जब सिर्जनाका धनी श्रमजीवीहरूको चेतनाको ढोका खुल्छ, शोषणको कालो साम्राज्य जरैदेखि डगमगाउन थाल्छ, तब श्रमको मूल्य खोज्दै उनीहरूले मुठ्ठी कस्नमात्र थाल्दा प्रतिक्रियावादीहरूको मुटु काम्न थाल्छ । अजारौँको लासमाथि उभिएको आलिसान महलमा खैलाबैला मच्चिन्छ । अनि सङ्गिनको घेराभित्र आफूलाई सुरक्षित बनाएका हत्याराहरूको सपना निशाचरको भीमकाय छायाले भताभुङ्ग बनाइदिन्छ ।
त्यो बेला आफूले यौनदासी बनाइएकी कथित मेमसाहेबको सुन्दर अनुहारमा पनि उनीहरू आतङ्कवादी छाया देख्न पुग्छन् । एक गास खान र एक झुम्रो लगाउन अफ्नो हाड छाला अहोरात्र त्यही महलमा रगड्ने निरीह नोकर, सुरक्षाकर्मी र उसको हर आदेशलाई शिरोधार्य गर्ने लठैतहरूको चेहरासमेत् उनीहरूलाई डरलाग्दो भइदिन्छ । महलका भित्ता, सिलिङ र प्रत्येक चोटाकोठाबाट उनीहरू आतङ्कवादी आएको देख्छन् । सत्ताले महाअन्धा भएका जनविरोधीहरू यसरी वर्गसङ्घर्षको लप्का उठ्न थालेपछि उनीहरूको आँखा धमिलो बन्छ र आफैमाथि पनि विश्वास नलागेर बौलाहा कुकुरझैँ बन्न पुग्छन् ।
कहिलेकाहीँ तानासाहहरू पनि सत्य बोल्छन् । एक पटक पाकिस्तानका तानासाह ज्याउल हकले पाकिस्तानको संविधानको उपादेयतालाई सङ्केत गर्दै भनेका थिए, ‘संविधान कागजको खोस्टा हो, त्यसलाई च्यातेर रद्दीको टोकरीमा फाल्न सकिन्छ ।’
हो, तानासाह हकले भनेजस्तै संविधान, कानुन र मूल्यमान्यता वर्गवैरीलाई तह लगाउने दाम्लो मात्रै हो । दाम्लो खिरोलो भएन भने फेर्न अइतबार बार्नुपर्छ ? सङ्गिनको टुप्पोमा अमिलो बारुद र मान्छेको छाती भ्वाङ पार्ने तातो गोली हो निर्णायक ? जब रगत जमाएर त्यसको मोल नपाउँदा विद्रोहको आवाज घन्काउँछन्, त्यसलाई प्रशासन थान्को लगाएर हजारौँ श्रमजीवीको मनभित्र सन्त्रासको कालो छायाँ हर्काउन नै पुलिस चाहिन्छ । सेना चाहिन्छ ।
शान्ति र अमनचयनको रङ्गीन रात मनाइरहेका बाबु साहेब, राजा साहेब र नेताजीलाई सुरक्षा गर्न अहम् दायित्व बोकेका यी सुरक्षाकर्मीको केन्द्रीय काम किसानको हत्या गर्नु हो । मजदुरको हत्या गर्नु हो । विद्यार्थी, बुद्धिजीवी र समाजको निर्माण गर्ने अभियानको रगतले हात रङ्गाउनु हो । जल्लादले मृत्यु मात्रै जान्दछ । उसलाई प्रेम, सद्भावना र सिर्जनाप्रतिको प्रतिबद्धता के हो ? थाहा हुँदैन । हवस् हजुर ठिक छ ! हवस् सापमा जिन्दगी बिताएका श्वानवृत्तिकालाई रछ्यान र सुकेका हाड नै प्यारो लाग्छ । महान् लाग्छ । त्यसैले मलाई घ्याम्पेसालले दुःखी बनाए पनि आश्चर्यचकित बनाएको छैन ।
वर्गीय प्रेमले सचेत मान्छेका मन नयाँ संसार निर्माण गर्न निस्केका योद्धाहरूको हत्यामा अलिकति असन्तुलित बन्दोरहेछ । अन्तस्करणमा नराम्ररी दुख्दोरहेछ । हो, घ्याम्पेसालले मेरो मुटु अहिले नराम्ररी चिमोटेको छ । अलिकति उत्तेजित बनाएको पनि हुनु सक्छ ।
