असौजको महिनाको मध्य भए पनि यस पटक पानी नपरेको हुनाले हिलो थिएन । तीस–पैतीस वटा घर थिए, तर सम्मो नहुनाले छरिएका थिए । आर्थिक स्तर उस्तै उस्तै भएका यहाँका बासिन्दाहरू बाहुन क्षेत्री र घर्तीहरू थिए । आफ्नो खेतीले खान पुग्ने कोही थिएन, सबैले बेसाउँथे । यो बेसाउने मौसम नै थियो । यतिबेला सबैका घर फेला पर्ने अन्न मकै थियो । ढिँडो खान कोदो पाकिसकेको थिएन । मकै पनि जाडोमा भुटेर खानलाई कसैका घर रहँदैनथे । कोदो मकै गाउँघरतिरकै बेसाए पनि चामल बेसाउन भने सदरमुकाम नै पुग्नु पर्दथ्यो ।
बस्तुभाउलाई घाँस काट्न पुग्ने घरबारी कसैको थिएन । झन् यतिबेला घाँसको निखरा हुने बेला हो । सबै वन जान्थे । दशैँले घेरिसकेको थियो । केटाकेटीहरूको चहलपहलले यसको सङ्केत गर्दथ्यो । उनीहरू लठ्ठेपिङमा झुण्डिएका थिए । पहिले पहिले त चम्राले पिङ हालिन्थ्यो, बूढापाका पनि निकै रमाइलो गर्दथे र किशोर–किशोरीहरू जूनेली रातमा पिङ खेलेर रमाउँथे । यस पाला मात्र होइन, धेरै वर्ष भयो यो गाउँमा चम्रालो पिङ नहालेको । दशैँको उल्लासमा आएको यो एक किसिमको घटौती नै थियो ।
रनवीर यही गाउँको बासिन्दा हो । उसको पारिवारिक लेखा यसप्रकार रहेको थियो ।
रनवीर– एकाउन्न वर्ष
उसकी स्वास्नी नन्दकला– सतचालिस वर्ष
विवाहित जेठी छोरी– सत्ताइस वर्ष
विवाहित कान्छी छोरी– एककाइस वर्ष
जेठो छोरो– चौबिस वर्ष
माहिलो छोरो– अठ्ठार वर्ष
र
कान्छो छोरो– बाह्र वर्ष ।
जेठा छोराले घर छोडेर हिँडेको पनि छसात वर्ष भइसकेको थियो । प्रत्येक वर्ष रनवीरले ‘यो साल त आउला कि ?’ भन्ने आश गथ्र्यो तर त्यो निराशामै टुँगिन्थ्यो । छोराका बारेमा उसलाई थरिथरिका कुरा सुनाउँथे । सबैले आ–आफ्नो समाचार स्रोत अनुसार टिप्पणी गर्दथे, सत्य र असत्य हुनुसँग त्यति चासो थिएन । कसैको भनाइमा उसको छोरोले देशिनी स्वास्नी राखेर उतै घरजम गरेको थियो । ‘त्यति लजालु थियो, ख्यै कसरी आफैँ बिहे गरे होला र ?’ नन्दकलाको प्रतिक्रिया हुने गर्दथ्यो । ‘कस्ती होली बुहारी, एकपटक घर ल्याई देखाएर लगे पनि हुन्थ्यो’ कहिले ऊ बुहारी देख्न लालायित हुन्थी । फेरि अर्काथरिको भनाइमा रनवीरको छोरो कुनै राम्रो कम्पनीमा चौकिदार थियो । ‘टिक्न सक्यो भने केटाले पैसा कमाउँछ’ उसका शुभेच्छुकहरुले भन्ने गर्दथे । ‘पराइ मुलुक, भएको दुई–चार पैसा पैसा पठाउँदै गरे हुन्थ्यो, यहाँ पनि काम चल्दथ्यो’ कहिलेकाँही रनवीरले पनि स्वास्नीसँग गुनासो पोख्दथ्यो । ‘कहाँ छ, कस्तो छ, खाएको छ कि भोकै छ, त्यसको केही पत्तो छैन, तिमीलाई भने पैसाकै चिन्ता छ’ नन्दकली बरबरी रुन्थी । किनकिन उसको मन ढुक्क थिएन । छोरालाई झलझली सम्झन्थी । ‘यो दशैँमा त कसो नआउला ?’ दुवैका आँखा बाटातिरै थिए । ‘आइहाल्यो भने रित्तो हात कसरी आउला ?’ रनवीरले सजिलो ढंगले दशैँ टार्ने सपना देखिरहेको थियो ।
