कविता लेख्न थालेको तीन दशकको अवधिमा मैले अधिक सामना गरेको प्रश्न हो– कविता किन, कसरी र केका लागि लेख्नुहुन्छ ? अझ यसरी पनि सोधिन्छ– कसरी आकर्षित हुनुभयो लेखनमा ?
मलाई लाग्छ, मान्छेका अप्राप्य अभिरुचि, जीवनका घात अभिघात र समाजको प्रतिच्छया हो कला । सजीव कल्पना, अव्यक्त चाहना र कुण्ठित मनोदशाको सुन्दर चित्र पनि । गोर्कीले ‘मैले लेख्न कसरी सिकेँ’ भन्ने लेखमा हिँजोसम्म पनि आफ्नो लिपी नभएका साइवेरियाका दलदल इलाका, जङ्गल र उराल क्षेत्रमा बस्ने जातिले गीत, कथा र वीरगाथा रची कसरी आफ्नो दारुण नीरस जीवनलाई समृद्ध र सुन्दर बनाउने प्रयास गरे भन्नेबारे उल्लेख गरेका छन् । यसबाट के बुझिन्छ भने कला भनेको अन्तरहृदयको आवाज हो । तत्कालीन समयको सकस, पीडा र जीवन भोगाइको चित्र हो । जर्जर अवस्थाबाट उन्मुक्ति प्राप्त गर्ने र सुन्दर जीवनको कल्पना हो ।
अहिले आएर सम्झन्छु– म पनि वाल्यकालको दारुण र नीरस जीवनबाट उन्मुक्ति पाउने हेतुले अनजानमै कवितातिर लहसिएछु । साँच्चै कहालीलाग्दो थियो जीवन । आर्थिक विपन्नताले सिर्जना गरेको कमजोर सामाजिक सम्बन्धले गर्दा होला, म बढी नै अन्तर्मुखि र डरपोक थिएँ । गाउँका प्रधानपञ्च, जिम्बाल र साहुले गरेको शोषण, अत्याचार र निकृष्ट व्यवहारले मलाई अथाह पीडा दिन्थ्यो । त्यतिमात्रै होइन, तेह्र वर्षकै उमेरमा म भारतमा ‘कान्छा’ बन्न विवश भएँ । यसले पनि मभित्र समाजप्रति घृणा र विद्रोहभाव विकसित भयो । त्यो बेलाको अव्यक्त छटपटीमा दाजुले पढ्ने नेपाली पद्य सङ्ग्रह, पञ्जाबमा रहँदा दाजुले वाराणसीबाट झिकाउनु भएको रामायण र महाभारतले मलाई नयाँ उर्जा दियो । मैले पीडा, दुःख र छटपटीलाई कविता पढेर भुल्ने प्रयत्न गरेँ । पछि स्वदेश फर्किएर विद्यालय पढ्न थालेपछि सायद त्यो कविताप्रतिको मेरो झुकावले नयाँ मोड लियो । विद्यालयको साप्ताहिक कार्यक्रममा हुने कविता गोष्ठीले थप उर्जा थप्यो र म बिस्तारै कविताप्रति आकर्षित भएँ । समाज, इष्टमित्र र आफन्तको हेपाई, भोकमरी र जराजीर्ण जीवन भोग्दै गरेको बेला २०३६ सालको विद्यार्थी आन्दोलन र त्यसपछिको जनमत सङ्ग्रहले गहिरो प्रभाव छोडेर गयो । म विद्यार्थी सङ्गठनको सदस्यता लिएर अनजानमै विद्यार्थी राजनीतिमा होमिएँ । मलाई अनेरास्ववियू भनेको त थाहा थियो तर त्यो कुन राजनीतिक पार्टीसँग आवद्ध छ त्यो भने थाहा थिएन । राजनीतिक उद्देश्यले भन्दा पनि सामाजिक कारणले राजनीतिमा होमिएको थिएँ म । त्यसपछि २०३८ सालमा अनेरास्ववियू छैठौँको राष्ट्रिय सम्मेलनमा काठमाडौं आएँ । काठमाडौं बसाईको क्रममा मैले पशस्तै पुस्तक र साथीहरूको संगत गर्ने मौका पाएँ । यो घटनाले मलाई राजनीति र साहित्यमा अझै दह्रोसँग उभिन बल पु¥यायो । हाइस्कूलमा पढ्दै मैले धार्मिक र लोक साहित्यसँगै गोर्कीको ‘आमा’, पारिजातको ‘अनिदो पहाड सँगै’, इस्मालीको ‘सेतो आतङ्क’, रामचन्द्र भट्टराईको ‘बोई’, मोहनविक्रम सिंहको पेमालामा प्रश्नोत्तर, मोदनाथ प्रश्रितको ‘देवासुर सङ्ग्राम’, मुनामदन, गौरी र सिमानाको दीप जस्ता पुस्तकको सङ्गत गर्न पाएँ ।
०००
