काठमाडौं ।
त्रिशूली वाङ्मय प्रतिष्ठानले जुम प्रविधिको माध्यमबाट ‘कोरोना र कविता’ विशेष भर्चुअल कवि गोष्ठी सम्पन्न गरेको छ । कविगोष्ठी स्वदेश र विदेशमा रहेका नुवाकोटेली स्रष्टाहरुबो बिचमा भएको हो ।
विश्वव्यापी महामारी बनेको कोभिड–१९ को असरका कारण सूचना र सञ्चारको उपयोगका माध्यमबाट प्रतिष्ठानले सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा ईश्वर पौडेल, अस्ट्रेलिया, कृष्ण कुसुम, अमेरिका, गीता पुडासैनी, नुवाकोट, जानुका दहाल, नुवाकोट, प्रकाश अजात, युएई, प्रकाश पाण्डे, अमेरिका, मोदनाथ सादा, अमेरिका, राजकुमार अर्याल पुत्ला, नुवाकोट, राजकुमार पुडासैनी, बेलायत, राजिन्द्र फुँयाल, कोरिया, राजु पुडासैनी, भारत, रुपा थापा, नुवाकोट, विक्रम तिमिल्सिना, अस्ट्रेलिया, सजिना मोक्तान जापान, सुमित्रा सुमी, नुवाकोटले रचना वाचन गर्नु भएको कार्यक्रममा गायक पुस्कल किरणले राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘वैशाख’ कविता वाचन गरेका कार्यक्रमको शुरुवात गरेका थिए ।
प्रमुख अतिथि तथा प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं महाकाव्यकार श्रीहरि फुयाँलले महामारीका समयमा विश्वभूमण्डलीकरणको सहायतामा काठमाडौं, नुवाकोट, अमेरिका, अष्ट्रेलिया, जापानलगायत मुलुकमा रहेका कविहरुका कविता प्रस्तुतीले एक प्रकारको न्यास्रो मेटाएको बताए ।
संस्थाका अध्यक्ष एवम् कवि आरएम डङ्गोलले पर्यटनकालागि साहित्य भन्ने मूल नाराका साथ २०६६ सालमा स्थापना भएको प्रतिष्ठानले साहित्यिक यात्रा र गतिविधि गर्दै आएको र साहित्य, पर्यटन र समृद्धिलाई जोड्ने गरेको उल्लेख गर्दै देश विदेशमा रहेका नुवाकोटेली साहित्यकारहरुलाई समेटेर अनलाइन मार्फत भर्चुअल कवि गोष्ठी गरिएको बताउनु भयो ।
यो हामीले सुरुवात गरेका छौँ । नुवाकोटेली साहित्यकारहरुबाटै सुरु गर्नुको कारण प्रस्ट्याउँदै प्रतिष्ठानका सदस्य एवम् नाटककार पुरु लम्सालले भन्नु भयो, त्रिशूली वाङ्मय प्रतिष्ठान मूलतः नुवाकोटेली साहित्यकारहरुको संस्था हो । हामीले पहिलोपटक छरिएर रहेका नुवाकोटेली स्रष्ठाहरुलाई एकठाउँमा उभ्याउने प्रयास गरेका हौँ ।
प्रतिष्ठानले हरेक बर्ष घटस्थापनाको दिन शारदीय कविता उत्सव गर्दै आइरहेको जानकारी दिँदै प्रतिष्ठानका उपाध्यक्ष एवम् नियात्राकार राजेन्द्रमान डङ्गोलका अनुसार, यो विषम परिस्थितिमा विश्वका बिभिन्न देशमा रहेर सिर्जना गरिरहेका नुवाकोटेली सर्जकहरुलाइ प्रविधी मार्फत जोड््ने प्रयास सफल बएको बताउँदै सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो ।
भर्चुअल कवि गोष्ठीमा नुवाकोटमा जन्मेर देश तथा विदेशमा रहेका सर्जकहरुले कोरोनको कहरमा आफूले भोगेको अनुभूति र आफ्ना सिर्जनाहरु प्रस्तुत गरेका थिए । प्रतिष्ठानले हरेक बर्ष बिभिन्न संध संस्थाहरुसँगको सहकार्यमा साहित्य यात्राहरु सञ्चालन गर्दै आइ रहेकोछ भने बिभिन्न किसिमका साहित्यिक गतिविधीहरु पनि गर्दै आइरहेको छ भने अर्धवार्षिक रुपमा साहित्यिक पत्रिका त्रिशूली त्रिवेणी प्रकाशन पनि गर्दै आइरहेको छ । सम्पूर्ण कार्यकमको रेडियो चिम्टेश्वर ९०.९ मेघाहर्जले प्रत्यक्ष प्रशारण भएको थियो ।