कुनै दिन सँगसँगै थियौँ
तिमी र म त्यो यात्रामा ।
मलाई सम्झना छ
भुन्टी दिदीको बारीमा तिल काटेको
सम्झना छ बिर्खे दाइको घैया गोडेको
कठेरीमा बूढी आमैले दिएको एकमुठी मकैले
तीन दिनको भोक मेट्दै
तादीको किनारै किनार गरेको यात्रा पनि ।
मैले बिर्सिएको छैन
बिर्सिएको छैन
लाप्राङको वनमा टिपेर खाएको
काफल र ऐंसेलुको स्वाद
र, तिम्रो चुल्ठोमा सिउरिदिएको लालीगुराँस ।
सम्झनाहरू अचेल
कहिले दोर्खु बनेर उर्लिदिन्छन्
कहिले फुङफुङ बनेर झरिदिन्छन् ।
अमिट छन् अटल छन् मानसपटलमा
भञ्ज्याङ र पाखाहरू
कुइनेटा र गल्छेडाहरू
सुत्केरी फाँटहरू
मुस्कुराइरहेको लामटाङ
र धँयराको डाली ।
उही बाटो उही गन्तब्य
हाम्रा छरपस्ट सपनाहरू बोकेर
सुनौलो बिहानको अभिलाषा सङ्गाल्दै
तिमी र म अलग भयौँ
त्यो साँझ ।
त्यही साँझ
सन्त्रासको भयानक हुरी चल्यो
चारो खोजेर फर्कदै थिए चराहरू
गुन्गुनाउँदै थिए झ्याउँकिरीहरू
लुटिएका खुसीहरू खोज्दै थियो जुनकिरी
बेँसी झर्दै थियो खुर्पे जून
गर्भमा परिर्वतन र चेतनाको ज्वालामुखी बोकेर
निदाउन खोज्दै थियो पहाड
आमाको काखमा पल्टदै थिए नानीहरू
र, कुनै आत्मीय मनको मझेरीमा थकाइ मार्दै थिए
युग बदल्ने अठोट बोकेका सिपाइहरू ।
त्यही रात
शीत ओढेर निदाएको बस्तीमा
बर्दि र बन्दुकले उन्मत्त एक हुल बगरेहरू पसे
र आगो लगाए
छटपटाँउदै जले गुँडमै बचेराहरू
नानीहरूको कलिलो मुस्कान लुटियो
सङ्गीन रोपियो निदाएका सिपाइहरूको छातीमा
सिनोझैँ लुटियो अवलाको अस्मिता
पानीझैँ रगत बगाइयो तादी र त्रिशुलीमा
र, उत्सव मनाइयो जल्लादहरूको नगरीमा
बर्षौँपछि आज तिमीलाई सम्झिएको छु
तिम्रा सपनाहरू सम्झिएको छु ।
सम्झिएको छु
रगत बगेको तादी र त्रिशुली ।
र सम्झिरहेछु
सपना बाँड्ने
युद्धका ति नाइकेहरूलाई ।
०००