको पठनको मूल फाइदा भनौँ या उद्देश्य भनेकै इतिहासलाई नदोहोर्याउन प्रयत्न गर्नु हो । अनुसन्धानको पाटोबाट भन्दा अहिले हामी किन यहाँ छौँ र किन यही अवस्थामा छौँ भन्ने प्रश्नको जवाफ इतिहासबाट प्राप्त हुन्छ । यसको लागि तिहासको बस्तुनिष्ठ अध्ययन जरुरी हुन्छ । जब इतिहास पठनकै बलियो स्रोत मानिने ऐतिहासिक आख्यानमा आग्रह प्रेरित कल्पनाको तह यथार्थ छोप्नेगरी बाक्लो हुन्छ तब पाठक थाहा नै नपाई इतिहासप्रति अनावश्यक गर्व गर्न या हदभन्दा बढी घृणा गर्न थाल्छ ।
सुमन्त बानियाँ मार्फत् आफै बोलेको बताउने लेखकले आफू पनि बानियाँ भएकैले सुमन्तलाई आदर्शिकरण नगरेको पनि बताउनु भयो । सुमन्त बानियाँ मलेबम पछडिको राजाको पालामा समेत देखा परेकाले घनश्यामकै पालामा हुनलाई परिपक्व उमेरको देखाउन नमिलेको उहाँको स्पष्टिकरण थियो । यसमा ऐतिहासिक आख्यान लेखनको मापदण्डप्रति सचेत भएको देखिन्छ लेखक ।
ऐतिहासिक आख्यान अत्यावश्यक
लेख्नुपर्ने विषयहरु वर्तमान समयकै पनि धेरै छन् । हुन त विषयविहीन समय सायद कहिल्यै नहोला । अहिले अझ बढी भएको भान हुन्छ । वर्तमान मुद्दाहरु भुत र भविष्यको भन्दा बढी पेचिलो र मन्थन गर्न बढी आवस्यक हुन्छन् । यसर्थ किन लेखिन्छन ऐतिहासिक आख्यान उपशीर्षकमा उल्लेख भएमध्ये पहिलो कारण हुनेहरुले वर्तमानका विषयहरुमै लेख्ने प्रयत्न गर्नु जरुरी छ । दोस्रो, तेस्रो र चौथो कारण हुनेहरुले ऐतिहासिक आख्यान नै लेख्नुपर्छ । वर्तमानको दृश्य राम्ररी हेर्न बिगतको दृष्टि उत्तिकै आवस्यक हुन्छ । वर्तमानको दृश्य नदेखी भविष्य नियाल्न मुस्किल पर्छ । यसर्थ सुन्दर भविष्यको रुपरेखा कोर्नसमेत इतिहास बुझ्न आवस्यक छ । ऐतिहासिक आख्यान यस मानेमा अत्यावश्यक छ ।
ऐतिहासिक आख्यान यसर्थ पनि अझ बढी लेखिनुपर्छ कि यसले तिथिमिति र घटनाहरुको एकसरो बर्णननै इतिहास हो भन्ने हालको हाम्रो इतिहासको मुलधारे सैद्धान्तिक मान्यतामाथि धावा बोल्छ । तत्कालीन सामाजिक अन्तरसम्बन्धहरु, तत्कालीन आर्थिक क्रियाकलापहरु, तत्कालीन संस्कृति अनि तत्कालीन राज्यव्यवस्थाको बिस्तृत व्याख्याबिना ऐतिहासिक आख्यान बन्दैन भलै यी विषयहरुको कमजोर व्याख्या हुन सक्ने, गलत व्याख्या हुन सक्ने, अप्रयाप्त व्याख्या हुन सक्ने जोखिम त रहिरहन्छ नै ।
इतिहासको बैकल्पिक व्याख्या गर्ने सवालमा यदि राज्यलाई त्यसले खती पुर्याउन सक्छ भन्ने लाग्यो भने इतिहासको बैकल्पिक व्याख्याकार दमनमा पर्नसक्ने या उक्त व्याख्यानै राज्यले नियन्त्रण गर्नसक्ने खतरा रहन्छ यदि राज्य अनुदार चरित्रको छ भने । राज्य अपवादबाहेक अनुदार चरित्रकै हुन्छ । यस्तो अवस्थामा साहित्यको एक पाटोको रुपमा ऐतिहासिक आख्यान सञ्जीवनी बुटी बन्न सक्छ । चेतनाको ठूलो बागडोर संहाल्ने साहित्यलाई थुप्रैले माया गर्छन् र विश्वास पनि ।
“इतिहासका पुस्तकहरुमा मितिमात्र सत्य हुन्छ तर आख्यानहरुमा मितिबाहेक सबै सत्य हुन्छ” यो भनाई निकै चर्चित छ । यो एउटा भनाइ पनि ऐतिहासिक आख्यानको आवश्यकता दर्शाउन निकै सफल छ ।
तर ….