मलाई लाग्छ, कलासाहित्यका विधामध्ये सबैभन्दा कठिन विधा हो कविता । मलाई मात्र हैन कविता लेखन ठूला र गनिएका कविलाई पनि कठिन लाग्दो रहेछ । रसियन कवि मायाकोव्स्की ‘कविता सबैभन्दा कठिन चीजमध्ये एक हो’ भन्छन् । इतिहास, राजनीति, समाजशास्त्र, मानवशास्त्र, दर्शनशास्त्र, भूगोल र कलासाहित्यका सबै विधाको साङ्गोपाङ्गो अध्ययनबिना कविता लेखन सफल हुन सक्दैन । गहिरो जीवन दृष्टि र अविच्छिन्न साधना कविताको पहिलो सर्त हो । भावुक र कल्पनाशील हृदयबिनाको प्रतिभा बञ्जर पखेरामा थेक्रिएको विरुवाजस्तो हुन्छ । त्यस्तै समाज र यथार्थप्रतिको आलोचनात्मक चेतबिनाको सिर्जना कोरा भावुकताको सुगा रटाइ हुनजान्छ । सबै मान्छेमा एउटै सोच, दृष्टि, र चाहना हुँदैन । वरिपरिको वातावरण, समाज, उसले प्राप्त गरेको ज्ञान विज्ञान र पारिवारिक उत्प्रेरणाले मान्छेभित्र रहेको प्रच्छन्न प्रतिभा प्रष्फुटन हुन्छ ।
मेरो अनुभवमा यथार्थको सपाट वर्णन वा निराशा, कुण्ठा र आत्मप्रपञ्चना मात्र कविता होइन । कम्तिमा पनि आफूले भोगेका सुख, दुख, हाँसो, आँसु, आशा, निराशा र घातप्रतिघातलाई प्रतिनिधिमूलक ढङ्गले सिर्जनामा उतार्न सकियो भने त्यो रचना पठनीय र सर्वस्वीकार्य हुन्छ । तथापि बडो तन्मनका साथ कविता लेखेर सकिन्छ र सन्तुष्टि पनि प्राप्त हुन्छ । तर केही समयपछि लाग्छ, कवितामा त आफ्नै गन्थन, कुण्ठा र जीवनदशा मात्र पो व्यक्त भएछ । समकालीन यथार्थ र समाजको तत्कालीन अन्तरविरोध कविताको विषयवस्तु हुनुपर्नेमा भावुकतावस अन्तै पो पुगिएछ भन्ने लाग्छ । कविभित्रै समालोचकीय चेत भएन भने पनि कविताले बाटो बिराउँछ । त्यसैले आँसु, रोदन, विलाप र कुण्ठामात्र साहित्य होइन भन्ने कुरालाई ध्यान दिनुपर्छ ।
हुन त कविता तात्कालीन घटना र परिवेशबाट कविमा जागृत हुने संवेदनाको कलात्मक पुनसिर्जन हो । भावना र कल्पनाको सुदूर उडान हो । तर आफूले भोगेको समाज र संवेदनालाई कलामा रूपान्तरण गर्ने क्रममा उसँग सवल र समुन्नत विचारसहितको विश्वदृष्टिकोण भएन भने कवि लरवरिन सक्छ । सही दिशा र उद्देश्यहीन यात्रा जतिसुकै रोमाञ्चक भएपनि त्यसको खासै उपादेयता हुँदैन । फेरि अन्तरवस्तुलाई मात्र ध्यान दिँदा रूपपक्ष कमजोर हुने डर पनि त्यतिकै हुन्छ ।
मलाई लाग्छ, मान्छेमा जसरी प्राणतत्व प्रविष्ट हुन्छ, त्यसरी नै कलामा विचारतत्व समाहित हुन्छ । मान्छेभित्रको चेतनतत्व अनुभूत गर्ने कुुरो हो । दृष्टिपटमा कतै नदेखिइकनै निर्देशित गरेको हुन्छ मान्छेलाई चेतनतत्वले । पानीमा चिनी घोलिएजस्तै घोलिएर आउने हो कलामा विचार ।
०००
प्रायः सुन्ने गरिन्छ कवि लेखक सबैको साझा र मध्यवर्ती हुनुपर्छ । विचार र वादबाट टाढा र स्वतन्त्र बस्नुपर्छ । यो भनाई गलत हो । कुनै पनि लेखक साहित्यकार राजनीतिक पार्टीको सदस्य नहुन सक्छ । कुनै वाद वा विचारको प्रवक्ता नहुन सक्छ तर यसको मतलव ऊ विचारमा स्वतन्त्र हुन्छ भन्ने हैन । सामाजिक प्राणी हुनुको नाताले ऊ कुनै न कुनै विचारको पक्षधर हुनैपर्छ । जसरी नदीको मजधारमा धेरैबेर कुनै पनि मानिस उभिन सक्दैन त्यस्तै हो विचार पनि । विचारहीन र स्वतन्त्र भन्ने पनि एउटा विचार हो । बरु कवि लेखक समाज र सत्ताको स्थायी प्रतिपक्ष हुनुपर्छ । प्रतिपक्षी हुनु भनेको विचारहीन हुनु हैन । विचार नहुनु भनेको चेतनाहीन मानसिकता हो । वैचारिक दृष्टिकोण नै नभएकोले लेखकले लेख्छ के ? त्यसकारण लेखकले समकालीन यथार्थको वस्तुनिष्ठ मूल्याङ्कन गरी सत्यको पक्षमा उभिनै पर्छ । सौन्दर्यचेतना, धर्म, नैतिकता, संस्कृति, विज्ञान र कानूनका साथै राजनीति र दर्शन सामाजिक चेतनाका रूप हुन् । विचारधाराका यिनै रूपहरूको माध्यमबाट समाजिक चेतन प्रतिबिम्बित हुन्छ । समाज र सभ्यताको मापन चेतनाका यिनै रूपबाट गर्न सकिन्छ ।
