पोखराबाट लगातार चार दिन हिँडेर बुटबल आइपुगेका थिए उनीहरू ।
कोरोना महामारी रोगका कारण लकडाउन भएको तेस्रो हप्ता थियो यो । घामपानी, गर्मीजाडो, भोकप्यास, दिनरात केही नभनी हिँड्न बिवश थिए ती परिवार । दलबहादुर, आफ्नी श्रीमति, तीन वर्षकी सानी छोरी र सात वर्षे छोरो उसको परिवारदल भन्नु नै यति थियो । काम गर्न नपाएपछि खान पाएनन् । खानै नपाएपछि बास छाडेर जन्मठाउँको लागि हिँड्नु भन्दा अर्को बिकल्प थिएन दलबहादुरको दललाई । नागरिकता नभएको कारण सरकारले बितरण गरेको राहत पनि पाएनन् । वडा कार्यालयमा थुपारिएको खाद्यान्न भन्डारण, उसकै आखाँ सामुन्ने बितरण भइरहेको नुनतेल, चामलदाल । नाउँ बोलाइरहेछन्, मान्छेहरूनामोच्चारणसँगै उभिरहेछन्, राहत थापिरहेछन् । थुक निल्दै निन्याउरो अनुहारबाट भोक पोख्दै दलबहादरले हेरिरहे । सबैको पालो आयो उसको नाम आएन । निराश भएर मुख खोले, “मैले नि पा‘नु परो हजुर, केटाकेटी भोको छन् ।”
“पहिला फारम भर्नुप¥यो ।” पदाधिकारीको जवाफ थियो ।
फारम भर्ने ठाउँमा नाम टिपाए । टोल बिकास सँस्थाको सिफारिस मागियो । घरबेटीको नाउँ र मोबाइल नम्बर मागियो । सबै बुझाए । नागरिकता मागियो । दलबहादुरले भने, “छैन हजुर ।”
“त्यसो भए पछि भर्ने ।”
रासन सकियो । त्यो ‘पछि’ भनिएको समय ‘अघि’ कहिल्यै आएन ।
सरकारले लकडाउन गरेको पहिलो हप्ताको कुरा हो । बजार पुरै लक थियो । ग्याँस सिद्धिएर दलबहादुरको चुलो पनि लक भयो । दुई छाक त दाउरा ठुटाठुटी बटुलेर हात मुख जोडे । तेस्रो छाक पाक्नै लाग्दा घरमालिकले कालो हुन्छ भनेर पकाउनै दिएन । जसोतसो फोनको भरमा रितो ग्याँस सिलिण्डर बोकेर रानीपौवा चोकनेर भर्खर पाइला मात्र के टेकेका थिए, भ्यानबाट पुलिस ओर्लिए । बिच्केका अरिँगाल जस्तै जंगिएका पुलिसले मान्छेहरूका पिँडुलामा लट्ठीको स्वाँठ बजाउन थाले । सिलिण्डर बोकेका दलबहादुर केही तलसम्म त पुगे । सिट्ठी फुक्दै एक प्रहरी अपराधी समाएझैँ गरी उसलाई पनि एक स्वाँठ डण्डा दिइहाल्यो । उसको काँधबाट सिलिण्डर छुटेर भुइँमा जोडले बज्रियो, मानौँ कि त्यही आवाजले नै उसको दर्द ओकल्यो । दलबहादुरले बिन्ति ग¥यो, “हजुर ग्याँस सक्कि…।” उसको वाक्य पुरा भएन ।
“स्साले लकडाउन भनेर थाहा छैन ?” पुलिस जंगियो, “पहिला कता मरेथिस ?”