तर ऐतिहासिक उपन्यासले इतिहासका रहस्यहरु च्यात्न सक्नुपर्छ । इतिहासको बैकल्पिक व्याख्या दिन सक्नुपर्छ । मिति र घटनाहरुको चङ्गुलबाट निकालेर इतिहासलाई जनजीवनसँग जोड्न सक्नुपर्छ । यसको लागि उपन्यासमा मुल पात्र सामान्य जन हुँदा गज्जब हुन्छ । त्यस्तो सम्भव नभए पनि सामान्यजनका दुख पीडा उत्पीडन लेखिनै पर्छ भन्ने मेरो पाठकीय अपेक्षा छ ।
पृथ्वीनारायण शाहलाई मूल पात्र बनाएर आख्यान लेख्दाभन्दा बिषे नगर्चीलाई मूल पात्र बनाएर लेख्दा इतिहासको बैकल्पिक व्याख्या बढी जिवन्त ढङ्गले गर्न सकिएला । इतिहासलाई घटना र मितिको बृत्तबाट बाहिर निकाल्न पनि यसै गरे सजिलो हुँदो हो । यो केवल एउटा उदाहरण मात्र हो ।
ऐतिहासिक भुल
आजभन्दा अगाडिको समयमा लेखिएका सबै आख्यान ऐतिहासिक हुन् त्यसकारण तिनमा इतिहासका घटनाहरु छन् भन्ने बुझाइले ठूलो घात गरिरहेको छ । इतिहास नै भएतापनि ती आख्यानहरुमा ऐतिहासिक आख्यानका वर्तमान अपेक्षित न्यूनतम मापदण्डहरु पूरा गरिएका हुँदैनन । छैनन् । किनकि त्यतिखेर यस्तै मापदण्ड पक्कै थिएन । जब वर्तमानमा लिखित ऐतिहासिक आख्यानजस्तै गरी पहिल्यैका आख्यानहरुलाई हेरिन्छ तब गडबड सुरु हुन्छ ।
दरबारभित्रका झिनामसिना पट्यारलाग्दा घटनाहरुलाई अनावश्यक ग्लोरिफाई गर्दै राजाको खोपिमै सिसिटिभी जडान भएजस्तो गरि सारा बयानहरु समेटेर लेखिएको आख्यान(?)लाई पनि ऐतिहासिक आख्यान भनी नाम दिइएको पाइन्छ । यस्ता खालका आख्यानहरुको जरुरत हामिलाई परेकै होइन । जब राजामहाराका क्रूर अनुहारहरु आख्यानको बैशाखी टेकेर दयालु बन्दै ङिच्च हाँस्न थाल्छन् तब ऐतिहासिक आख्यान कुरुप प्रतीत हुन थाल्छ । इतिहासप्रतिको पुरानो स्थापित धारणा भत्काउन या हल्लाउन कुनै भूमिका नखेल्ने ऐतिहासिक आख्यानलाई पलाँसको फूल भनिदिन मन लाग्छ । कतिपयले तर्क गर्न सक्छन् कि आत्मसन्तुष्टिको लागि पनि लेख्न सक्छन् नि लेखकरुले । यस्ता लेखकहरुले लेखे त हुन्छ तर प्रकाशन किन गर्नु ? लेखेपछि आत्मसन्तुष्टि मिलिहाल्यो, प्रकाशनको लेठो नगर्दै राम्रो ।
वर्तमानमा लेखिए पनि ऐतिहासिक आख्यानले जब न्यूनतम धर्म पालन गरेको हुँदैन त्यसले भ्रमको खेतीलाई प्रोत्साहन गर्छ । मन्दविष बन्छ त्यो । यथार्थ ओझेल पर्नेगरी कल्पना हावी भएपछि भ्रमित हुन पाठक बाध्य हुन्छन् । कमसेकम “माडिमा अयोध्या खोज्न उक्साउने” ऐतिहासिक आख्यानहरु नलेखिउन् । एउटा पाठकको अपेक्षा ।
र अब ……
ऐतिहासिक उपन्यास लेखनलाई अझ तीब्रता दिन जरुरी छ तर बर्तमानमा अपेक्षित अघोषित शर्तहरुको इमान्दारितापूर्ण पालन गरेर । पछिल्लो चरण आशालाग्दो लहर देखिएको छ र यसको निरन्तरता आवस्यक छ । परिमाणात्मक रुपमै अपुग छ अहिले ऐतिहासिक आख्यान नेपालमा गुणात्मकताको त कुरै छाडौँ ।
महारानीले ऐतिहासिक आख्यानको अभावपूर्तिको लागि परिमाणात्मक भुमिका त निर्वाह गरेको छ नै तर मूल रुमपा गुणात्मक रुपमा त यसको भूमिका उच्च सराहनीय छ । लेखकले ठाउँठाउँमा सार्वजनिक गर्नु भएको र पङ्तिकारसँग फोनमा व्यक्त गर्नु भएको “पर्वत राज्यको बाँकी इतिहासबारे अर्को ऐतिहासिक उपन्यास लेख्ने” प्रतिबद्धता छिटोभन्दा छिटो पूरा गर्नको लागि पनि पाठकीय दवाव दिनु उपयुक्त नै होला । “म अल्छी छु अनि बूढो पनि भएँ” भन्ने कुरा केवल बहानाबाजी हो । यसलाई डिलिट गर्नुहोला । एउटा पाठकको सप्रेम अपेक्षा !