चालिसको दशकमा प्रतिवद्धता र स्वतन्त्रताको बहस प्रसस्तै भयो । अहिले उपभोक्तावाद र बजारवादको प्रभावले गर्दा कवि कलाकार बहस र तर्कमा भन्दा बजारीया हल्लामा बढी विश्वास गर्छन् । सञ्चार र प्रविधिको विश्वव्यापीकरण र सांस्कृतिक साम्राज्यवादले हाम्रा दिल र दिमागमा दिनदिनै नयाँनयाँ कुरा हाल्दिँदो छ । विचार, राजनीति र इतिहासदेखि युवापुस्तालाई पूरै कटाउने अभियानमा सांस्कृतिक साम्राज्यवाद सफल हुँदै गएको छ । कथित स्वतन्त्रताको नाममा यसले हाम्रो दिमाग भ्रष्ट र त्रस्त पारेको छ । साम्राज्यवादको सांस्कृतिक हतियार उत्तरआधुनिकतावाद र यसले अङ्गिकार गरेका सबैखाले भ्रमविरुद्ध नलडेसम्म हामीले अग्रगामी र प्रगतिशील कला साहित्यको निर्माण गर्न सक्दैनौँ । स्वतन्त्रताको नाममा अराजकता र प्रतिवद्धताको नाममा दास मनोवृत्ति वेठिक हो । वैचारिक अस्पष्टता र दिशाहिनताले साहित्य सिर्जनामा गम्भीर समस्या सिर्जना हुन्छ । अहिलेको मुख्य समस्या भनेको विचारलाई बुझ्ने सवालमा देखिएको अस्पष्टता नै हो ।
सुन्दर समाज निर्माणका लागि नै साहित्यकारले रचना सिर्जना गर्छन् । गर्नुपर्छ । मैले कविता लेख्दा विचारपक्षलाई छोडेको त छैन भनी सतर्क रहने गर्छु । कतिपयले विचार र राजनीतिलाई समान रूपमा बुझ्छन् । त्यसरी बुझ्नेहरूले विचार र राजनीतिलाई गाँजेमाजे बनाउँछन् । राजनीति विचारधाराको एउटा रूप मात्र हो । लेखक राजनीतिक पार्टीको सदस्य होस् वा नहोस् ऊ आफ्नो विचारमा प्रतिवद्ध हुँनैपर्छ । लेखनप्रतिको प्रतिवद्धता अर्को महत्वपूर्ण सर्त हो । लामो समय लेखकहरूबीचमा खासगरी वामपन्थी लेखकहरूमा पार्टी र राजनीतिक प्रतिवद्धतालाई लिएर बहस चल्यो । मेरो धारणा के हो भन्दा विचारप्रतिको प्रतिवद्धता नै महत्वपूर्ण कुरो हो । सायद यही बहसको धङधङीको प्रभाव होला अहिले पनि वामपन्थी पार्टीमा आवद्ध लेखकहरू नेतृत्वको विरोध गर्न दच्किने । हुन त हाम्रो आन्दोलनमा हनुमान चालीसा सुनाउने लेखकको कमी कहिले नै भयो र ! अलिक आलोचना ग¥यो कि हेडक्वाटरमा रिपोर्ट पुगि नै हाल्छ । पद, प्रतिष्ठा र पुरस्कारको लालीपपमा लोभिएपछि कस्को के लाग्दो रहेछ र ? हाम्रा हस्तीहरू बेलाबेलामा डगमगाएको पनि देखिएकै हो । यस्ता लोभी, पापी र भ्रष्टहरूलाई श्रद्धेय भन्ने कि नभन्ने बहस गर्नु पर्ने भएको छ । मैले मेरो विचारमूहका नेता कार्यकर्ताले गरेका कमी कमजोरी र बदमासीलाई आँखा चिम्लिने गरेको छैन । लेखक हुनुको नाताले गर्न पनि हुन्न । क्रान्ति, परिवर्तन र प्रगतिशीलताको नाममा व्यापार गर्ने र गुप्ती बाटोबाट आर्थिक उपार्जन गर्ने ढोँगीहरू यत्रतत्र छन् । मैले ती ढोँगीको नग्नतालाई चित्रण गर्न छोडेको छैन । यसले गर्दा मलाई घाटा पनि पुगेको छ । तर एउटा कविलाई राजनीतिक नाफा घाटाले के नै फरक पार्छ र !
