कति मानिसहरु
खाली अनुहार लिएर हिँडिरहे
कहीँ सुनसानमा
कोही कतै कतै
एक्लै एक्लै हिँडिरहे
कहीँ थुप्रै थुप्रै
मानिसहरुको जमात
अनि त्यही भिडमा
कोही ठूला मान्छेहरु हिँडीरहे
कोही साना मान्छेहरु हिँडिरहे
तर सबै खाली अनुहार लिएर ।
आखिर जिन्दगी हो
भविष्यको अत्तोपत्तो नभएको
त्यही पनि मानिस
धेरै धेरै आशा बोकेर
सोचेर सोधेर आफैले आफैलाई
दिमागले दिमागलाई नै
धेरै धेरै प्रश्नहरूमा रूमलाइदिएर
यत्रतत्र जताततै
खाली अनुहार लिएर हिँडिरहे ।
मानिसको स्वभाव हो
सकेजति कमाइरहने
भेटेजति कुम्लाइरहने
खाने ठाउमा भए खाइरहने
जान पाए गइरहने
त्यै पनि किन हो किन
मनमा शान्ति छ कि छैन
हाँसेजस्तो गरे पनि
सम्झनामा डुबिरहने
चित्त कहिले पनि नबुझ्ने
दुब्ला मोटा आकारका
अग्ला होचा प्रकारका
तिनै मानिसहरू
खाली अनुहार लिएर हिँडिरहे ।
कोही देशमै हिँडिरहे
कोही बिदेशमै हिँडिरहे
आँखामा सपनाहरू खोज्न
मुटुमा मायाहरु सँगाल्न
पसिना रगत बेचेर
मन फुटे आँशु छर्केर
थरिथरिका मानिसहरु
विभिन्न प्रयोजनको लागि
खाली अनुहार लिएर हिँडिरहे ।
(लस एन्जेलस)