त्यहाँ चाकडीबाजहरूको राज थियो । जीएम पद खाली भएको थाहा पाएर आत्माराम पनि लोकल खसीको मासु र भैँसीको घिउ लिएर बोर्डका अध्यक्षलाई भेट्न गयो ।
आत्माराम आउनुको कारण बुझेपछि अनुभवी अध्यक्षले ठाडै भने, ‘त्यो मासु र घिउ लिएर तिमी आफ्नो घर जाऊ र स्वास्नी छोराछोरीलाई खुवाऊ ।’
अलमलमा परेको आत्मारामलाई सम्झाउँदै उनले थपे, ‘म अध्यक्ष हुँदादेखि नै चाकडी गर्न थालेको चण्डीरमणलाई कृपा नगरी तिमीलाई मैले जीएम दिन सक्दिन ।’
कालोनिलो भएको आत्मारामले पनि बुद्धि लगायो र अध्यक्षलाई भन्यो, ‘तपाईँ अध्यक्ष भएर पदबहाली गर्दैका दिनमा मैले गाउँको मह चखाएको होइन ?’
आत्मारामको कुराले अध्यक्ष अलमलमा परे र आफ्नो सहयोगीलाई निर्देशन दिए कि आत्माराम र चण्डीरमणमा कसले चाकडी गर्न पहिले सुरु गरेको पत्ता लगाउनू । सहयोगीले ती दुईमध्ये कसले पहिलेदेखि चाकडी गर्न सुरु गरेको भनेर प्राप्त प्रमाणका आधारमा तिथि भिडायो । प्रमाण भिडाइसकेपछि उसले भन्यो– ‘तपाईँहरू दुवै जनाभन्दा पनि सिनियर चाकडीबाज नन्दनकुमार भएको खुलासा भयो ।’
अध्यक्षको नियुक्ति हुने अघिल्लै राति नन्दनकुमारले अग्रिम बधाईस्वरूप रेड लेबल खुवाएको प्रमाण फेला परेको स्वकीय सचिवले सुनाएपछि उनीहरू दुवै जना लुत्रुक्क परेर आफ्नो घरतर्फ लागे ।
नन्दनकुमारलाई नियुक्ति दिइसकेपछि अध्यक्षले भने, ‘तिमीले रेड लेबल खुवाएको त मलाई याद नै छैन भन्या ।’
नियुक्ति भइसकेकाले ढुक्क हुँदै नन्दनकुमारले तथ्य खोल्दै भन्यो, ‘आत्माराम र चण्डीरमणमध्ये कसले पहिलेदेखि चाकडी गरेको भनी मिति भिडाउँदै गर्दा मैले हजुरको सहयोगीको गोजीमा पचास रुपैयाँ घुसार्दिएको थिएँ हजुर ।’
अवाक् भएर आफूतिर हेरेका अध्यक्षतर्फ उसले खित्का छोड्दै भन्यो, ‘फेरि नियुक्तिको अघिल्लो रात खुवाइएको जुन रेड लेबलको कुरा छ नि हजुर, त्यो मैले तपाईँलाई नभएर आफूले खाँदाखेरि तपाईंकै सहयोगीलाई एक घुट्को चाख्न दिएको थिएँ ।’