“क्यार‘म तो हजुर, समस्या परो ।”
“सिलिण्डर काँधमा बोक ।” लट्ठी उज्याउँदै पुलिस गर्जियो ।
“हजुर सर म फर्कन्छु बरु ।”
“मैले तँलाई फर्कने भनेँ र ? छिटो उठाउँछस् कि फेरि….।”
बिचरा दलबहादुर सताको अगाडि झुक्नै प¥यो । आदेश मान्नै पर्ने ।
“अब घुँडा टेकेर हिँड ।”
दलबहादुरले एकपटक अलकत्रा सडकलाई हे¥यो, फेरि पुलिसलाई पुलुक्क हे¥यो, याचनाको भावमा ।
“छिटो हिँड् ।” बन्दुके शैलीमा खरो आदेश आयो ।
झाङ्गे लगाएका थिए । एक फड्को नाङ्गो घुँडा अलकत्रामाथि टेकेर अगाडि बढ्न खोजे । सकेन, थचक्क भुईँमा बस्यो ।
दलबहादुरमाथि पूनः लाट्ठी बज्रिन मात्र के लागेथ्यो । काँधमा दुई तारावाल पुलिस करायो, “ए चन्द्रे पख पख ।”
लट्ठी रोकियो । दलबहादुर थरथर काँप्दै काँधको सिलिण्डर समाएको समायै भयो । उसलाई लाग्यो, पुलिसहरूको पनि अझ त्यो पुलिसले झापडै मार्छ होला । तर सोँचाइ बिपरीत भयो । दुई तारावाल त्यो सइसा’पले आफ्नो नैतिक हैसियत कायम ग¥यो । नरम स्वरमा बोल्यो, “हेर्नुस, यो महामारीको बेला कमसेकम भित्र बसिदिनुस् । यो तपाई र तपाईको समुदायकै लागि हो ।”
“क्या गरम् सर रोगको त्रास भन्दा भोगको चाप छ ।” दलबहादुरले मलिन अनुहार झुकायो । तारावाल पुलिसले समस्या समाधानबारे के के भनेर सुझायो । उसको नम्बर टिपायो, दलबहादुरको पनि लग्यो । ठेगाना टिप्यो र नम्रतापूर्वक बोल्यो, “अब तपाई फर्कनुस, वडाका पदाधिकारीहरू तपाईकहाँ आउँछन्, जे जे भन्नु छ सब भन्नुस है । ल जानुस् ।”
“हवस हजुर ।”
दलबहादुरले बुझे, ‘यो लकडावन र कफ्र्यु भनेको एकै पो हो कि ।’ सोँच्यो, केही होला अब ता ।
यो घटनाको चौँथो दिन । टोलका अरु मान्छे गएको देखेर दलबहादुरकी श्रीमति सब्जी किन्न निस्किइन् । शितलादेवी चोकमा केही पुलिस उभिएको देखेर सबै फर्किए । हस्याङ् फस्याङ् गर्दै भित्रिइन् र बुढोलाई सब कुरा सुनाउन भ्याइन् ।
“अब जाउलो पकाएर खाने ।” दुबैको निक्र्यौल थियो ।
अरु दिन पनि बिते । सडकमा त निस्कनै भएन । सब पसल बन्द छन् । मान्छेहरू सामाजिक दुरी भन्दै एकले अर्कोलाई राम्ररी बोलाउन पनि छाडे । मानौँ कि उनीहरू असम्बन्धित र फरक जातका पशु हुन् । कहिलेकाहीँ मान्छे आफूलाई आपत बिपद नपरेसम्म मानवता पनि कुल्चन्छ, अरु पनि मानव भन्ने कुरो भुल्छ । हो, यस सङ्गिनमय समयमा यस्तै भएको थियो कोरोना आतंक, औधी आतंक, अधिभूत बुझाई । ठेकेदारको मोबाइल पनि अफ थियो । ‘पछि भर्ने’ भनेका पावरवाला अधिकारीहरू दलबहादुरको फारम भर्ने त कता हो कता कोठामा एक झुलुक समेत देखिएनन् । न कोही वडाका पदाधिकारीहरू समस्या बुझ्न आए न पुलिस अफिसर नै । सरकारले करडौँ राहत बाँडेको समाचार रेडियोमा बजिरह्यो । दलबहादुर र उसका परिवारका पेटमा मुसा डौडिरह्यो । अमुक वडाका अमुक मान्छेले आफन्तहरूलाई घरमै राहत लगिदिएको गुनासो पनि सुनियो । दलबहादुरको कोही त्यस्तो आफ्ना मान्छे थिएनन्, त्यो बिरानो ठाउँमा । अमुक जनप्रतिनिधिले राहतका सामान घरमा लुकाएको, लक्षित वर्गभन्दा हुनेखानेकै पोल्टामा राहत पुगेको, बङ्गलावाला साहुहरूले पनि सुकुम्वासी र बिपन्नको नाउँमा फारम भरेर राहत कुम्ल्याएको आदि आदि कुराहरूपनि रेडियोमा बज्यो ।
“असत्तीहरू ! यो सरकार गरीवहरुको लागि त हुँदै भएन, धनि मान्छेहरूत यसै पनि कागज मिलाई खाने न हुन ।” दलबहादुर एक्लै मुर्मुरिन्थ्यो ।
बुवा आमा त समस्या सम्झेरै मन बुझाए । केही दिन त आधा पेट खाई बिताए । केटाकेटी मन बुझाउन त गाह्रो थियो । उनीहरुलाई त सिर्फ पेटभरि खान चाहियो । अभावसँग अपरिचित थिए बालमन । “भात चाइयो । कुरमुरे, चिज्वल, चाउचाउ, बिस्कुट ।” के के हो के के । केटाकेटी मन हो जतिखेर भोक लाग्यो उतिखेरै कराउन थाल्थे, “मम्मी माम खै ?”
