मैले थाहा पाएर मनाएको दशैँ कहिले थियो, त्यो त म भन्न सक्दिनँ तर पनि दशैँ मनाउँने गरेको धेरै क्षणहरू मेरा मनभित्र चल्ने चित्रजस्तै गरी आइरहन्छन् ।
बुवाको फोटो एल्बममा एउटा श्यामश्वेत तस्वीर छ । त्यसमा कानमा जमरा घुसारेर बुवाले म र भाइ आश्विनलाई आफ्नो अगाडिपट्टि दुबैजनाको कुममा हात राखेर बाँसको दुईतिरको लिंगो भएको ठाउँमा उभिनु भएको छ । पिङ्ग खेल्न वा खेलाउँन कुर्दै गरेको बेलाको तस्वीर हो त्यो । म ४ बर्ष जतिको थिएँ रे । त्यो तस्वीर देखेर मात्र ठम्याउँछु, चार बर्षको उमेरदेखिको दशैँको सम्झना रहेछ मलाई । अर्थात् त्यो दशैँ भनेको २०३४ सालतिरको हो ।
अर्को सम्झना दशैँताका भारतको आसाममा गएको बेलाको याद आउँछ । अझ सानो थिएँ कि जस्तो लाग्छ । मावलको हजुरबुवाले टीका लगाएर आशिष दिएको सम्झन्छु । आमा धेरै रुनु भएको थियो । हजुरबुवा विरामी हुनुहुँदो रहेछ अनि अब फेरि भेट्न पाइन्न कि भनेर रुनु भएको रहेछ । त्यहि आमा रोएको मेरो मानसपटलमा गहिरो छाप परेर होला त्यो दशैँको हल्का झझल्को आउँछ अझै पनि । साँच्चै आमाको हजुरबुवासँगको त्यो नै अन्तिम टीका रहेछ ।
हामी दशैँमा टीका लगाउँन गाउँ जाने गथ्र्यौं । बुवा दुर्गाप्रसाद दाहाल शिक्षक हुनुहुन्थ्यो । श्री सत्यनारायण मा.वि., बिराटनगरको विज्ञान बिषयको माध्यमिक विद्यालय शिक्षक । बिराटनगरबाट बीस किलोमिटर पूर्व रंगेली रोड हुँदै भलुवा पुग्थ्यौं । मुनालपथ, बिराटनगरको घरबाट रिक्सामा चढेर देवकोटा चोक हुँदै रंगेली बसपार्क जाँदा मन खुसीले गद्गद् हुन्थ्यो । देवकोटाप्रति मेरो ठूलो श्रद्धा थियो सानो उमेरदेखि नै । देवकोटाको जन्म पनि लक्ष्मी पूजाकै दिन भएको अनि मेरो जन्मदिन पनि लक्ष्मीपूजाकै दिन भएकोले सानै उमेरदेखि बुवाले मलाई देवकोटा चिनाउँनु भएको थियो ।
काग र डुलुवा कुत्ता सम्म
भात नहेर्ने यो छ अचम्म
देवकोटाको ‘तिहार’ नामक बालकविता आमाले मलाई कण्ठस्तै पार्न लगाउँनु भएको थियो । पढाउँने काम आमाले नै गर्नु हुन्थ्यो सानो छँदा । पछि हो बुवाले मेरो लेखन् पढन् गराउँन थाल्नु भएको । आमा रुक्मिणा कट्टेल (दाहाल) ले आसामबाट नेपाल आएर २०३४ सालको एस.एल.सी.पुरानो पाठ्यक्रम अन्तर्गत बोर्ड थर्ड ल्याउँनु भएको हो । पहिले पहिले त आमाको नेपाली बोलीमा आसामी लवज खुब आउँथ्यो रे ! २०२८ सालमा विवाह गरेर आएपछि दुईबर्षभित्र नै नेपाली राम्रो बोल्न लेख्न सिकेर बोर्ड थर्ड ल्याउँनु चानचुने कुरा त थिएन नि !
