प्रश्नै प्रश्नले कुजिएर
थला परेको छ जीवन यतिबेला ।
सम्झिरहेछु त्यसबेला
तिमीले फुलाइदिएको रातो सपना
अटेसमटेस थियो मेरा आँखाभरि ।
रुखहरु,
अँध्याराहरु,
रातहरु,
झाडीहरु,
खोलाका बगरहरु,
काँसबारी, सुनसान, एकान्त सबैतिर
भेटिन्थे कसिला मुठ्ठीहरु, अनि
मुठ्ठीहरुभन्दा कठोर लाग्ने
संगिन निशानीहरु,
जहाँ ताकिन्थ्यो
विद्रोहको ज्वाला लप्किरहने आँखाहरु
अनि ढालिन्थ्यो छिनभरमै
आफ्नैजस्ता लाग्ने सपना ।
थिएन बगरको त्यतिबेला
सोधेको ढुङ्गोले
कहिल्यै मलाई मेरो परिचय अनि
मेरा गोडाहरुले टेक्नुपर्ने गन्तव्य,
हावाका झोक्काहरु कैयन पटक
ठोक्किएर गए परेलीहरुमा
तर प्रश्न गरेनन् कहिल्यै
रहरहरु बोकेर डुलिरहेका आँखाहरुको बारेमा ।
जिन्दगी बैँशको रुख बनेका बखत पनि
फक्रन दिएनौ तिमीले
रातो गुलाफ मन भरिनेगरी
र त सर्लङ्गै काँडाघारी मात्र बनिरह्यो जुनी ।
तिमीले सुनाएको क्रान्तिको कथामा
खलपात्रहरुको अनुहार भने
कस्तो हुन्छ भनेर
चिनाएनौ कहिल्यै ।
जान्नु छ मलाई
म कुन वर्गमा पर्छु आज ?
सपना बनेर उदाउने जुन
कुन पथ भएर अस्ताउँछ ?
खोलाहरु क्रान्तिकारी हुन् / होइनन् ?
पहाडहरु यथास्थितिवादी नै हुन् त ?
हावा वेगले बहेको / छिचोलेको
अग्रगामी छलाङ मारेको हो / होइन ?
आदि इत्यादि ।
अझ महत्त्वपूर्ण
यो शरीरभित्र अड्किएको गोलीले
किन ऐठन पारिरहन्छ ?
किन बिथोलिरहन्छ
तिमीले फुलाइदिएको सपनालाई बारम्बार ?
मगजमा डुब्दै तैरिँदै गर्ने तिमीलाई
मेरो अन्तिम प्रश्न
तिम्रो बुझाइमा अब म सर्वहारा रहे कि ?
मेरो सोँच सामन्तवादी ?
(मोरङ)