जव रात र दिनको रङ्ग
एउटै एउटै हुन्छ
त्यसपछि खतरा हुन्छ !
जव परेवा र बाज
एउटै भाषा बोल्छन्
त्यसपछि खतरा हुन्छ !
जव राजनीतिक दलहरू
राजनीति गर्न छोड्छन्
र व्यापार गर्न थाल्छन्
जव व्यापारीहरू
व्यापार गर्न छोड्छन्
र राजनीति गर्न थाल्छन्
त्यसपछि खतरा हुन्छ !
जव शासकहरू
भावुक कविता लेख्न थाल्छन्
र पाठकहरू पत्याउन सुरु गर्छन्
त्यसपछि भयानक खतरा हुन्छ !
जव सिंहहरू
हरिणका पाठाहरूलाई चाट्न थाल्छन्
जव गोहीहरू
बलिन्द्र धारा आशु झारेर रुन थाल्छन्
जव सिंहको प्राणी-प्रेमको
उपन्यास रचिन थाल्छ
जव गोहीको करुणाको
कविता रचिन थाल्छ
जव ती रचनाहरू
वर्षकै सर्वोत्कृष्ट सूचीमा छानिन्छन्
सवैभन्दा महङ्गो पुरस्कारको छेउमा पुग्छन्
त्यसपछि सोच्दै नसोचेको खतरा हुन्छ !
आकासले
गुमायो भने निलोपना
ईन्द्रेणी एक रङ्गको लाग्न थाल्यो भने
बतास कुम्भकर्ण निद्रामा सुत्यो भने
धरती बेत बस्यो भने
फूलहरू फुल्न छोडे
र चराहरू चिर्विराउन छोडे भने
सोच्नुहोस ,
खतराले तपाईलाई घेरिसक्यो !
जव खतरनाक कुरा
खतरनाक लाग्न छोड्छ
त्यसपछि डरलाग्दो खतरा हुन्छ !
(२०७७ भदौ)