रंगेली जाने थोत्रा मिनी बसहरू हुन्थे । धेरै पटक त बाटोमा बिग्रिएर आधा÷एक घण्टा कुर्र्नुपर्ने हुन्थ्यो । एकदुई पटक त बस जान नसक्ने भएर बाटोमै उत्रिएर पैसा फिर्ता लिई अर्को भिड गाडिमा चेपिएर यात्रा गर्नुपर्ने पनि भएको सम्झना छ । असोज महिना भएपनि बिराटनगर सेरोफेरोमा दिउसो त टण्टलापुर घाम लागेको हुन्छ । असाध्यै गर्मी हुन्थ्यो । बाटो त लगभग सबै थाहा थियो । त्यहाँबाट कटहरी, ल्वाहान्द्रा खोला, दादरबैरिया, कर्सिया, भलुवा अनि मंगलबारे (दुगड फर्म) अझ पूर्वमा बैतौना पनि छ । पछि कान्छा काका कृष्णप्रसाद दाहाल हजुरबुवा र हजुरआमासँग त्यहाँ बस्न थाल्नु भएपछि हामी पहिले बेतौना झर्न थालेका थियौँ । तर यो त धेरैपछिको कुरा हो ।
बविया विर्ता गाउँ पन्चायतमा पथ्र्यो भलुवा, मंगलबारे । हामी दाजुभाइलाई त कतिबेला मंगलबारे (भलुवा) पुगेर फुपुका छोराहरूकुमार ढकाल, केशब ढकाल, जयदेव ढकाललाई भेट्न पाइन्छ भनेर मन सिरिङ्ग सिरिङ्ग हुन्थ्यो । उनीहरूपनि राजुबाबु आउँछन भनेर बाटो कुरेर बसेका हुँदा रहेछन् । मलाई घरमा राजु र भाइलाई बाबु भनेर बोलाउँने गरेका थिए सबैले । अहिले पनि कतिपयले यहि नामले बोलाउँनु हुन्छ । हाम्रो घरको हजुरबुवा, हजुरआमा, काका, बडा बुवा सबै आफन्तहरूत्यहिँ बस्नुहुन्थ्यो ।
रंगेली जाने रोडबाट दक्षिणतिर दुईवटा धुले माटोको बाटो दक्षिणतिर लाग्थ्यो । पहिलो चोकलाई भलुवा भनिन्थ्यो । तर हामी चैँ बसबाट अझ २०० मिटर पूर्व मंगलबारे जसलाई दुगड फर्म भनेर पनि चिनिन्थ्यो । त्यहाँ उत्रेर दक्षिणतिर जाने धुले माटोको बाटो हुँदै जान्थ्यौँ । बाटोको धुलो नयाँ जुत्ताले फुस्स फुस्स उडाउँदै हिँड्न पाउँदा कम्ता रमाईलो लाग्दैनथ्यो !
प्राय ः म बुवाको चोरी औंलो समातेर हिँड्थेँ । अनि भाइले आमाको । पछि २०४० सालमा बैनी कंचन दाहाल पनि थपिइन् । त्यसपछि त बैनीलाई आमाले बोक्ने अनि हामी दुई दाजुभाइ एकआपसमा हात समातेर धुलो उडाउँदै हजुरबुवा हजुरआमाको घर तिर दौडन्थ्यौँ । बसबाट गाउँ उत्रनासाथ पटुवाको बास्ना हरहर नाकमा पस्थ्यो । छेऊछाऊमा जमेका पैनीहरूमा कछाड बेरेर मधेसी मूलका बासीहरू मुख्यगरी मुसहरहरूले पटुवा निकाल्दै गरेको दृश्य त कटहरी कटेपछि बसकै झ्यालहरुबाट देखिन थाल्थ्यो । अचेल पनि पटुवाको त्यो वास्ना नाकले महशुस गरिरहेको छ । बाटामा हरेक घर अगाडि सण्ठीको ठूलाठूला विटाहरू बाँधेर ठड्याएको देखिन्थ्यो । पटुवा निकालिसकेर बाँकी रहेको डाँठलाई सुकाएरपछि सण्ठी बन्थ्यो । अँगेनुमा आगो बाल्न सण्ठी एकदम सजिलो उपाय थियो । तुरुन्त सल्किने । बिराटनगरका जुटमिलहरूबन्द भएपछि अहिले गाउँमा पटुवाको त्यो गन्ध पनि आउँदैन । गाउँ, गाउँ जस्तै लाग्दैन अहिले त ।