अहिले मेरो मानसपटलमा झण्डै बिस वर्ष अघिको घटना पुनरावृत्ति भएको छ । त्यो बेला पनि जल्लादहरूले विजयको मुस्कान फुराउँदै भनेका थिए, ‘मुठभेडमा दुईजना अराष्ट्रिय तŒवको हत्या भयो ।’ ती दुईजना आलिसान महल बनाएर त्यसमा स्वास्नी नामकी सुन्दर यौनदासी भित्र्याएर आरामदायी जीवन बिताउने रहरले घर छाडेका थिएनन् । उनीहरूको सुन्दर सपना थियो, जनवादी गणतन्त्र नेपाल ।
संखुवासभाको एउटा गाउँमा भएको त्यो हत्याको घटना सायद एमाले नेतृत्व वर्गले बिर्से । त्यसो त हत्यारासँग लगौटी गाँसिएपछि क. चन्द्रपुरी र क. हरि नेपाललाई सम्झिनु पनि त अपराध हुन्छ । समयको सारमा नाच्ने एमाले नेतृत्ववृत्तमका लागि त्यो त जडसूत्रवादी आतङ्ककारी गतिविधि न थियो । भन्नुहोस् सरकारमा जान दौरा सुरुवाल ठिक्क पारेका नेतृत्व पङ्क्तिले त्यस्तो आतङ्ककारी गतिविधि र व्यक्तिहरू सम्झिन मिल्छ ? अवश्य मिल्दैन । तर, मेरा आँखमा घ्याम्पेसालको प्रहरी हिरासतमा कायरतापूर्वक मारिएका आदरणीय सहिदहरू क. चन्द्र र हरि अनुवाद भएर उभिएका छन् । उनीहरूको सुन्दर सपना अहिले मलाई खिस्याउँदै छ, ‘लाछी तँसँग विद्रोह बोल्ने धुकधुकी छैन ।’
हो, घ्याम्पेसाल शंखुवासभामा भएको हत्याको निरन्तरता हो । सुखानी, इभाङ र भिमानको निरन्तरता हो । जसले जनताको सुनौलो मुक्ति बिहानी जन्माइरहेको छ । जुन किरणले प्रतिक्रियावादीहरूको लुटको स्वर्गलाई भत्काइरहेछ र सम्पूर्ण उत्पीडित जनताको बस्तीमा उज्यालो छरिरहेछ ।
२०४६ सालपूर्व र वर्तमानमा परिभाषा गर्न शब्दको पार्थक्य छ मात्रै शब्दको । हिजो राष्ट्रलाई बन्दक बनाउने दलालहरू राष्ट्रको सम्पदालाई अराष्ट्रिय भन्ने गर्थे । शासन शैली उही छ । प्रशासन सञ्चालन र संरचना उही छ । बन्दुक उनै छन् र हत्या उसरी नै गरिरहेका छन् । तर हत्यालाई न्यायिक भनाउन परिभाषा अलिक फरक दिने गरेका छन्, आतङ्ककारी ।
प्रतिक्रियावादीहरूले गरेका अपराधलाई बिर्सेर हत्या शृङ्खला उठाइरहेछन् प्रतिक्रियावादी शासकहरू । जब अन्यायमा जनता पिरोलिन्छन् र न्यायको ढोका ढकढकाउन प्रहरी प्रशासनमा पुग्छन्, त्यसबेला निमेकको सोझो गर्ने प्रहरी प्रशासन कानुन तेस्र्याउँछ र धम्क्याउँछ । आफूमाथिको ज्यादतिको निसाफ कतैबाट नपाएपछि जब जनताले विद्रोह बोल्छ, जनता जब आगो ओकल्छन्, त्यही प्रहरी प्रशासन बस्तीमा आतङ्क मच्चाउन थाल्छ । लुट्न थाल्छ । बलात्कार र हत्याको अन्तहीन शृङ्खला उठाउन थाल्छ । आज जनयुद्धलाई समूल नष्ट गर्ने नाममा हत्या र बलात्कारले हाहाकार छ बस्ती । वास्तवमा को आतङ्ककारी हो ? माओवादी कि यो मक्किएको भ्रष्ट सरकारको खुनी प्रहरी प्रशासन ?