०००
साहित्यको प्रयोजनबारे पनि बहस गर्नु पर्छजस्तो लाग्छ मलाई । रचना गर्दा मलाई डर लागिरहने विषय हो कतै शिल्प र कलाको नाममा प्रयोजनविमूख त भएको छैन ? कतै यो रचनाले आलोचनात्मक यथार्थवादसम्मलाई पनि पक्डिन नसक्ने त हैन ? फेरि हामीहरू प्रतिवद्धताको नाममा जड पनि त भएकै हो । अलिकता आफूले भोगेको दुःख, कष्ट र निराशालाई व्यक्त ग¥यो कि लौ है यो त सकियो भन्दिइहाल्ने चलन छ हामीकहाँ । अझ प्रगतिशील र प्रगतिवादी रचनामा त प्रष्टरूपमै उद्देश्य र आशावाद झल्किनु पर्छ भन्ने धारणा छ । हाम्रा धेरैजसो रचनाको अन्तिममा कित बन्दुक बोकाइएको हुन्छ कि पूर्वमा सुनौला घाम उदायो भन्ने भाव सम्प्रेषण गरिएको हुन्छ । म पनि त्यही स्कुलिङबाट आएकोले होला मेरो पहिलो खण्डकाव्यको अन्तिममा पात्रलाई बन्दुक बोकाएको छु ।
त्यस्तै हामीहरूले सानै रचनामा पनि उठान गरेको विषयको समाधान खोज्ने प्रयत्न गर्छौं । समाधानबिनाको रचना प्रगतिवादी हुनै सक्दैन भन्ने शिक्षाबाट प्रशिक्षित छौँ हामी । यसै कारण प्रगतिशील कविका कविताहरू नारावादी हुन्छन् भन्ने आरोप लाग्छ । हाम्रा पथप्रदर्शक र अग्रजहरूले हामीले प्रगतिवादको नाममा जसरी लेखिरहेका छौँ त्यसरी नै लेखेपछि मात्र त्यो रचना प्रगतिवादी हुन्छ भनेका छैनन् । उनीहरूले प्रतिक्रियावादी सत्ताका पक्षधर वाल्जाकका रचनाको किन प्रशंसा गरेका होलन् ? हामीले सिर्जनामा कलालाई भन्दा प्रयोजनलाई चाहिनेभन्दा बढी महत्व दियौँ कि, सोच्ने बेला आएको छ । ‘म आम रूपमा नै प्रयोजनमुखी काव्यको विरोध कदापि गर्न चाहन्न । दुखान्तक नाटकका जन्मदाता एस्खिलुस र सुखान्तक नाटकका प्रवर्तक आरिस्तोफान दुवै अति प्रयोजनमुखी कवि थिए । दान्ते र सेर्भान्तेस पनि कम प्रयोजनमुखी थिएनन् र शिलेरको कृति ‘विश्वासघात र प्रेम’ को मुख्य विशेषता नै के हो भने त्यो पहिलो जर्मन राजनीतिक प्रयोजनमुखी नाटक थियो । आधुनिक रुसी तथा नर्वेली लेखकहरू, जो उत्कृष्टम उपन्यास लेख्दै छन्, सबै प्रयोजनमुखी लेखक हुन् । तर मलाई लाग्छ, प्रयोजन स्वयम् परिस्थिति र क्रियाबाट उत्पन्न हुनुपर्छ, त्यसमाथि विशेष जोड दिइरहने आवश्यकता छैन र आफूले चित्रण गरेको सामाजिक विवादको ऐतिहासिक समाधानलाई पाठकसमक्ष तयार रूपमा प्रस्तुत गर्ने लेखकको काम होइन ।’(एङगेल्सः माक्र्स एङ्गेल्स साहित्य र कलाः ९२ ःमिन्ना काउत्स्कीको ‘पुरातन र नुतन’ पुस्तकमाथि टिप्पणी गर्दै )
०००
यतिमात्रै होइन, अहिले समाजवादी यथार्थवादलाई बुझ्ने र लागु गर्ने सवालमा पनि अस्पष्टता देखिएको छ । समाजवादी यथार्थवाद भनेको माक्र्सवादी विश्वदृष्टिकोणमा आधारित सिर्जन विधि हो । विसौँ शताब्दीको तिसको दशकमा रसियन लेखकहरूले प्रचलनमा ल्याएको यो धारा कला साहित्यको क्षेत्रमा अहिलेसम्म प्रचलनमा आएकामध्ये सबैभन्दा नवीन र वैज्ञानिक धारा हो । यसले कला साहित्यलाई आलोचनात्मक यथार्थवादभन्दा एककदम अगाडि बढायो । मात्र समकालीन यथार्थको आलोचना गरेर हुँदैन, त्यसबाट उन्मुक्तिको मार्गनिर्देश गर्नु आवश्यक छ भन्ने यसको मूल आशय