‘नेपालबाट एउटी राम्री केटी आएकी छ यार हाम्रै कलेजमा’ भनेर क्लासरूमतिर लाग्यो गोपाल ।
एक त विदेश त्यसमा पनि म पढ्ने कलेजमा नेपालीहरू कम थिए । सायद त्यसैले पनि होला नेपाली केटी स्टुडेन्टको रूपमा देखा पर्नु ठुलो कुरा हुन गयो हाम्रो लागि । हामीहरू विभिन्न बाहनामा उसको सामु देखा पथ्र्यौं कि हामीलाई बोलाओस् । हामीसँग केही संवाद गरोस् भनेर तर त्यस्तो केही भएन ।
‘जति गरे पनि भाउ नै दिन्नँ त्यसले त । खोई आफूलाई मिस नेपाल नै सम्झेकी छे जस्तो छ’ एक दिन क्लासरूममा गोपालले रिसाउँदै भन्यो ।
‘ठिकै छ नि त तिमीलाई पनि कोही केटी नै नपाएजस्तो मरिहत्ते गर्नुप¥यो त्यही केटीलाई नै ?’ सानो स्वरमा बोल्छु ।
‘त्यही भए पनि आफ्नो देशको चेली फेरि विदेश त्यसमा टोकियोमा नयाँ नै होली । यदि चिनापर्ची गरेमा उसलाई नै फाइदा हुन्छ नि । हामीले सकेको हेल्प गर्न नै थियौँ क्यार, काम खोज्नलाई ।’ ऊ फेरि थप्छ कुरा ।
‘ल ल भयो घाटा उसैलाई हुने हो’, म कुरालाई समाप्तितिर लान्छु ।
फूलहरूको बास्नाले हामी बसेको क्याफ्टेरियामा पुरै सुगन्धित पारिदिएको थियो ।
जातजातका फूलहरू ढकमक्क फुलिरहेका थिए । क्याफ्टेरियामा हामी जस्तै विभिन्न देशहरूबाट आएका स्टुडेन्टहरू आआफ्ना लन्च लिँदै थिए आफ्नै तालमा ।
‘म पनि तपाईंहरूसँग जोइन गर्नसक्छु’ उनी हातमा बर्गरको प्लेट बोकेर उभिराखेको हुन्छिन् ।
‘स्योर, प्लिज बस्नुस् न’ म आग्रह गर्छु ।
हामी केटाहरू शब्दहरूले भन्दा पनि आँखा आँखाको सहायताले एकआपसलाई हेर्न थाल्छौँ । उनी एयरफोनबाट गीत सुन्दै खाजा खाइराख्छिन् ।
‘टोकियो आएको १५ दिन भयो अझै काम पाएको छैन भनेको । तपाईंहरू कसैले स्योखाई (काममा फोर्स लगाउनु) गर्न मदत गरिदिनुहुन्छ कि ?’ मुखमा बर्गर चपाउँदै भन्छिन् ।
कस्ती केटी रहिछे । एक त उनीभन्दा हामी ३ ब्याज सिनियर छौँ । त्यसमा सोझै कामको कुरा । सोमत भन्ने थोप्पो पनि रहेनछ जस्तो लाग्यो । भन्न त केही भनिनँ । उनी आफ्नै तालमा बकबक गरी रही ।
‘लन्च ब्रेक सक्यो, पछि कुरा गरौँ हुन्छ’ भन्दै हामी उनीबाट टाढिन खोज्यौँ ।
हिजोसम्म मेरो मनमा पनि कताकता उनीसँग भेट्ने र बोल्ने चाहना आज आएर समाप्त भयो । ट्रेनमा पनि हामी साथीहरूबीच उनकै कुरा भइराख्यो । सबैले आआफ्ना विचार राखे उनका बारेमा । साथीहरूको विचार र मेरो समेत मिसाउँदा यो निक्र्योल निकालेँ कि उनी चाहिनेभन्दा ज्यादा फरवार्ड खालकी नारी रहिछिन् भन्ने ।
