विराटनगरस् प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले लामो समयदेखि साहित्य क्षेत्रमा योगदान पुर्याउने आधा दर्जन साहित्यकारलाई पुरस्कृत गरेको छ । वि।सं। २०३९ सालमा जनस्तरबाट स्थापित प्रतिष्ठानले २०७६ साल आषाढ २९ गते परोपकार सामुदायिक भवन विराटनगरमा आयोजना गरेको कार्यक्रममा भाषा, साहित्य, समालोचना र कविता विधामा योगदान पुर्याउने साहित्यकारलाई पुरस्कृत गरेको हो ।
प्रतिष्ठानले प्रतिभा पुरस्कारबाट महाकाव्यकार प्राडा शैलेन्द्रुप्रकाश नेपाल, लीलानाथ–विश्वमञ्जरी बराल प्रतिभा पुरस्कारबाट प्रा। पुरुषोत्तम दाहाल, ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कारबाट साहित्यकार पुण्यप्रसाद खरेल र दीनबन्धु–उषादेवी गोयल प्रतिभा पुरस्कारबाट कवि कृष्ण प्रधानलाई पुरस्कृत गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १ का प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङ, आयोजक संस्थाका अध्यक्ष दधिराज सुवेदीले संयुक्तरूपमा उनीहरूलाई जनही ५० हजार नगद र सम्मानपत्र प्रदान गरेका थिए ।
२१ हजार राशिको विराटलक्ष्मी प्रतिभा पुरस्कारबाट बिष्णु भण्डारीलाई पुरस्कृत गरेको हो ।
त्यस्तै २० हजार राशिको षडानन्द प्रतिभा पुरस्कारबाट कवि निर्मला कोइराला र कथाकार मञ्जु श्रेष्ठलाई संयुक्तरूपमा प्रदान गरियो ।
प्रतिष्ठानले भानुजयन्तीको अवसर पारेर स्रष्टालाई पुरस्कृत गर्दै आएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख तुम्बाहाङले भाषा, साहित्य, कला र संस्कृतिको विकास नभएसम्म मुलुकको समग्र विकास हुन नसक्ने बताए ।
कार्यक्रममा प्राज्ञ विवश पोखरेल, प्राध्यापक कविराज न्यौपाने, कवि गोकुल अधिकारीलगायतले सम्मानित स्रष्टाहरूको व्यक्तित्व तथा कृतित्वबारे चर्चा गरेका थिए ।
जनस्तरबाट २०३९ सालमा स्थापना गरिएको यस प्रतिष्ठानले हालसम्म ७५ जना नेपाली वाङ्मयका विशिष्ट साधकलाई पुरस्कृत गरिसकेको छ । त्यस्तै प्रतिष्ठानले अहिलेसम्म विभिन्न विधाका पाँच दर्जन कृति पनि प्रकाशन गरिसकेको छ ।