दशैँ बेलामा बाटो मरमत गर्ने चलन अझै हटेको थिएन । गत वषहरूमा ‘यति बाटो बनाउनु’ भन्ने आदेश पल्लो गाउँबाट आउँथ्यो । यसपटक भने कुरा फरक थियो । यो वर्ष यही गाउँको निलमले नै बाटो बनाउने कडा निर्देशन दिएको छ । ऊ गरीबको तर्फबाट गत चुनावमा चुनिएको व्यक्ति थियो । दुई–चार भोटको कुरा अर्कै हो, सबैले उसैलाई छाप मारेका हुन् । ‘गरिबको राजको लागि गरिबलाई नै भोट’ उसको पार्टीले चुनावमा नारा दिएको थियो । निलम आफ्नै गाउँको आफूजस्तै मान्छे, रनवीरलाई खुवै चित्त बुझेको थियो । निलमले भनेपछि ऊ पनि पार्टीको सदस्य बनेको थियो ।
‘हाम्रो राज आएपछि सबै ठीक हुन्छ, हाम्रा दुःख हरण हुन्छन् ।’ पार्टी सदस्यता लिने बेलामा निलमले भनेको कुरालाई रनवीरले अहिले पनि सम्झिरहेको थियो । उसले मात्र होइन, चुनावको बेलामा सबैले पार्टीलाई तिर्न बाँकी रहेको रकम माफ मात्र पाएका थिएनन्, अघि तिरेको सम्पूर्ण रकम पनि फिर्ता पाएका थिए ।
‘गरीबको हुकुम आयो, हाम्रो पार्टीले जित्यो ।’ निलमले खबर लिएर आयो । उसले जताततै खुसीयाली बाँड्दै हिँड्यो । आफ्नै पार्टी र आफ्नै मान्छेले जितेकोमा रनवीर पनि निकै खुसी भयो । ऊ पनि अबिरले रंगिएर निलमका अघिपछि नारा लगाउँदै हिँड्यो । समयक्रममा निलम अलि भिन्न हुन थालेको थियो । उसले रनवीरलाई होच्याउँथ्यो, हेपेर बोल्थ्यो र आफूसँग प्रतिवाद गर्दा हप्काउँथ्यो । मानौँ यसो गर्नु उसको अधिकार थियो । जितेको खुसीमा होला भनेर सुरुमा रनवीरले त्यति वास्ता गरेन तर त्यो क्रम नरोकिए ऊ खिन्न हुन थालेको थियो । ‘अरुको हुकुम मान्दै आइएको थियो, झन् आफ्नै मान्छे, आफ्नै सरकारको हुकुम किन नमान्नु ?’ दशैँ खर्चको पीर र छटपटी बोक्दै ऊ कोदाली लिएर बाटो बनाउन हिँड्यो ।
यो मूल बाटो हो, खत्री गाउँ हुँदै गुरुङ गाउँतिर जान्छ । वास्तवमा यो बाटो खत्री गाउँले पनि मर्मत गर्नुपर्ने थियो तर त्यहाँका दुईचार जनाको बलमिच्याईं र हैकमले गर्दा त्यो गाउँ कहिल्यै पनि सहयोग गर्न तयार भएन । ‘यो अन्याय हो’ भित्रभित्र सबैले कुरा गर्दथे, किन्तु मुख खोलेर कसैले प्रतिवाद गर्दैनथे । त्यसैले खत्री गाउँको आदेश चुपचाप मान्नु यो गाउँको कर्तव्य बनेको थियो ।
