काठमाडाैं । झन्डै सवा शताब्दीअघि महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मेका थिए, काठमाडौं डिल्लीबजारमा । बुबा तिलमाधवले अंश छुट्याइदिएपछि अलिक तल मैतीदेवीमा उनले ‘कविकुञ्ज’ बनाए । पुरानो इँटाको यही चारतले घरमा देवकोटाले जीवनका अधिकांश समय बिताए ।
उनी घरको दोस्रो तलामा सुत्थे । साहित्यिक सिर्जना लेख्थे । चुरोट तान्दै झ्यालबाट मैतीदेवीको हरियो फाँट हेर्थे । यही ऐतिहासिक घर साहित्यिक संग्रहालय बन्ने प्रक्रियाले फड्को मारेको छ । महाकविको परिवार सदस्यसमेत समेटेर सरकारले बनाएको मुआब्जा निर्धारण समितिले १२ आना क्षेत्रफलमा फैलिएको ‘कविकुञ्ज’को मूल्यांकन ५ करोड १२ लाख गरेको छ ।
बाहिरबाट हेर्दा पुरानो इँटा र काठे झ्यालसहितको चिटिक्क देखिए पनि चार वर्षअघिको भुइँचालोबाट ‘कविकुञ्ज’को भित्री स्वरूप आधा भत्किएको अवस्थामा छ । चारतले कविकुञ्जभित्र नेपाली मौलिकता झल्किने भर्याङहरू छन् । भुइँतलाका दुई कोठा बन्द छन् । अर्को कोठा दोस्रो तला खसेर पुरिएको छ । माइली छोरी अम्बिकादेवीका अनुसार भुइँचालोअघि यहाँ मानिस भाडामा बस्थे ।
देवकोटा सुत्ने कक्ष पनि भुइँचालोले आधा तल खसेको छ ।
देवकोटाले प्रयोग गरेका बेतका केही कुर्सी, दराज र टेबुल असरल्ल छन् । भित्तामा केही तस्बिर फ्रेमिङ गरिएको छ देवकोटाका । त्रिमूर्ति (लेखनाथ पौड्याल, बालकृष्ण सम र देवकोटा) का श्यामश्वेत ऐतिहासिक तस्बिरहरू पनि यहीँ छन् । भारतको गान्धी समाधिस्थलमा फूल चढाइरहेका छन् देवकोटाका तस्बिर पनि देख्न सकिन्छ । सामुन्ने भित्तामा पत्नी मनदेवीसँगै कुम जोडिएको तस्बिर छ । सबैभन्दा माथिल्लो तलाका दलिनहरूपुराना र काला देखिन्छन् । छाना पुरानो जस्ता पाताले छाएको छ । इँटाद्वारा निर्मित भित्तामा माटो लिपिएको देखिन्छ ।
समितिले कविकुञ्जको मूल्य निर्धारण गरी पर्यटन तथा संस्कृति मन्त्रालयलाई ५७ पृष्ठ लामो प्रतिवेदन पठाएको छ । मन्त्रिपरिषद्बाट
पारित भएपछि कविकुञ्ज सरकार मातहतमा आउने छ । यसपछि डीपीआर तयार पारी महाकवि लक्ष्मीप्रसाद देवकोटाकै नामबाट साहित्यिक संग्रहालय बन्ने र यो नेपाल प्रज्ञाप्रतिष्ठानअन्तर्गत रहने प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष महाकवि देवकोटाको ११० औं जन्मजयन्तीका अवसरमा ‘कविकुञ्ज’ किनेर संग्रहालय बनाउने घोषणा गर्दै परिवारसँग संवाद संयोजन गर्न कुलपति उप्रेतीलाई जिम्मेवारी सुम्पेका थिए ।