हो । यसले भविष्यप्रतिको आशा र सुन्दर जीवनका लागि लेखिने साहित्यलाई प्रोत्साहन ग¥यो । तर तत्कालीन रुसको सापेक्षतामा विकास भएको यो धारालई आजपर्यन्त धर्मशास्त्रकै रूपमा अङ्गिकार गर्दै आउनु ठिक हो त ? मालेमावादको विकास, प्रयोग र रक्षाका लागि समयसापेक्ष पविर्तन गर्नुपर्ने आवश्यकतावोध र बहस भइरहेको बेलामा समाजवादी यथार्थवादका सवालमा पनि बहस गरिनुपर्छ । प्रगतिशीलतालाई साँघुरो दायरामा कैद गर्नु अर्को समस्या हो । के अहिलेको साम्राज्यवादसँगको लडाईं ढोकाबन्धनीतिले जित्न सकिन्छ ? अब गम्भिर बहसको समय आइसकेको छ । हाम्रा कला सिर्जना पनि यसतर्फ उन्मुख नभइ प्रतिध्रुवीय हस्तक्षेपलाई परास्त गर्न सकिदैन ।
त्यस्तै अर्को बहस हो, सिर्जनात्मक क्रमभङ्गताको । अर्थात पुरानै पदचाप पछ्याउने कि नयाँ निर्माण गर्ने ? विषयगत र शैलीगत नवीनता भएन भने कलासाहित्य प्रभावकारी हुन्न । शैली सामाजिक, ऐतिहासिक र तत्कालीन उत्पादन सम्बन्धको आधारमा निर्माण हुने हो । साथै सिर्जनात्मक प्रयोग र खोजले पनि शैली निर्माणमा सहयोग पु¥याउँछ । शैली निर्माणमा लेखकको अनुभव, अध्ययनको सीमा, शब्दभण्डारले पनि प्रभाव पार्छ । त्यो बाहेक ऊ भाषासित कसरी खेल्नसक्छ भन्ने कुराले पनि शैलीनिर्माणमा असर पु¥याउँछ । कसैले बचाउ अभियान चलाए पनि पुराना संरचना, शिद्धान्त र शैली भत्किन्छन् नै । तर यसका लागि लेखक साहित्यकार सजक र प्रयत्नशील हुनैपर्छ । भ्लादिमिर मायाकोव्स्कीले नवीनता र शास्त्रीयताबारे भन्छन्– ‘नयाँ भाषालाई तत्काल नागरिकताको अधिकार प्रदान गर्नोस्, लयपूर्ण गानको सट्टा चीत्कार, लोरीको सट्टा नगराको गर्जन ।’ (मायाकोव्स्कीः पूर्ववत् ११६) उनले क्रान्तिको गर्जनलाई छन्दमा बाँध्नु निरर्थक हुन्छ भनेका छन् । यसको अर्थ के कवितामा लय विधान नै चाहिँदैन भनेको हो त ? प्राय छन्दवादी कविहरू गद्य कविताको कुरा गर्दा लयविहीन कविता पनि कहीँ कविता हुन्छ र भनेर आधुनिक गद्य कवितालाई अवमूल्यन गर्छन् । तर नियम, सङ्गति र छन्द विधानको विकल्पमा गद्य लेख्नु भनेको लय विधान बहिष्कार गर्नु होइन । अरूले प्रयोग गरेका छन्द र लयको सट्टा विद्युतीय र चुम्बकीय झट्का दिने खालका लयविधानको खोजी र प्रयोगलाई भ्लादिमिर मायाकोव्स्कीले जोड दिएका छन् । उनी भन्छन्– ‘आशा र तमाशाको तुकबन्दीको पुरानो तरिका र छन्द रचनाको शास्त्रीय नियम बेकार छ ।’(मायाकोव्स्कीः पूर्ववत् ११५) तर यसको सँगसँगै उनले अगाडि थप्छन्– ‘लय कविताको मूल शक्ति तथा मूल उर्जा हो ।’(मायाकोव्स्कीः पूर्ववत् १३३) उनले लयको आवश्यकताको कुरा गरे पनि बनाबटी र अनावश्यक अनुप्रास र तुकबन्दीको विरोध गरेका छन् । शिल्प, शैली र संरचनामा समयसापेक्ष नवीनता भएन भने लेख्नुको तात्विक अर्थ रहँदैन । रिमाल र भूपीले खनेकै बाटोमा हिँड्ने कि नयाँ मार्गको खोजी गर्ने ? बहस, यहीँबाट सुरु गर्नुपर्छ । नयाँ शिल्प र शैली, शब्द, बिम्ब र मिथकको खोजी कसरी गर्ने ? शून्यबाट सुरु गर्ने कि अग्रजले बनाएको जगमा टेकेर नयाँको निर्माण गर्ने ?