श्रीमतिले बालबच्चाका भोकमा उभिएको अबोधपनालाई के के भनी टारिदिन्थिन् । आफ्ना सन्ततिका आँशु कुन बुवाआमाले पो सहन सक्छन् र ?उनीहरू भरथेगका अनेक उपाय अपनाए । केही भएन, पुगेन । यो मतलबी सहरसँग पराजित भए ।
मर्नुभन्दा बहुलाउनु जाति । रोगब्याधीको सन्त्रासभन्दा भोकको चाप पेचिलो । जे त होला होला भनेर गुन्टा बोकी रातको विहानी प्रहरमा एकेक बच्चा काखमा च्यापेर पोखराबाट निस्के उनीहरू । उज्यालो नपोखिँदै बजारको घेरा कातेर घरको बाटो सोझाए । केही चामल पोका, चाउचाउ, बिस्कुट र तीतो भइसकेको चिउरा खाजा थियो झोलामा । न खानाको ठेकान, न बासको । एकसुरे भएर लागे बाटै बाटो ।
करिब एघार बजे स्याङ्जा सिमाना पुगे ।
चर्को थियो घाम । चाउचाउ पानीसँग मुखमै भिजाएर खाए । केही दिन अघिदेखिको आधी पेट । काम नगरीकन अथवा बाहिर डुल्न नपाएर कुञ्जिएको ज्यान । तिघ्रा काँप्यो, आँत थर्थरायो । गर्धन दुख्यो । सास बढ्यो । पसिनाले निथ्रुक्क भिजेको ज्यानबाट वाफ उड्न थाल्यो । ठुलो छोरा जसोतसो हिँड्दै थियो । सानी छोरीलाई बूढाबूढीले पालो लगाई बोकिरहेका हुन्थे ।
पुलिसचौकी आइपुग्यो । दलबहादुरको मन सिरिङ्ग भयो । रानीपौवाचोकको घटना उभियो आँखामा । ‘बिताउने भए फेरि’ दलबहादुर बोले मनमनै । केरकार गरियो । आफ्ना सबै समस्या दर्शाए । बूढाबूढीले हात जोडे, “घर जान पाउनु परो सर, समस्या परो हजुर ।”
बाघको अधिनमा परेका मृगजस्तै निरीह र दयालाग्दो अनुहार थियो दलबहादुर र उसको श्रीमतिको । केटाकेटीले घरि बाउआमाका त घरि पुलिसका अनुहार हेर्थे । पुलिसचौकीले पेटभरि खाना दियो । दलबहादुर र उसको परिवार निकै अनुगृहित बन्यो । आल्हादित बनेर केही दिन पहिले पोखरामा खाएको डण्डा पनि सामान्यझैँ लाग्यो । काँधमा ग्याँस सिलिण्डर बोकेर खाली घुँडा अलकत्रामा टेक्नु पर्दाको पीडा पनि सामान्य जस्तो लाग्यो । मनमनै आफैलाई सम्झाए, ‘सरकारका नुनपानी खाने डण्ठेहरूपनि सबै एकनासको नहुँदा रैछन् । धन्न्य पुलिस !’
