मलाई आगोको भर्भर प्रिय लाग्छ अचेल
र समयको असर प्रिय लाग्छ अचेल ।
सहर पसेपछि म मूर्दा भएको छु आमा
बाले बनाएको गाँउको घर प्रिय लाग्छ अचेल ।
आफन्तको मायामा स्वार्थ फुल्न थालेपछि
परायाकै नजर प्रिय लाग्छ अचेल ।
नेपाली नारीको दुर्दशा सुन्नु त पर्दैनथ्यो
वाल्मीकि होइन रत्नाकर प्रिय लाग्छ अचेल ।
कुन हतियार पठायौ पहिलो मुस्कानमा
तिमीसँगको सफर प्रिय लाग्छ अचेल ।