जाँतो पिस्दा गाइने सुनीमाया र रोदी बस्दा गाइने रोदी के अहिलेको दुनियामा यथावत गाइन सक्छन् ? अबका युवाहरू मायाप्रीति साट्न रोदीमा होइन रेष्टुराँ र अनलाइनमा पुग्छन् । समयको आवाज नसुन्ने र नबुझ्नेहरूले हो पुरानोलाई च्याँपिराख्ने । बहस पुरानोलाई नयाँ प्रयोगमा कसरी उतार्न सकिन्छ भन्ने हो । हाम्रा लोकगीत र दोहोरीलाई कसरी आधुनिक नेपाली सङ्गीतमा ढाल्न सकिन्छ । कसरी युवापिँढीलाई मनपर्ने आधुनिक र मौलिक लयविधान र शैलीशिल्पको विकास गर्न सकिन्छ । यतातिर सोच्नेबेलामा हाम्रा एकथरी युवा भने छन्द बचाऊ अभियान र गजल महोत्सवमा रमाइरहेका छन् ।
मैले समकालीन कवितामा नयाँ शिल्प र शैलीको प्रयोग कसरी भएको छ भन्ने जान्न अग्रज र समकालीन पुस्ताका प्राय रचना पढ्ने गर्छु । हामीमा समकालीन, अझ नयाँ पुस्ताका रचना नपढ्ने रोग छ । यस्तो प्रवृत्ति हटाउनु पर्छ र समकालीन तर प्रखर चेत भएका कविका कविता पढ्नैपर्छ । मैले पढेका धेरै कविका कविता सौन्दर्यमूल्यका दृष्टिले असाध्यै सुन्दर छन् । त्यसमध्ये शैली, बनोट र लयविधानका दृष्टिले मलाई मन परेका समकालीन अग्रज पुस्ताका केही उदाहरण दिन चाहन्छु—
व्यथित देशको चिन्ताले
आहत जनताको पीडा र सुस्केराले
हरदम अभिभूत तिमी
ए, मेरो युगको तरुण नायक !
यसबेला मैले कविता लेखँु नलेखुँ केही फरक पर्दैन
तर तिम्रो आँधी–बेहरीमय महायात्रा भने रोकिनु हुन्न
इतिहासको यस संक्रमणशील घडीमा
भोको पेटका उर्जस्वी चेतनाहरूलाई
निधारबाट रगतका बाछिटाहरू पोछेर
दयालु मुद्रामा विषालु खाजा पस्किरहेछ, भद्रपपुरुष
तिमी भने झुक्किनु हुन्न
कहाँ फुलेको छ र डाँडाको फेदीमा रातै लालीगुराँस
तिमी भने यो फेदिमै अल्मलिनु हुन्न ।
(कृष्णसेन ‘इच्छुक’, इतिहासको यस घडीमा)
सायद
म मात्र एक बिम्ब हुँ
जसलाई कविहरू प्रेमले उन्छन्
आफ्ना कविताका हरफहरूमा
कविता उड्दै उड्दै आइपुग्छ मसम्म
कुनै दूर देशको पङ्छीझैँ
म सुमसुम्याउँछु उसलाई
आत्मीय भावले
पढ्छु उसका आँखाहरू
छाम्छु धड्कीरहेको हृदय
र राखेर सुत्छु सिरानीमा ।
(अमर गिरी, सपना सिवाय)
यस छालाभित्र चेतना छ
जसबिना कुनै अर्थ रहन्न मेरो
धेरै कञ्जुस छु
म यसलाई
तपाइँको प्रिय छोराले हावा भरेर खेल्ने
भकुण्डो बनाउन दिन्न
हो, तपाइँ सौखिन हुनुहुन्छ
तर म मानिस हुँ
र आफूलाई तपाइँको
जुत्ताको सोल बन्न दिन्न ।
(श्यामल, छाला)
०००
मैले कविता लेखनमा अनुभव गरेको अर्को विषय हो नियम । विश्वविद्यालयका ‘मास्टरसावहरू’ सिर्जनामा नियमको कुरा गर्छन् । किनभने उनले नियम पढाउँछन् । तर म नियम र सिद्धान्तले कविता जन्माउछ भन्ने मान्यता अस्वीकार गर्छु । जसको अन्तरहृदयमा भावनाको अतुल गहिराई र संवेदनाको विपुल सागर हुँदैन उसले कविता लेख्न सक्दैन । ‘म एक पटक फेरि जोड दिएर यो भन्न चाहन्छु कि म त्यस्तो नियम बताउन गइरहेको छैन जसले मान्छे कवि बन्न सक्छ र कविता लेख्न सक्छ । सामान्यतः यस्तो नियम छँदै छैन । त्यही मान्छे कवि कहलिन्छ जो काव्यात्मक नियमको निर्माण गर्छ ।’(मायाकोव्स्कीः पूर्ववत् ११३) कवि कविता विधासिद्धान्तबारे जानकार हुनुपर्छ । उसमा समालोचकीय चेत र कविताको संरचनाको सामान्य जानाकारी हुनुपर्छ । तर हाम्रा केही ‘मास्टरसावहरू’ स्रष्टालाई सिर्जनाको तहबाट होइन कि उसको सैद्धान्तिक अध्ययन र समालोचकीय तहबाट हेर्न र बुझ्न खोज्छन् । मलाई लाग्दैन कि सफल कवि बन्न उ ‘प्राडा’ हुनैपर्छ । उसले भाषण गर्न जानेकै हुनुपर्छ र तर्क वा कुतर्कद्वारा आफूलाई अब्बल देखाउनै पर्छ । सायद यही भेद छुट्याउन नसक्ने ‘दम्भी समालोचकका’ कारण हाम्रो व्यवहारिक समालोचनामा खडेरी परेको हो ।