पुलिसचौकी इन्चार्जले लकडाउन र यसको असरबारे धेरै सम्झायो । सरकारले यसो गर्नाका कारणबारे दलबहादुरले बुझिने भाषामा ब्याख्या ग¥यो । “जो जहाँ छ त्यहीँ बस्ने ।” सरकारको आदेश थियो । यसबारे पनि इन्चार्जले अबुझ बिद्यार्थीलाई मास्टरले पढाएझै धेरै ब्याख्या ग¥यो ।
“माटो खाएर बस्ने ? सरकारले सहज रासन बितरण गरिदिएको भए यस्तो दुःख पाउने मन कसलाई पो होला र ?” मुखैमा आएको यो कुरा दलबहादुरले भनेन । मनमै राख्यो । बरु स्वाभाबिक कुरो पोख्यो, “नागरिकता नभइकन राहत नि पाइनम् क्यार‘रम् तो ।”
घरमै रहनुपर्ने नियमबारे इन्चार्जले के के हो धेरै फट्फटायो । न पुलिसचौकीले सदाको लागि पेटभरि खाइवरि बस्ने ब्यवस्था गर्न सक्थ्यो, न कोही जनप्रतिनिधिले, न त सरकारका कुनै पदाधिकारीले नै । कतै नहिँड्ने नियमले मात्र भोको पेट भरिने हैन, तथापि उनीहरुलाई नहिँड्न सुझाइरहे । परन्तु दलबहादुरको सामु पैदलयात्रा तय गर्नुभन्दा अर्को उतम बिकल्प केही थिएन ।लमटन्न सुतेको सडक उसका पाइला चुम्ने उदवेगमा बसेझैँ लाग्यो उसलाई ।
पुतलीबजार, वालिङ, गल्याङ, राम्दीपुल, आर्यभञ्ज्याङ, तानसेन, डुम्रे, झुम्सा हुँदै चार दिनरात लगातार हिँडेर दलबहादुर बुट्वल आइपुगेको थियो, उसको परिवारदल सहित ।
दिनभर हिँड्थे । जहाँ अँध्यारो पथ्र्यो त्यहीँ बास बस्थे । थकाई लागेपछि सडक किनाराका ढुङ्गा पनि मुलायम र न्यानो ओछ्यान बन्दो रहेछ । कहीँ प्रतिक्षालयमा आँखा चिम्ले । कहीँ ठूलो रुखको ओटमा त कहीँ ठूल्ठूला चट्टानमुनिको ओडारमा सुस्ताए । जतिखेर आँखा खुल्छ त्यसैबेलादेखि निदाएका बालबच्चा काखमा च्यापेर राती नै हिँड्थे । हिँड्दाहिँड्दा थकाई मार्थे । त्यहीँ एक निद घुर्थे, चुक पोखिएजस्तो रातको अँगालोमा । चिसोले ज्यानमा डामेपछि आँखा खुल्थे, पूनः सडकमाथि पाइला चाल्थे । होटल या नास्ता पसल कहीँ पनि खुल्ला थिएन । यदाकदा साना किराना पसल भेटिन्थे । चाउचाउ र बिस्कुट किन्थे । कुकुरलाई हड्डी फालिदिएझैँ परैबाट हु¥र्याइदिन्थे । रुपियाँ भुइमै राख भन्थे । चर्को घाममा छायाँ बस्न घरको सिडी समेत छुन दिन्नथे । खाना र नास्ताको त कुरै छाडौँ, प्यासमा पानी समेत दिन डराउँथे मान्छेहरू । घरवालाहरू भन्थे, “ए, नबस जाऊ जाऊ, रोग सल्किन्छ ।”
उफ ! आपतको बेला मानवीयता पनि हार्दोरहेछ । सम्झेर दलबहादुरको मन अमिलो भएर बटारिन्थ्यो । मुखको मास्क निकालेर पसिना र आँशु एकैसाथ पुछेर अघि बढ्थे । यसबीचमा घरहरूत जंगल जस्ता पो लागे । बरु बनका ढुङ्गा र जंगलका रुखहरूनै आरामदायी कोठा जस्तै बने । दलबहादुरले मनमनै आफैलाई धिक्कार्छ, “स्साला गरीवको जिन्दगी ।”
“कहाँ जाने ?”
