मैले पढाउने विद्यालयको नजिकै एउटा मन्दिर थियो । मन्दिरमा एकजना जोगी बस्थे । उनलाई सबैले `महाराज´ भन्ने गर्थे ।
धर्म, सँस्कृति र राजनीतिका विषयमा उनका आफ्नै तर्क थिए । अरूका कुरा खासै सुन्दैनथे । आफ्ना कुरा निर्धक्क सुनाउँथे ।
सकृय राजतन्त्रको समय थियो । राजाको विषयमा उनको आफ्नै धारणा थियो । भन्नें गर्थे, `राजा भनेको म जस्तो हुनुपर्छ । जोगीजस्तो । आफ्नो केही सम्पत्ति नभएको । जनताले दिए खाने, नत्र नखाने । सम्पत्ति कमाउने, मोज गर्ने पनि कहीँ राजा हुन्छ ? यस्तो पनि राजा हुन्छ ?´
उनी कहिल्यै माग्न भनेर गाउँ जादैनथे । मन्दिरमा आउने मानिसले ल्याइदिएको खानेकुरा खान्थे । कति दिन त भोकै पनि बस्थे ।
एक साँझ उनको कुटीमा गफ गर्न गएको थिएँ । साँझको पूजा गर्ने समय भएपछि उनले मलाई भने, `ल मास्टर, जा अब । मैले पूजा गर्ने समय भयो ।´
`ओ महाराज ! तपाईंलाई कस्तो लाग्छ, के मन्दिरमा साँच्चीकै देउता छन् ?´ मेरो मुखबाट प्रश्न निस्कियो ।
उनी एकछिन चुप लागे, सोचेझैं गरे, दारीजुँगा मुसारे र फिस्स हाँस्दै भने, `हेर मास्टर, सबैले आफ्नो काम गर्ने हो । तैंले तेरो काम गर्ने हो, मैले मेरो काम । मेरो देउता यहि मन्दिरमा छ र तेरो देउता त्यो स्कुलमा छ ।´