श्रमप्रतिको लगनशीलता र अलग भूगोल, क्षेत्र र समुदायसँगको सामीप्यताले पनि कला सिर्जनमा सकारात्मक असर पारेको हुन्छ । नयाँ ठाउँ, क्षेत्र र समूदायसँगको सामीप्यताबाट नयाँ विषयवस्तु प्राप्त हुन्छ । नयाँ, र ठेँट नेपाली शब्द, ग्रामिण बिम्ब र मिथक त्यहीँबाट प्राप्त गर्न सकिन्छ । श्रमले लेखकमा कलालाई हेर्ने र बुझ्ने सवालमा निखार आउँछ । श्रमको अर्थ सम्पत्ति आर्जन गर्ने भन्ने होइन । श्रमको अर्थ हो माटोमा जीवन खोज्ने । कारखानाको तातो भट्टीमा बग्ने पसिनाको गन्ध कस्तो हुन्छ बुझ्ने । लेखकको काम लेख्ने हो नकि सम्पत्ति र मान सम्मान प्राप्त गर्र्ने । जीवनभर भ्रष्टाचार, ठगी र नैतिकहीन काम गर्ने र सम्मानका लागि कला साहित्य सिर्जनामा लाग्नेलाई घृणा गर्छु म । एउटा कविले कसरी गर्न सक्छ भ्रष्टाचार ? कसरी गर्न सक्छ दुराचार ? तर हाम्रा केही महान् साहित्यकारहरू मानसम्मान र पुरस्कारको लोभले गर्दा तिनै नैतिकहीन कथित साहित्यकार र राजनीतिज्ञहरूलाई महान् भन्दै चाकडीमा लिप्त हुन्छन् । कविले बाँच्नका लागि कमाउनु पर्छ नकि कमाउनका लागि । ‘निसन्देह, लेखकले बाँच्ने र लेख्ने सम्भावना पाउनका लागि कमाउनुपर्छ, तर उसले कमाउनको लागि कदापि बाँच्नु र लेख्नु हुँदैन ।’ (मोक्र्स एङ्गेल्स साहित्य र कलाः १४२ ः रचनात्मक स्वतन्त्रताबारे प्रकाश पार्र्दैै)
कविता सरल हुनुपर्छ कि क्लिष्ट ? हामीकहाँ सरल भए लोकगीत भनिदिने र गहन भए फर्सीको जरा भनिदिने प्रचलन छ । नेपाली समाज अब धेरै अगाडि बढिसकेको छ । अहिलेका पाठकले सुन्दर के हो कुरूप के हो छुट्याउन सक्छन् । कविता मानवीय संवेदनाको चित्रमय रूप हो र यो बिम्बमा प्रस्तुत हुन्छ भन्ने कुरा नबुझ्ने कविताका पाठक संभवत अबको नेपालमा छैनन् । तत्कालीन समाजका आर्थिक, सामाजिक र राजनीतिक अवस्था र यिनले सिर्जना गरेका मूल्य मान्यता र मानवीय संवेदनालाई पुरानै ढङ्ग र प्रस्तुतिले व्यक्त गर्न सकिदैन । विषयवस्तु नयाँ छ तर लेखन शैली पुरानो । यो संभव छैन । समयले सिर्जन गरेका नयाँ र मौलिक बिम्ब र मिथकको निर्माण र खोज अहिलेको आवश्यकता हो । मलाई सबैभन्दा सताएको बिम्ब र शैली निर्माणले हो । कवितामा आफ्नो पनको विकास पनि कविको चुनौति हो । सुन्दर शब्द संयोजन र बिम्बको सही प्रयोगले कवितालाई सुन्दर बनाउँछ । तर हामीकहाँ भरमार बिम्बको प्रयोग भएका कवितालाई मात्र सुन्दर भन्ने चलन पनि छ । बिम्बवादतिर लहसिनाले पनि काव्य लेखनमा घात गर्न सक्छ । एउटा कविले आफू वरिपरि रहेका नयाँ र सरल बिम्बलाई समाउन सक्छ कि सक्दैन ? आफ्नै धर्र्ती र समाजका बिम्बलाई समाइयो भने मात्रै कवितामा आफ्नो पन झल्कन्छ । कोठाभित्रै गुम्सिएर लेखियो भने बिम्ब पनि जड र कविता पनि गतिहीन हुँदोरहेछ ।
०००