इतिहासमा गोयवल्स पनि थियो । हिटलरको जुठोमा बाँचेको थियो । कम्युनिष्टहरू सखाप पार्न ग्याँस च्याम्बर पनि बनाएको थियो । झुठलाई सयपटक फलाकिरह्यो भने त्यो सत्य सावित हुन्छ भन्ने पाखण्डी सिद्धान्त अहिले पनि संसारका हरेक तानासाहको गुरुमन्त्र नै बनेको छ । अनि नेपालका गोयवल्सका इमान्दार सन्तानहरू किन त्यसो नगरुन ? भिरबाट खसालेर मारेपनि मुठभेड हुन्छ । हिरासतमा अमानवीय यातना दिएर मारे पनि मुठभेड हुन्छ । अझ घिनलाग्दा बलात्कार गरेर हत्या गर्दा पनि मुठभेड नै हुन्छ । कति सस्तो छ मान्छेको जीवन र मृत्युको कुरा हामीभित्र ?
हत्या, बलात्कार र राज्य आतङ्कविरद्ध अलिकति पनि आक्रोश जन्मदैन भने जीवनको के अर्थ ? दासतालाई उपहार ठानेर रमाउने हो भने मान्छे भएर बाँच्नुको के अर्थ ? कुसुलेले पुतली नचाएजस्तै निरर्थक नचाइरहँदा मुर्दा भएर कहिलेसम्म नाचिरहने ? के हाम्रो यो मौनता दासताको सम्मति भएन र ? बढ्दो आतङ्कको परिवेशलाई हाम्रो स्वीकृति ठहर्दैन र ? अहिले मेरो मनभित्र घ्याम्पेसाल तुफान भएर उठिरहेछ । मलाई विद्रोही बन्न हार्दिक आह्वान गरिरहेछ । सार्थक जीवनको माग गरिरहेछ ।
हठात् मेरो सम्झनाको तरेलीमा गोर्की आइपगे । उनको महान् उपन्यास आमाको लुदमिलालाई म सधै सम्झिने गर्छु । लुदमिला भन्छिन्, मानिसहरू खराब हुँदैनन् । जति मूर्ख हुन्छन्, उनीहरू अक्सर त्यही चाहन्छन्, जुन उनीहरूको सबैभन्दा नजिक हुन्छ र तुरुन्त पाउन सकिन्छ ।’ कति यथार्थ छ हगि । हामीभित्र अलिकति सन्त्रास छ । सन्त्रास, सम्झौता र समर्पणको चङ्गुलभित्र हामीले आफैलाई कैदी बनाएका छौँ । उन्मुक्तिको गीन गाउन त औधी खुसी बन्छौँ तर आफैभित्र अन्तर्निहित शक्तिलाई उपयोग गरी सार्थक जीवन बिताउन वर्तमानको क्षणिक लाभले बाटो छेक्छ । हैन त ?
