काठमाडौं, भदौ ११, २०७४
मदन पुरस्कार गुठीले २०७३ सालको मदन पुरस्कार सार्वजनिक गरेको छ । गुठीले घनश्याम कँडेलद्वारा रचित खण्डकाव्य ‘धृतराष्ट्र’लाई मदन पुरस्कार र दुर्गा वराल(वात्सायन)लाई जगदम्बा श्री पुरस्कार दिने निर्णय गरेको छ । मदन पुरस्कार गुठीमा दर्ता भएका एक सय पन्चानब्बे कृतिमध्येबाट नौकृति यस अघि नै छनोट गरिसकिएको थियो । सर्टलिस्टमा परेका यिनै कृतिमध्येबाट धृतराष्ट्रलाई पुरस्कृत गरिएको हो । सर्टलिस्टमा परेका अन्य कृति हुन्– गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा, छाउघर, तपन, दोहाको सीधा उडान, प्रतिनायक, म स्त्री अर्थात आइमाई, शुक्रराजको चस्मा र सगरमाथाको गहिराइ ।
समसामयिक विषय र विसंगतिलाई काटूर्न चित्रमा छोटो र प्रभावकारी भाषिक अभिव्यक्तिको प्रयोग गरी समाजमा सचेतना जगाउँदै निरन्तर नेपाली भाषाको सेवा गरेवापत वात्सायनलाई जगदम्बाश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीले जनाएको छ ।
मदन पुरस्कार २०१२ सालमा मदन शमशेरको नाममा र जगदम्बा श्री पुरस्कार २०४७ सालमा रानी जगदम्बाको नाममा स्थापना भएको हो । दुबै पुरस्कारको राशी दुई÷दुई लाख रहेको छ ।