‘हाम्रो कुरा सुन्ने कोही नभएर पो, अब त यो बाटो खत्री गाउँले पनि बनाउनु पर्छ ।’ काम सुरु गर्नुभन्दा अगाडि रनवीरले कुरा निकाल्यो ।
‘ठीक हो’ सबैले सहमति जनाए ।’
‘भाग लगाएर छोडिदिऊँ, हामी मात्र अँठ्ठिनु पर्ने केही छैन ।’
‘रनवीर दाइ, अहिले निहुँ खोज्ने समय होइन, यो विकास निर्माण गर्ने बेला हो ।’ निलमले सम्झाउन थाल्यो । अरुलाई भए उसले झम्टिहाल्थ्यो तर रनवीरलाई सक्दैनथ्यो ।
‘गाउँको सरकार पनि हाम्रै, जिल्लाको सरकार पनि हाम्रै र माथिको सरकार पनि हाम्रै भएको बेलामा यति जाबो कुराको निसाफ पाइँदैन भने कहिले पाइन्छ ?’ रनवीरलाई केही अपुग छ जस्तो लागेको थिएन ।
‘आखिर निलम यस्तो किन भन्छ ?’ उसले छेउटुप्पो बुझ्न सकेन ।
‘तातै खाउँ, जल्दी मरुँ भनेको उग्रवादी सोचाइ हो, तपाईँलाई कसैले उक्साएजस्तो छ । पितापुर्खादेखि मान्दै आएको चलन भत्काउनु हुँदैन । जताततै हाम्रो सरकार भएको अवस्थामा झन् अशान्ति गर्नु हुँदैन ।’ निलमले सानोतिनो भाषण नै ग¥यो । उसको अनुहार तमतमाउँदो भएको थियो । सबैले मुखामुख गरे ।
‘खन भाइ हो, जो भए पनि हाम्रो लागि उस्तै हो’ रनवीरले खन्न थाल्यो । एउटा असजिलो अनुभूतिका साथ विस्तारै सबै सग्बगाए र काम सुरु गरे । साविकको साँधसम्म अर्थात् खत्री गाउँसम्म पुग्दा झण्डै साँझ परेको थियो । निलम काम लगाउने वित्तिकै हिँडेको थियो ।
छुट्टिने बेलामा खसीको कुरा उठ्यो । खसी काट्ने दिन आइसकेको थियो तर अहिलेसम्म कुनै बन्दोबस्त थिएन । विगतका वर्षहरुमा सबै मिलेर एउटा खसी काट्थे । बीस पच्चीस भाग लगाएर आ– आफ्नो हैसियत अनुसार एक वा आधा भाग लान्थे । यस पटक निलम यस्तो भागवण्डामा मिसिनेवाला थिएन । हिजो मात्र उसले सिङ्गै खसी ढालेको थियो । उसको घर उमङ्गले पूर्ण थियो । रक्सी र मासुको लठारो चलेको थियो । को–को हुन् कोहो नयाँ मानिसहरू आउँथे मासु रक्सी खान्थे र खुट्टा लरबराउँदै आफ्नो बाटो लाग्थे । खत्री गाउँका ठूला मान्छेहरू पनि भोजमा सामेल भए । सित्तैमा यसरी खाने ख्वाउने चलन नौलो थियो । रक्सी चल्नेले भए पनि नभए पनि दशैँका दिन रक्सी खान्थे, भनाभन र कुटाकुट समेत गर्दथे । यसरी झगडा भए तापनि दशैँ सकिनासाथ फेरि मिल्दथे । मासुकै कुरा गर्ने हो भने टीकाका दिन पनि टीका थाप्न आउनेलाई ख्वाउने क्षमता कसैको थिएन । निलमले गत वर्ष दशैँ मनाउँदा मुश्किलले एउटा बिलो लगेको थियो । यस वर्षको कुरो अर्कै थियो, उसको औकात बढिसकेको कसैलाई पत्तो थिएन । सबै आश्चर्यमा थिए ।
‘निलमले यत्रो खर्च कसरी गर्न सक्यो ?’
‘ऊ पार्टीको नेता र वडाध्यक्ष पनि हो ।’
‘खसीको बारेमा रनवीर दाइ केही बोलेनौ नि ?’