“कहाँबाट आएको ?”
उपेक्षा र हेयमिश्रित यो प्रश्नको उतर दिँदा दिँदै आफै प्रश्न जस्ता बनेका थिए दलबहादुर र उसको परिवारका भयग्रस्त र थकित अनुहार । पोखरादेखि हिँडेयता बुट्वलसम्म आइपुग्दा कम्तीमा पनि हजार पटक भन्दा बढी रेडिमेट् एउटै उतर दिएर हलाक परेका थिए । मान्छेहरुमा सदभाव र सदासयता लकडाउनको जंजीरसित कतै बाँधिएको थियो । अथवा मानवीयता सन्त्रासको कुहिरोभित्र कतै रुमल्लिएको थियो ।
पसिनाले निथ्रुक्कै भिजेको हुन्थ्यो शरिर । शरिरमा मैला र पसिनाको अमिलो गन्ध हुन्थ्यो । दिनरातको लगातार हिँडाइले पाइतलामा फोका उठिसकेको थियो । चप्पल फिताले झन आगोले पोलेजस्तै चहराउने घाउ नै पारेर चप्पल लाउनै बनेको होइन । खुट्टाको गोलीगाँठोमुनि सुन्निएर हिँड्नै दिएन । सुन्निएको ठाउँमा रुमालले बाँधेर, चप्पल हातमा उचालेर खोच्याउँदै बल्ल बल्ल यहाँसम्म आइपुगेका थिए । खुट्टाको तड्पन भन्दा झन ठुलो घाउ त मनमा थियो । यो संकटको घडि, मान्छेहरुका उपेक्षा, भोको पेट, गाउँघरको माया, मनमा सुल बनेर बल्झिएको थियो ।
बुट्वल बजार पनि सुनसान थियो, अभावले खाली बनाएको मनको शुन्यता जस्तो । घनावस्ती र भब्य गगनचुम्वी महल छातीमा उभ्याएर बसेको यो सहर पनि एकान्त घनाजंगलझैँ निर्जन र निरस लाग्यो दलबहादुरलाई । रोगी भनेर गरिने तीखा कटाक्ष र आशंका अथवा हेयका दृष्टिले छेडिने डरले उनीहरूतिनाउँ खोलाको किनारै किनार लागेको थिए ।
पुलमुनिको बलौटे बगरमा ज्यानलाई बेप्रवाह हुत्याए । खिन्न भाव । उदास अनुहार । निराश आँखा । हतास मनस्थिति । मानौँ कि भीषण लडाईँको पराजयबाट एक्लै बिरक्तिएर घर सम्झिरहेको कुनै सिपाही हुन उनीहरू । अथवा कुनै बिदेशको मरुभूमिमा कर्महीन र ठेगानाविहीन बनेका कुनै अनागरिकका चिन्ता र अत्यासजस्तो । निशब्द, चुपचाप, बिल्कुलै एकोहोरिएको । यो देशको नागरिक भएर पनि नागरिकता प्रमाणपत्र नभएका अनागरिक दलबहादुर । दैनिक ज्याला मजदुरीमा जीवन अड्याएको दलबहादुर । पसिना बगाउने एक मजदुर दलबहादुर । सिँगो राज्य बेखबर थियो ऊदेखि । उसका अगाडि न भोट माग्न आउने नेताहरूथिए न शासन फलाक्ने प्रशासकहरूनै । न त समृद्धिका उखान टुक्का जोड्ने मन्त्री थिए न त चुनावताका गाडी बुकिङ्ग गरेर आमसभामा आफुहरुलाई उतार्ने कार्यकर्ताहरूनै । सरकार, प्रशासक, पार्टी, संघसंस्था, नेता, कार्यकर्ता सब बेखबर थिए दलबहादरु र उसका परिवारदेखि ।
खुइय लामो सास फे¥यो । असहज मौसम र निराशाको सास । साँझको त्यो समय, एक सर्को हावा छैन । गर्मीको उखरमाउलो बिचित्रैको थियो । आरनको वाफ जस्तो हपहपी । दलबहादुर एकोहोरिएर खोलाको पानी अपलक हेरिरह्यो । बगेको पानी कहरिलो उसको जिन्दगानी । पानीको गतिमा उसको जिन्दगीको परिभाषा खोजेजस्तो । सोँच्यो, ‘यो पानी पैला समुन्द्र पुग्ला कि म घर पैला पुगम्ला ?’