उनकै पहलमा जग्गा प्राप्ति ऐन २०३४ दफा १३ मा टेकेर काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य संयोजक रहेको मुआब्जा निर्धारण समिति गठन भएपछि आधिकारिक प्रक्रिया अघि बढेको थियो । संस्कृति मन्त्रालय, महाकविका परिवार, मालपोत कार्यालय, नापी र गुठी संस्थानका प्रतिनिधिसमेत सदस्य रहेको समितिले आठ महिना लगाएर मुआब्जा प्रक्रिया टुंग्याएको हो । यसअघिका सरकारले दुई पटक प्रयत्न गरे पनि मुआब्जामै कुरा नमिल्दा त्यसै रोकिएको थियो ।
समितिअन्तर्गत गठित घरजग्गा मूल्यांकन उपसमितिकी संयोजक एवं संस्कृति मन्त्रालयकी शाखा अधिकृत लेखा पनेरु महतका अनुसार ‘कविकुञ्ज’ गुठीको जग्गाअन्तर्गत परेकाले प्रक्रिया मिलाउन समय लागेको हो । ‘महाकविका छोराहरू अमेरिका र अस्ट्रेलियामा रहनुभएको कारण पनि छलफल टुंगिन थप समय लाग्यो,’ उनले भनिन् ।
महाकविले आफ्नै मिहिनेतमा बनाएको ‘कविकुञ्ज’ पशुपति महास्नान गुठीअन्तर्गत पर्छ । दिवंगत हुनुअघि यो जग्गाको भोगचलन अधिकार महाकवि देवकोटाले साइँली छोरी मीरा देवकोटालाई दिएका थिए । ‘उनी दिवंगत भइसकेका कारण सुरुमा त यो जग्गा नजिकका हकदारको नाममा सार्नुपर्यो,’ उनले भनिन्, ‘प्रक्रिया पनि निकै झन्झटिलो रहेछ । वडा कार्यालय, गुठीदेखि मालपोतमा थुप्रै पटक धाउनुपर्यो ।थुप्रै दुःख पाएँ ।’
प्रक्रिया सहज बनाउन अमेरिकामा रहेका महाकविका जेठो छोरा पदमप्रसाद, अस्ट्रेलियामा रहेका कान्छा छोरा दीपकप्रसाद र कविकुञ्जमै बस्दै आएकी माइली छोरी अम्बिकादेवी रिमाल सहयोगी बने । दिवंगत मीराका नामबाट दीपकका नाममा ल्याएपछि मात्रै समितिले मुआब्जा निर्क्योल गरेको हो ।
कविकुञ्जलाई मुलुककै अर्थपूर्ण साहित्यिक संग्रहालय बनाउने उद्देश्य भएकाले मुआब्जा निर्धारणमा कन्ज्युस्याइँ नगरिएको कुलपति उप्रेतीले जनाए । उनका अनुसार सरकारी मूल्य १६ लाख प्रतिआना र चलनचल्तीको मूल्य ३८ लाख प्रतिआना रहेकोमा समितिले भने झन्डै ४२ लाख प्रतिआना दररेट कायम गरी मूल्यांकन गरेको छ । जग्गा गुठीको स्वामित्वमा भएका कारण अहिले तोकिएको ५ करोड १२ लाख रुपैयाँको हिस्सा गुठी संस्थानलाई पनि जाने उनले बताए ।
उप्रेतीका अनुसार मन्त्रिपरिषद्बाट पारित भएपछि साहित्यिक संग्रहालयको डीपीआर बन्नेछ । अहिलेकै कविकुञ्जलाई आधार मानेर नयाँ भवन बन्ने र त्यसको पहिलो तलामा महाकवि देवकोटाको अडियो र भिजुअल सामग्री हुने उनले बताए ।
‘देवकोटाले विभिन्न कार्यक्रम, युनिभर्सिटी, देश/विदेशका साहित्यिक गोष्ठी र सम्मेलनमा दिएका सम्भाषण, साहित्यिक प्रस्तुति लगायतका अडियो भिजुअल सामग्री खोजी गरेर राख्नेछौं,’ उनले भने, ‘ताकि भित्र पस्नेबित्तिकै देवकोटालाई नै भेटेको महसुस हुन सकोस् ।’ उनका अनुसार दोस्रो तलामा देवकोटासँग सम्बन्धित विभिन्न सामग्री हुनेछन् । तेस्रो तलमा पुस्तकालय र चौथोमा सेमिनार हलसहितको देवकोटाकक्ष हुनेछ ।
[फूलमान वलद्वारा तयार पारिएको रिपोर्ट]
(समाचार साभार- कान्तिपुर दैनिक)