मलाई लाग्छ बुवाआमाले हामी छोराछोरीको तीब्र रहर पूरा गर्न होला घटस्थापनादेखि नै गाउँ जानुहुन्थ्यो । हजुरबुवा खड्गप्रसाद दाहाल, हजुरआमा जमुनादेवी दाहाल, बडाबुवा तुलसीराम दाहाल र बडिआमा मधुदेवी भट्टराई (दाहाल) सँगै बस्नुहुन्थ्यो । काका रामप्रसाद दाहाल त गाउँको चल्तापुर्जा मान्छे– गाउँ पन्चायतमा त्यसबेला जनपक्षीय उम्मेदवार भएर वडाको अध्यक्ष हुनुभएको थियो । त्यहि भएर गाउँमा हाम्रो परिवारलाई धेरैले सम्मानजनक रूपले हेर्थे ।
हजुरबुवा, बडाबुवाहरू बस्ने टाँडेघर थियो, वरिपरि बरण्डामा बुट्टेदार काठका फल्याकले रेलिङ्ग बारेको घर । घरको माथ्लो तलाको ठिक मुन्तिर गाईको गोठ हुन्थ्यो । घर अगाडि तगारो अनि तगारोकै उत्तरपट्टि सण्ठीका ठूलाठूला विटाहरू! गोठभन्दा अलि ओर्तिर दुई÷चार वटा सण्ठीमा गाईको गोबर लेपेर बनाएको गुईँठा सुकाएको हुन्थ्यो । गोबर र गहुँतको गन्धले गाउँको परिवेशलाई मोहक नै बनाएको हुन्छ वास्तवमा ।
मेरो हजुरबुवा, हजुरआमा दुबैजनाले धेरै बर्ष पहिलेदेखि श्री कृष्ण प्रणामी धर्म अपनाउँनु भएको थियो । त्यहि भएर हाम्रो सम्पूर्ण खानदान नै शाकाहारी । माछा, मासु पनि खाने चीज हो र ! भन्ने लाग्छ अहिले पनि मलाई । दशैँको जमरा राख्दा पनि हजुरबुवा, हजुरआमाले देवीको पूजा गर्नुहुन्नथ्यो । बालक कृष्णको पुजा गर्ने अनि टीका लगाउँदा दिने आशिषमा पनि अक्षरातित पूर्णब्रह्मको कृपाले, राजश्यामाजीको कृपाले भन्ने वाक्य प्रयोग गर्नुहुन्थ्यो ।
प्रणामीहरूबाल कृष्णमा अक्षरातितको अंश थियो तर कंशबधपछिको कृष्णमा विष्णुको अंश थियो भनेर बाल कृष्णलाई मात्र मान्दछन् । आध्यात्मिक धरातलमै रहेपनि चलिरहेको चलनभन्दा अलि पृथक बनाउँनु भएको थियो हजुरबुवा, हजुरआमाले दशैँलाई । हजुरबुवा, हजुरआमाले सबैलाई टीका लगाईदिनु हुन्थ्यो । हामीले अरु कसैसँग त्यसपछि टीका लगाउँदैनथ्यौँ मावल घर बाहेक । चल्दो रहेछ त त्यसरी पनि ! दहीच्यूरा, केरा, छोप हालेको मुला वा मेवाको अचार, मटर आलुको तरकारी, काउलीको तरकारी, मिठाईहरू मुख्य परिकार हो हाम्रो । धेरैले भन्ने गर्छन् कि प्रणामीहरूले त कुभिण्डो, लौकालाई खसीजस्तो पारेर बलि दिन्छन् रे ! तर त्यो झुठो कुरा हो । बलि दिने भन्ने शब्द प्रति नै प्रणामीहरूको पूरै घृणा देख्छु म । अझ ‘तरकारी काटने’ भन्ने शब्दमा पनि हिंसा छ भनेर ‘तरकारी सुधार्ने’ भन्ने शब्द प्रयोग गर्छन् ।