कल कल बग्दो पानी छोराले पिउन आँट्यो ।
“ए फुच्चे, पख पख” छोरोलाई रोक्यो– “इः ला यो, त्यो फोहोर पानी नखा ।”
बाटोमा भेटिएको जरुवाको पानी बोतलमा ल्याएका थिए, त्यही दियो ।
अलिकति श्रीमतिले पिई । छोरोले अलि धेरै घुत्क्यायो । छोरीलाई केही कम हुन गयो । त्यही निहुँमा हातखुट्टा बजार्दै रुन थाली। “पानी । भोक लाग्यो, चाउचाउ ।”
“पर दुकान होला, उतै किन्ने है छोरी ।” आमाको सान्त्वना ।
“नाई, नाई । म ता ऐल्यै खाने हम् ।”
“यसो भन्दैनन् है । ज्ञानी छोरी ! अब परी किनेपछि खान्छिन् हगि ।”
आमाछोरीको अन्त्यहीन सम्वाद । सामुन्ने भुकिरहेको अभाब । कोरोना कहर । सम्झेर दलबहादुको मनभित्र हुण्डरी चल्यो । आँखा चिम्म ग¥यो । आकाशतिर फर्केर परेला उघा¥यो । शुन्य आकाश । शुन्य मन । उस्तै उस्तै भयावह ।
नजर केही तल झा¥यो । देख्यो, गाडीबिनाको भब्य पुलमाथि मान्छेका लर्को थियो । बजारवासी जस्ता थिएनन् तिनीहरू । गुन्टा र पोका पन्टुरा बोकेका थिए, नियालेर हे¥यो, मान्छेहरूसब पश्चिमतिर सोझिएका थिए । महिला, पुरुष, केटाकेटी ।
“ओइ बूढी, ऊ त्यहाँ हेर त ।”
“हँ ! हामी जस्ता दुःखाहारी नै हुन कि क्या हो बूढो ?”
“आज साथी मिल्लान् जस्तो छ ।”
“हिँड, हिँड जाम्, भेट्टाम्, तिनीहरू नि हामीजस्तै पैदलयात्री नै होलान् ।”
“हो त नि, एउटै दुःख, एउटै साथ, एउटै बाटो, एउटै पाइला ।” यति भन्दै उसकी श्रीमतिले रुइरहेकी छोरीलाई काँधमा बोकी ।
दलबहादुर पनि उठ्यो, छोरालाई हातबाट डो¥याउँदै । दुई चार पाइला चाल्ना बितिकै बूढोको अनुहारमा केही खुशीका उज्यालो झुल्कियो । “ल है बुढी अघ्घि जानु पर्छ । अन्नका भुष अघि मान्छेका भुष पछि हुने हैन ।”
“उस, गयो अघि ।” हातको रुमालले बूढाको काँधमा मायालु पाराले छ्याप्प पारेर बोली। “यहाँ मान्छेका खुट्टा दुखेर भुष प¥या थाहा छैन ?”
आफूजस्तै एक हुल मान्छे परको पिपलमुनिको प्रतिक्षालयमा भेटिए । दलबहादुर दललाई खुशीको सीमै रहेन । हराएको बाच्छीले बगाल भेट्दाको उमंग जस्तो ।
“कहाँसम्मन् हजुर ?” दलबहादुर अघि सरे ।
“सल्यान पुग्ने हजुर ।” एक जना बोल्यो । सोध्यो उसले पनि, “तपैहरू नि ?”