टोकियो जस्तो ठाउँ, त्यसमा काम नगरी बस्नुको पीडा मलाई राम्ररी थाहा थियो । कसैलाई भन्दिएको भरमा काम पाउँछ भने किन नलगाई दिने । कलेज सकिएर सोझै काममा गएँ । अब कसरी हुन्छ उनलाई एउटा काममा लगाइदिन पाए जेहोस् उनको आफ्नो खर्च उनी आफैँले निकाल्थिन् भन्ने सोचिरहेँ । काम सकिएर सोझै तेन्च्यो (मेनेजर) को रूममा गएर उनको बारेमा भनेँ ।
‘हुन्छ पहिला तिम्रो साथीलाई म भेट्छु, अनि मात्र अगाडि के गर्न सकिन्छ गरौँला’ तेन्च्योको कुरा सुनेर खुसी लाग्यो ।
भोलिपल्ट कलेजको लन्च ब्रेकमा उनलाई कुरिराखेँ । सदाझैँ उनी हातमा बर्गर बोकेर आइन् । साधारण नेपाली केटीहरूभन्दा अग्ली, लामा कपाल, ठिक्क मिलेको शरी र लुगा अनुसार मेकअप मैले यो तीन महिनामा याद गरेको कुराहरू ।
‘आज पाँच बजे सिबुयामा मैले काम गर्ने ठाउँमा तिम्रो कामको कुरा गरेको छु । सायद इन्टरभ्यू लिन्छ होला । के आउन सक्छौ ? म पनि त्यही हुन्छु ।’ उसको आँखामा हेर्दै भन्छु ।
‘रियल्ली, थ्यांक यु सो मच’ भन्दै खुसी हुँदा म उनको त्यो हँसिलो अनुहार हेरिरहन्छु ।
‘ज्या सिबुया नि आई मास्यो (सिबुयामा भेटौँला)’ भन्दै म आफ्नो क्लासरूमतिर लाग्छु ।
दिनमा उनी र म नौ दश घण्टा सँगै हुन्थ्यौ । हाम्रो कलेज पनि एउटै, काम गर्ने ठाउँ पनि एउटै । थाहा छैन किन एउटा सानो बालकजस्तो उनले जसोजसो भन्दै गइन् म त्यस्तै त्यस्तै गर्दै जान थालिसकेको थिएँ । मैले उनलाई निरूद्देश्य अथवा नचाहेरै आफूमासंक्रमण गराइसकेको थिएँ । म आफूलाई कति कमजोर पाउँथे उनका सामु ।
‘अब हामी अलग अलग बस्दा खर्च मात्र बढ्न जान्छ । त्यसैले सँगै बस्नु फाइदा हुन्छ’ उनले मोबाइल खेलाउँदै भनिरहँदा मनमा चिसो पस्छ मेरो ।
इच्छाशक्तिसँग जुध्दाजुध्दै अशक्त भएर म उनको अगाडि जड भइसकेको थिएँ र उनले मलाई केही नठान्दानठान्दै स्वभाववश मलाई खेलाउन थालिसकेकी थिइन् । अब म म नभएर मात्र उनको पाल्तु कुकुर हुन पुगेको थिएँ ।
त्यो एक रातको गल्तीको कारण आज म उनको पाल्तु कुकुर हुन पुगेको छु । मलाई मनमा डाह हुन्छ । मान्छेको अनुहार हेरेर त्यसको स्वभाव पत्ता लगाउन सक्छु भनेर घमण्ड गर्ने म आज आएर आफैँसँग पराजित भएको छु । निष्पट्ट अन्धकार छ बाहिर । अझ दर्केर बर्सेको पानीले अन्धकारलाई अरू भयावह र कठोर बनाएको छ । यही दर्केर बर्सेको पानीको माझमा गएर चिच्याई चिच्याई रोइदिन्छु ।
‘बाबु आजकल त तिमीले पैसा पठाउँदैनौँ । साँवा त परै जाओस् ब्याज बढेर बराबरी हुन लागिसक्यो । गएको तीन वर्ष बढी हुन लागिसक्यो । अब म के भनूँ । तिमीलाई खाली आमाले पैसा पैसा मात्र भनेको जस्तो लाग्ला । के गरूँ म काम गर्न सक्ने भएको भए तिमीलाई कदापी भन्ने थिइनँ ।’ आमा फोनमा भन्दै गइन् र म सुनिराखेँ । कति बाहना गरूँ यी दुखी आमालाई कि चाँडै पैसा पठाइदिन्छु भनेर । आमा म कसरी भनूँ तिम्रो छोरा अहिले तिम्रो छोरा नभएर कसेको गुलाम हुन पुगेको छ भनेर ।
