१
च्यातिएको खुशीहरू टाल्नु किन पर्यो ?
जिउँदो यो लाशलाई फाल्नु किन पर्यो ?
धनी जस्तो चिन्ता पिर छैन मलाई त
कात्रोभित्र खल्ती मैले हाल्नु किन पर्यो ?
२
साँझ क्षेणिक रंगिएको क्षितिजको लाली जस्तो
शुन्यता छ जिन्दगीमा भित्र सबै खाली जस्तो
भाग्यरुपी कल्पनाको महलभित्र के के होलान्?
भएकोछु मन्दिर सामु घोप्टिएको थाली जस्तो ।
३
सग्लो घर भत्केपछि एकखोर हुन सक्छ
खोर भित्र माउ एक्लै कमजोर हुन सक्छ
कतै टाढा जाँदा खेरि बन्द गर ढोकालाई
छिमेकीका स्यालहरू धेरै चोर हुन सक्छ ।
४
तिमीलाई आफ्नो परिचय चाहिएको छ
उसलाई चैं आत्मनिर्णय चाहिएको छ
देश बलियो हुन्छ भने कुनै आपत्ति छैन
सबैलाई नेपालीको विजय चाहिएको छ ।