अब त म द्वन्दात्मक भौतिकवादी भएको छु । धार्मिक मान्यताका राम्रा र बैज्ञानिक पक्षलाई स्वीकार्नु पर्छ अनि जातीय ÷लैंगिक विभेदपूर्ण, काल्पनिक ईश्वर र कथित अवतारसँग जोडिएका पक्षहरूलाई अस्वीकार गर्नुपर्छ भन्ने लाग्छ । दशैँजस्ता पर्वहरू त सामाजिक चलन हुन्, यस्ता पर्वलाई अस्वीकार गर्दा जनसमूदायसँग कट्ने सम्भावना हुन्छ अनि धेरैजसो भारतीय चलन वा पश्चिमा चलनले भित्रने मौका पाउँछन् र साँस्कृतिक हस्तक्षेप शुरु हुन्छ । त्यसैले यस्ता पर्वहरुका राम्रा पक्षलाई समेटेर संरक्षण गर्नु नै उचित हुन्छ । पर्वहरूको निषेधभन्दा साँस्कृतिक रुपान्तरण गर्नुपर्छ भन्ने लाग्छ ।
पहिले पहिले हाम्रो घरमा पनि ‘आयु द्रोण सुते..’ भनेर आशीर्वाद दिने चलन थियो । मैले २०६५ सालतिर मूल्यांकन मासिक पत्रिकामा ‘दशैँ किन र कसरी ?’ भन्ने लेखमा उहिलेका राजा, राजघराना, सामन्तहरूको प्रशंसामा लेखिएको श्लोक उचित छैन, त्यो श्लोकमा श्रमजीवीको पक्षमा कुरा उल्लेख छैन बरु श्रममाराहरूको प्रशंसा छ भनेर लेखेँ । त्यो लेखपछि बुवाले टीका लगाउँदा भन्ने छुट्टै श्लोक बनाउँनु भएको छ । आशीर्वाद दिनु आध्यात्मवादी हुनु हैन । त्यसो हुन्थ्यो भने जिन्दावाद भन्ने शब्द पनि भौतिकवादीले प्रयोग गर्न हुन्नथ्यो । राम्रो होस् भनेर कामना गर्नु भौतिकवादी मान्यताभित्र पर्छ भन्ने लाग्छ मलाई ।
दशैँमा सामान्यतयाः भनिने गरिन्छ ‘धनधान्यले पूर्ण होस्’ । धन आफैमा शोषणको उपज हो । परापूर्वकालमा केही मानिसले शक्तिको भरमा केहि मानिसलाई दास बनाएर उनीहरुको श्रम चुुसेर भूमी कब्जा गर्दै धन कमाउने प्रणाली बसेको त हो । धन कि भ्रष्टाचार गरेर बढ्छ, कि अरुको शोषण गरेर । अहिलेको समाजमा त हामी सबैले कुनै न कुनै प्रकारले अरुको शोषण गरेकै छौँ धन कमाउँन खोजेर । यो प्रणाली ठीक हैन भन्नेले ‘धनधान्यले पूर्ण होस’ भन्नुको सट्टा ‘श्रम, सीपले पूर्ण होस्’ भन्नु उचित होला ।
अचेलको दशैँ पहिलेको जस्तो रमाइलो कहाँ छ र ! मोबाइल सँस्कृति हावि भएको छ । मोबाइल संस्कृतिले सामाजिक सम्बन्धहरू कमजोर बन्दैछ । ग्याजेटभित्र सम्बन्ध बनाउँने तर सामूदायिक भावना भने कत्ति पनि नहुने नयाँ पुस्ताहरू तयार हुन थालेका छन् । मलाई लाग्छ उत्तर आधुनिकतावादको प्रभाव हो यो । यस्ता प्रभावबाट बच्न र बचाउँन अति जरुरी भैसकेको पो छ है !