“दाङसम्मन् हो ।”
“ए ! साथ पाइने भो उसो भा ।”
एक अर्को बीचको दुरी कायम गरेर दलबहादुर दल पनि पिपलमुनि सुस्तायो । केही कुरा गरे आपसमा । दुःख सुखका, कथा ब्यथा सुनाए एकले अर्कोलाई । आपसमा आ–आफ्ना पीडा सुनाउँदा बाँडिएर हल्का भएजस्तो महसुस पनि गरे ।
शिरको टोपीले अनुहारमा हम्किँदै पहिलो समुहका एक जनाले दुःख फुकायो । बोल्यो, “क्या गर्ने हजुर ? यो गरीबको जुनी, नपाउनु दुःख पाइयो, यसपाली ता । गासबासका ता कुरै नगरम्, पानी सुद्ध पाइएन । क्या भयावह जमाना आया हो ।”
“अनि कहाँदेखि आउनु भो त यहाँहरू ?” दलबहादुरले सोध्यो ।
“हामी ता हजुर नुवाकोटबाट आ‘को” लामो सुस्केरा फाल्दै बोल्यो, “आज ता आठ दिन भैगिम् हनेको । ह्वीँबाट हिनिकन गल्छी भेट्न आयाथिम्, पैदलै पैदल गारीको बाटै बाटो… ह्वाँप्छी एउटा टडक भेटिल्याथिम् । प्रति मान्छा पानसयमा नारानघाट ल्याउने शर्तमा पैसा दिइग्याथिम् । ओस्क्याँमासाला पुलिसले बैरेनीती रोकिल्यो । जाँतीबाट ल्यायो ह्वाँती फर्काइ लैजा पो भन्छ । हाम्ले मानिनम् । के जाति शंक्रामक रोग सारेको अभियोगमा जेल हाल्चु पो भन्छ । हामी रोगी भ्याको क्या प्रमाण ? तै पनि बन्दुकको अघिती डराउनु परिगो । फरक्क फर्काइकन ह्वीँपुराइल्यो बो । पर पर्खिरन्चु भन्ने गारीले नि पैसा खाइदिल्यो । दुई दिन चौकीको चौरमा घाम सेकायो । ह्वाँप्छी हन्या तीन दिन भो आज । कहीँ ता मनवाली संस्थाका मान्छाले भात नि खुवाए । कहीँ दश पन्ध्र किलोमिटरमा पास गराएपछि आज बल्ल ह्याँ…।”
ब्यथा फुकाएपछि लामो सास फेरेर कपाल कन्याउन लाग्यो ।
“रोग भन्दा भोकै ठूलो भैगो । ज्यान नबच्ने देखिगो । अनि त मरे नि आफ्नै सालनाल गाड्या ठाउँमा मरम्ला भनिकन हिँडिम् हामी पनि ।” दलबहादुरले पनि मुख खोल्यो ।
“एस्तो बेलामा ता जहान परिवार र गाउँघरको जाद्रो माया पो लाग्दो रैछ ।” अर्कोले थप्यो ।
“एक पैसाको आशमा अर्काको ठाउँमा अब यत्रै गइन्न ।”
“एक थोपा पसिना पनि आफ्नै कम्डको डल्लान भिजाए ठीक होला ।”
“रुखोसुखो जे भ्या नि आफ्नै चुलोको जाति ।”
केही साथीहरू भने निशब्द थिए, मौन, चुपचाप । कति दुःख पाइयो ? अनुहारको भाव बोलिरहेको थियो । थकित र निन्याउरा चेहरामा मनका वह अटाई नअटाई थियो । दुःखित आँखाबाट शब्द अभिब्यक्त भइरहेको थियो ।
“लौ बाइजाम्, किन भेला भा‘को भनिकन मार्ला बाजेले फेरि ।”
अगुवा अघि लाग्यो । पोका पन्टुरा, गुन्टा झोला, बच्चा बच्ची बोकेका लामो लस्कर उसको पछि लागे । दलबहादुर र उसको परिवार पनि त्यही लाइनमा देखिए ।
“अबको तीन दिनमा घर कसो नपुगिएला ।” दलबहादुरले मनमनै हिसाव ग¥यो ।
(बैशाख, २०७७)