‘ख्वै के बोलौँ ?’ रनवीरले सुस्केरा काढ्दै भन्यो– मलाई त यो दशँै नमनाए पनि हुन्थ्यो जस्तो लागेको छ ।’
‘केटाकेटी र इष्टमित्रले त्यो भनिदिए पो ।’
‘पुगीसरी आउने भए मीठो इच्छा कसलाई हुँदैन होला र ?’ कुनै टुँगोमा नपुगी सबै आ–आफ्नो बाटो लागे ।
‘देशबाट छोरो आइपुगेको छ कि ?’ घर पुग्दा रनवीर मुटु ढुकढुक गर्न थाल्यो । एकछिन आँगनमा टक्क उभिएर घरभित्रको चाल सुन्यो । कतै केही संकेत नमिलेपछि उसका पाइला विस्तारै पिँढीतिर चले ।
‘कतै काम चल्यो त …?’ नन्दकलाले सोधी ।
‘कतै न कतैबाट काम चलेको थियो आजसम्म, ख्वै यसपाली के भएको हो कुन्नि, कसैले पैसो छ भन्दैन’ रनवीरको स्वर थकित थियो । नन्दकला निराश भई । घरभित्र चामलको गेडो थिएन, न घिउतेलको थोपो थियो । गोठमा दुहुनो भैंसी थिएन, दश बाह्र हजार रुपैयाँ तिरेर दुहुनो भैंसी किन्नु रनवीरको लागि आकाशको फल थियो ।
‘अष्टमी र नवमी दुई दिन मात्र बाँकी छन्’ नन्दकला अझै भुटभुटिन्छे । आजसम्म सबै सामान तयार भइसक्नुपर्ने थियो । भोलिविहान पैसा पाएदेखि साँझसम्म सामान आइपुग्थ्यो, त्यति बिग्रने त थिएन, पर्सी हतार हुन्छ, त्यत्ति मात्र हो’ उसको आफ्नो मर्म थियो, आफ्नो हिसाब थियो ।
‘तर खोई पैसा ? कताबाट आउँछ भोलि बिहानै ?’ फेरि निसासिई ।
‘हामी आर्शीवाद मात्र दिउँला टीका लगाएर’ रनवीरले स्वास्नीलाई चित्त बुझाउन खोज्यो ।
‘घरभित्र कै कुरा मात्र भए त जे गरे पनि हुन्थ्यो, दाजुभाइ, इष्टमित्र आउँछन्, रित्तै भएर कुन मुखले टीका लगाउनु । कहिलेकाँही लाजैमर्दो हुन्छ, कहिल्यै नआउने मान्छे टुप्लुक्क आइपुग्छन्’ नन्दकला झण्डै रोएकी थिई । परारसालको घटना उसको मनमा ताजै थियो । त्यो वर्ष संसदको चुनाव थियो । अहिलेका सांसद भोलामान टीको थाप्न आएका थिए । नाताले उनी रनवीरले मान्नुपर्ने मानिस थिए । रनवीर नै टीको लगाउन जानुपथ्र्यो । त्यो वर्ष भोलामान सबैभन्दा साना थिए । उनले समानताको सिद्धान्त अगाडि सारे । टीका थाप्न उनले लिङ्गभेद गरेनन्, उमेरको भेद गरेनन्, नाताको भेद गरेनन् न जातिपातीको भेद नै गरे । सबैका हातबाट टीको लगाए । त्यसैबेला रनवीर माहिलो छोरोलाई काममा लगाइदिने प्रतिज्ञा पनि गरेका थिए । त्यसपछि भोलामानसँग भेट भएको थिएन । ‘त्यत्रा मान्छेले बोलेपछि कसो नर्गलान् विर्सेर होला’ नन्दकलाले बेलाबखतमा भन्ने गर्थी । ‘अहिले आए भने ….’ ऊ झसङ्ग भई ।
‘अहिले भोट माग्ने वर्ष होइन, किन पीर लिन्छेस् ? आइहाले भने के भयो त गरीबका नेता हुन् क्यारे, गरीबको दशैँ देखाइदिउँला’ रनवीरले दिक्दार मान्दै भन्यो ।
‘कहाँ हुन्छ त्यो भनेर ? जुवाइँ छोरीले के भन्लान् ?’
‘मलाई मात्र कोपरेर के गर्ने ? खोज तैैंले पनि तिरौँला कुनै उपायले’ मानौँ रनवीर फुत्कन चाहन्थ्यो । उसलाई जहिल्यै पनि यस्तै हो । ‘कसरी काम चलाउँ’ भन्ने हुटहुटी भन्दा चाडवाडको सुख सन्तोष कहिल्यै भएन । उसले निलम र भोलामानलाई एकैचोटि सम्झ्यो । ‘गरीबले जितेपछि गरीबकै भलो हुन्छ ।’ उनीहरुको भनाइ सम्झयो । झन्झन् वितृष्णा जाग्दै गयो । ‘बेमानहरू’ घृणाले उसको टाउको चक्कराउन थाल्यो ।
‘ख्वै ले त्यो कहाँ छ ?’ ऊ एक्कासी करायो ।
‘के दिने हो अब खाने बेलामा ?’