इतिहास यस्तो छैन, हामीजस्तो कायरलाई काखी च्यापेर प्रवाहित बनोस् । मान्छे हुनुको अर्थलाई कुल्चेर मात्रै बाँच्नको लागि बाँच्नेहरूलाई इतिहास कहिल्यै अभिवादन गर्दैन । कहिल्यै सम्मान गर्दैन । इतिहास त रगतले लेखिन्छ, परिवर्तनका गायकहरूको बलिदान इतिहासको गह्रौँ पाइला बन्छ । जुन पाइलाले छोडेका पदचापहरूलाई नियालेर भोलिका सन्तान हिँड्ने छन् । क्रान्तिको रातो झण्डालाई माथि उठाउने प्रतिज्ञा गर्दै अर्को क्रान्तिको तरङ्गवृत्ति उठाउन सफल बन्नेछन् । यस अर्थमा घ्याम्पेसाल अजर बन्ने छ । सधैसधै क्रान्तिकारीहरूको प्रेरणाको स्रोत बन्ने छ । फासिष्टहरूको विनासको आगो हुर्काउन सामथ्र्य भएको क्रान्तिको गीत बन्ने छ– घ्याम्पेसाल ।
जब नेपालमा जनयुद्धको उद्घोष भयो, प्रतिक्रियावादी किल्लामा भू–कम्प जान थाल्यो । यो भू–कम्प विगतको भन्दा सर्वथा भिन्न थियो । समय बित्दै जान थाल्यो । जनयुद्धको यो प्रभावले पागल बनेका प्रतिक्रियावादीको बहुलठ्ठीपनाको एउटा नमूना हो घ्याम्पेसाल ।
एकातिर बस्ती उजाड्ने काम जारी छ भने अर्कातिर हत्यारा सरकार वार्ताको चाल चालिरहेछ । हो, प्रतिक्रियावादीहरू धुर्त र चन्डाल हुन्छन् । अहिले उनीहरू दुईबटा मोर्चाबाट युद्ध लड्दै छन् । एउटा मोर्चाबाट जनयुद्धलाई घाटमा उतार्ने कम्मर कसेर लागेका छन् भने अर्को मोर्चाबाट माओवादी अराजकता र आतङ्कपूर्ण क्रियाकलापको जिम्मेबार अपराधी दस्ता हो भनेर जनतामा भ्रमको तुवाँलो छर्न वार्ताको ढोँग रचिरहेका छन् । वार्ताको माध्यमबाट तथाकथित राजनीतिक समाधान खोज्ने यतिका महान् दयासागरलाई क्षेप्यास्त्र कुन प्रयोजनको लागि खरिद गर्नुप¥यो । त्यसैले दाह्रा कोखमा लुकाएर र शालिनताको अभिनय गर्नेहरूका लागि चैत्र २४ गतिलो आवाज बन्नुपर्छ । धुलो टकटकाएर उठ्नुपर्छ ।
घ्याम्पेसालको बलिदानले बदलाका ज्वाला दन्काएर अब शोकलाई शक्तिमा बदल्दै नयाँ उचाइको यात्रामा गतिमान हुनैपर्छ । दुनियाँका तानासाहले माटो चाटेको इतिहास छ । विजय मुस्कुराउँदै हामीलाई अङ्कमाल गर्न आइरहेछ । जनयोद्धाहरूसँगै आदरणीय सहिदहरूको सम्मानमा हार्दिक अभिवादन अर्पण गर्दै जनयुद्धको गीत घन्काऔँ ।
रेजा हिट्लर, बोकासा, मुसुलिनी तोजो बिलाए यहाँ
इदि, चेङ्ग अनेक राक्षसहरू हारे हराए यहाँ
यस्तै यो यतिहासको छ गति जो फासिष्टको हारको
उर्लदो जनयुद्ध हो विजयको गाइन्छ गाना मिठो ।
(लेखक २०५९ सालमा सहादत प्राप्त गर्ने जनयुद्धका सांस्कृतिक सहिद हुन् । यो रचना ‘जनयुद्धका संस्मरण’बाट साभार गरिएको हो)