‘प्लिज मेरो पनि समस्या बुझिदेऊ । आमा एक्लै त्यसमा उमेर पुगिसक्नुभयो । सबैसँग ऋण लिएर म जापान आएको । अरू नदिए तापनि मात्र ऋण चुक्ता गर्ने पैसा त मलाई चलाउन देऊ । मैले दुःखले कमाएको सबै आजसम्म तिमीले प्रयोग गरी त राखेको छौ । अब त साह्रै गाह्रो भइसक्यो रे’ भनेर भन्दा उनीमा केही प्रभाव नै परिराखेको हुँदैन मेरो कुराको ।
‘नेपालमा पनि धेरैको लाइफसँग खेलेर खप्पिस भइसकेको खेलाडी हो रे नि’ भनेर गोपालले भन्दा उल्टै उसलाई गाली गरेको सम्झिन्छु ।
सबैले धेरै नै सम्झाएका थिए । केटी गलत छे । एक पटक फसेपछि खाडलबाट निक्लन समय लाग्छ भनेर तर कति नासमझ थिएँ म । आफ्नो अहिलेको वास्तविकताको परिवेश कति हलुंगो पाउँछु म । यहाँका सतहमा सिर्जिएका रूख, त्यो अग्लो फुजी सान र समुद्र त्यत्तिकै हलुंगा छन् । यहाँ म आफूलाई झिँगाजस्तै हलुको पाइरहेछु ।
मेरी बुढी आमा जीवनभर कमाएर बनाएको सानो घरलाई बन्धकी राखेर कत्रो सपनाका साथ मलाई विदेश पठाएकी । छोराले कमाएर ल्याउँछ, छाराको बिहे गर्दिएर बाँकी जीवन सुखले बिताउँला भनेकी बूढी आमा आज चारैतिर साहुहरूले घर घेरिराखेका होलान् । बिचरी न जवानीमा सुख पाइन् न यो उमेरमा । एकपटक शरीरमा भएका रगतहरू तात्न थाल्छन् । अब अति भयो । कति सहने ?
‘जे हुनु भइसक्यो र त्यो हुनुमा केवल मेरो मात्र गल्ती छैन । हामी दुई बराबरीको जिम्मेवार छौँ । त्यसमा मैले सकेको तिमीलाई गरिसकेँ, अब सक्दिनँ । आजबाट न म तिमीलाई चिन्छु न तिमीले मलाई’ ठुलो स्वर गरेर भनिदिन्छु ।
उनले आफ्नो हातमा खेलाइराखेको मोबाइलबाट भिडियो खोलेर मेरो अगाडि तेर्साउँछिन् । मेरा भएका जोस सबै कुलेलाम ठोक्छन्। म केही बोल्न सक्दिनँ । उनी फेरि आफ्नै तालमा गेम खेल्न सुरू गर्छिन् । मानौँ केही भएको नै छैन ।
मलाई त्यस स्थितिदेखि बान्ता गर्न मन लाग्छ । घृणाले, अपमानले म अचल भइरहेको हुन्छु । दौडेर टे«न स्टेसनमा पुग्छु । टे«नको लिगलाई हेर्छु । अबको पाँच मिनेटमा ट्रेन आउँछ । अब बाँचेर सधैँ यसैको गुलामी गर्नुभन्दा मर्नु नै उत्तम हुन्छ । मनमा हजारौँ कुराहरू खल्न थाल्छ । टाढाबाट टे«न आएको प्रस्टै देखिन थाल्छ ।
र, तुरून्तै कमजोर हुँदै गएका ती दुई आँखा, चाउरी पर्दै गएको गाला, त्यो साना घरमा बसेर आकाशमा उडेका हरेक प्लेनलाई हेर्दै मेरो बाटो कुरिराखेको दृश्य आँखाभरि घुम्न थाल्छन् । म फरक्क फर्कन्छु त्यहाँबाट ।