‘पार्टीको रसिद ?’
‘किन चाहियो ?’
‘चाहिएन यस्तो पार्टी, चाहिएन यस्तो पार्टीको रसिद ।’
नन्दकलाले सदस्यता रसिद झिकेर दिई रनवीरले च्यातेर धुजाधुजा बनायो र बल्दो आगोमा होमिदियो । कागजको धुलोले आगोको एउटा धिप्का नीलो भयो । दशैँको पीर हुँदाहुँदै यो विद्रोहले उसको मानसिक तनावलाई विस्तारै कम गराउँदै लान थाल्यो । निलमसँगको उसले बदला लिइरहेको थियो ।
‘हेरिराख् न ! सबैले निलमको पार्टी छोड्छन्’ ऊ स्वास्नीतिर फक्र्यो । आफूजस्ता अरु पनि छन् भन्ने यथार्थलाई उसले नन्दकलाका सामु राख्न चाहन्थ्यो ।
भेलिपल्ट विहान रनवीर उठिसकेको थिएन । झिसमिसेमै नन्दकला पँधेराबाट पानी लिएर फर्की ।
‘ए हजूर ! उठ्नुहोस् त !’ हतारिएर उसले रनवीरलाई झक्झक्याई ।
‘के भयो र कराइरहेकी छस् विहान विहानै ? उही कचकच गर्न होला ।’ रनवीर झर्केर अर्कोपट्टि फक्र्यो ।
‘….कान्छी सुत्केरी भईछ….’
‘साँच्चै हो र ?’ ऊ जर्फराउँदै उठेर ओछ्यानमा बस्यो ।
‘मैले किन ढाँट्थे र ?’ नन्दकलाले समाचारको पुनः पुष्टि गरी ।
‘धेरै राम्रो भएछ…’ रनवीर खुसीले गदगद भयो । किन्तु यो प्रसन्नता धेरै समयसम्म टिक्न भने सकेन । छोरी–जुवाइँ आउने सम्झना हुने वित्तिकै उसको अनुहारमा फेरि चिन्ताको धर्सो कोरियो ।
‘त्यसको लागि केही पीर मान्नु पर्दैन, छोराहरू दिदीलाई दशैँ थुनिएको खवर दिएर मामाघर जान्छन्’ नन्दकला प्रफुल्ल थिई ।
‘तेरा माइत पनि त गाह्रो होला, चाडवाडमा दुईदुई जना पठाएर’
‘अरु पाहुना जस्तो हो र ! जे छ त्यही खान्छन् । अनि धेरै छाक कहाँ हो र ?’
‘जे सुकै गर !’ रनवीरले निश्चिन्त हुँदै भन्यो ।
सुतकको निहुँमा यो घाँडो पन्छाउन पाएकोमा ऊ धेरै आनन्दित भयो ।
दिउँसो दुवै जना घाँस काट्न वनतिर जाँदै थिए । निलमकी स्वास्नी बाटैमा भेटिई । ‘रोटी पकाउन छोडेर किन वन हिँडेकी ? टीको लगाउन नभए पनि खान कहाँ थुनिन्छ र ?’ सायद उसले कुन आसयले भनी कुन्नि तर नन्दकलाको अन्तरमनमा नराम्रोसँग विझ्न पुग्यो ।
‘तैले घिचे पुग्दैन र ?’ उसलाई यसरी जवाफ दिन मन लागेको थियो, किन्तु त्यसो भनिन । ‘के गर्ने बैनी, घाँसको त्यान्द्रो छैन, आफूले मात्र खाएर नहुने’ पीडा पचाउँदै उसले यति मात्र अभिव्यक्त गर्न सकी ।
‘आइजा एक सर्को पिङ खेलेर जाऊँ’ चउरमा पिङ देख्ने वित्तिकै रनवीर त्यतैतिर लाग्यो । चिन्तैचिन्ताले खिइएको लोग्नेलाई खुसी देख्दा नन्दकला हर्षविभोर भई । पिङमा चढ्नेवित्तिकै रनवीरलाई आनन्दले यसै यसै उडौँ जस्तो लाग्यो । ऊ बेतोडले मच्चिँदै गयो र फेरि पनि मच्चिँदै गयो ।