नेपालगञ्ज, माघ ४ ।
प्रगतिशील लेखक सङ्घ केन्द्रीय समिति र प्रलेस बाँके शाखाद्वारा संयुक्त रूपमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
माघ २ गते भव्य समारोहकावीच कार्यक्रमको उद्घाटन गरिएको थियो । उद्घाटन सत्रपछि आख्यान तथा कविता सम्बन्धी विधागत प्रशिक्षण भएको थियो । अर्को दिन बहुभाषिक कवि गोष्ठीपछि प्रशिक्षण कार्यक्रम समापन गरिएको थियो ।
प्रलेसका केन्द्रीय अध्यक्ष अमर गिरीले पानसमा दीप प्रज्वलन गरी प्रशिक्षणको उद्घाटन गरेका थिए । उद्घाटनमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, लेखक, कलाकारको बाक्लो उपस्थिति रहेको थियो । प्रलेसका उपाध्यक्ष हिरामणि दुःखीले प्रशिक्षण कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने वरिष्ठ साहित्यकार सनत कुमार रेग्मी र कवि तथा निवन्धकार भीष्म उप्रेतीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको अन्तिममा प्रलेसका कोषाध्यक्ष विष्णु भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए ।
पहिलो दिन समालोचक डा. धनप्रसाद सुवेदीले आख्यान विधामा प्रशिक्षण दिए भने हिरामणि दुःखी र विष्णु भण्डारीले आख्यान लेखनको आफ्नो अनुभव सुनाए ।
अर्को दिन बिहानैदेखि कविता विधामा प्रशिक्षण सुरु भएको थियो । प्रशिक्षण वरिष्ठ समालोचक प्राडा. ताराकान्त पाण्डेयले दिएका थिए । उनको लामो तर सुरुचिपूर्ण प्रशिक्षणपछि अग्रज कवि पुरुषोत्तम सुवेदी र प्रलेसका सचिवालय सदस्य पुण्य गौतम विश्वासले आफ्नो कविता लेखन अनुभव सुनाएका थिए ।
प्रशिक्षण बडो रोचक थियो । प्रशिक्षक र सर्जकवीच सिद्धान्त पहिले कि सिर्जना पहिले भन्ने कुराले राम्रै स्थान पाएको थियो । एक किसिमको बहसै भएको थियो । पुरुषोत्तम सुवेदी र विष्णु भण्डारीले सर्जकका लागि सिद्धान्तभन्दा सिर्जना नै महत्वपूर्ण हुने तर्क पेश गर्दै थिए भने विद्वान समालोचक ताराकान्त पाण्डेयले सिद्धान्तमाथि जोड दिएका थिए । तर सिर्जन कार्यका लागि दुबै कुरा महत्वपूर्ण हुनेमा भने सबै जना एक मत नै देखिए ।
उद्घाटनदेखि दुबै दिनका प्रशिक्षण प्रलेसका केन्द्रीय सदस्य हरि तिमिल्सिनाले सञ्चालन गरेका थिए भने अध्यक्षता प्रलेस बाँके शाखा अध्यक्ष इन्द्र बहादुर बस्नेतले गरका थिए । दोस्रो दिनको कवि गोष्ठी कवि श्रीधर भण्डारीले सञ्चालन गरे । नेपालगञ्जको WineDine Cottage मा सम्पन्न उक्त कवि गोष्ठीमा वरिष्ठदेखि कनिष्ठसम्म चालिस जना कविले कविता वाचन गरेका थिए ।