कविता लेखन प्रक्रियामा मैले सामना गरेको समस्या हो शब्दभण्डार र ज्ञानको सीमा । मसँग तत्सम र हिन्दी शब्दको भण्डार नराम्रो भनिहाल्नै पर्ने खालको छैन । लेखनमा हिन्दी शब्दको प्रयोग हुन सक्दैन भने भरमार तत्सम शब्दको प्रयोगले कविता क्लिष्ट र दुरुह हुनजान्छ । यसरी जति नै धेरै भएता पनि कविता लेखनमा मेरो शब्दभण्डार अपुग हुनजान्छ र शब्द दोहोरिने समस्याबाट गुज्रन्छु । त्यस्तै ज्ञानको सीमा अर्को समस्या हो । इतिहास, समाजशास्त्र, मानवशास्त्र, राजनीति, अर्थशास्त्रलगायत ज्ञानका सबै क्षेत्रमा यथोचित अध्ययनबिना नयाँ र सुन्दर कविता रचना गर्न सकिदैन । म यी र यस्ता विषयमाथि मेरो अध्ययन पुगेको छ भनेर घमण्ड गर्दिन । समस्या छ । त्यस्तै भाषा र प्रविधिसँगको पहुँच पनि कविता लेखनमा देखापर्ने अड्चन हो । अङ्ग्रेजी भाषामा छिचोल्ने गरी पहुँच नहुनु र अहिलेको प्रविधिसँग धेरै पछि घुलमिल हुनुले पनि लेखन प्रक्रियामा अवरोध सिर्जना भएको छ । मैले नयाँ पुस्ताका कवि लेखकलाई भाषा, प्रविधि र अध्ययनमा विशेष ध्यान दिन आग्रह गर्छु । अहिलेको युवापुस्ता चटपटा विषयमा बढी रम्ने र अध्ययनको गहिराईमा नपुग्ने प्रवृृत्तिबाट ग्रस्त छ । अध्ययन सहितको वैचारिक पक्षधरता अहिलेको आवश्यकता हो ।
कविता केही आत्मसन्तुष्टि हो भने केही उत्पादन कार्य । आत्मसुन्तुष्टि किन हो भन्दा यो कला हो । व्यापार र क्रयबिक्रयको लागि कला सिर्जना गरिदैन । तर पनि यो बिक्छ । एउटा साहित्यकारले जब आफ्नो सिर्जना कुनै पुरस्कार वा आर्थिक लाभका लागि मात्रै सिर्जना गर्छ त्यहाँ कला हैन व्यापार झल्किन्छ । अहिलेको उपभोक्तावादी दुनियामा बजारले सबै चीजको मापन गर्छ । बजारले कलासौन्दर्र्यलाई पनि भोग्य र बिक्रीयोग्य बनाएको छ । मान्छेलाई बजारको पछिपछि दौडिनुपर्ने भएको छ । साहित्यकार पनि यसबाट अछुत हुन सक्दैन । बजारबाट अस्वीकृत लेखकमा हिनताबोध पनि देखिन्छ । कविता बिक्री नभएकोमा निराशा पनि भेटिन्छ । तर के कलाको मापन बिक्री हो र ? मैले भने अहिलेसम्म यस्तो प्रयोजनका लागि लेखेको छैन ।
लेखनकार्यमा देखापर्ने अर्को विषय हो शब्द र कर्मबीच तादाम्यता । मलाई कस्तो लाग्छ भने लोभी, लुच्चा, ज्यानमारा र ढोँगीहरू साहित्यकार हुन सक्दैनन् । हुनत हाम्रो आन्दोलनमा लोभी, लुच्चा र ढोँगीको कुनै कमी छैन । कवितामा बढो आदर्शको कुरा गर्ने तर व्यवहारमा एकरत्ती त्यस्तो नदेखिने लेखक पनि छन् । क्रान्तिको राम्रै कविता लेख्ने तर आइपर्दा सातकोष पर भाग्ने प्रवृत्ति छ । सातामा छ दिन भ्रष्टाचारमा लिप्त हुने तर एकदिन शनिबार भने असाध्यै ठूलो कवि लेखक भइटोपल्ने महान् आदर्श पनि छन् । शब्द र कर्मबीच तादम्यता प्रगतिशील लेखन अभियानको मुख्य सर्त हो भन्ने लाग्छ । नैतिकहीन व्यक्तिले नीतिको कुरा गर्न सक्दैन । यस सम्बन्धमा हावर्डफाष्टको भनाइ मननयोग्य छ । उनी भन्छन्– ‘जीवनको यथार्थता अन्तहीन अन्तर्विरोधबाट बनेको हुन्छ र यदि नैतिकताले त्यसको सामना गर्न सक्दैन भने नैतिकता स्वयं नै एक आदर्शवादी जालसाजी बन्छ ।’(हावर्ड फास्ट साहित्य र यथार्थ, अनुवाद–जगदीशचन्द्र भण्डारी र संजीवदास श्रेष्ठ ः६५)
०००
त्यतिमात्र होइन, एउटा कविले सुन्दर कविता त्यतिखेर बनाउन सक्छ जतिखेर ऊ पूर्ण रूपले कवि हुन्छ । राम्रो कविता रच्नका लागि ऊ कविताप्रति पागल हुनैपर्छ । उसमा कविताको भुत सवार हुनैपर्छ । राम्रो कविले अरूको खुट्टा काट्दैन । हाम्रो समाजमा एउटै विचार, एउटै पार्टी र एउटै आन्दोलनमा भएकाहरूबीचमा पनि खुट्टा तान्ने मात्र होइन पाए खुट्टै काट्ने प्रवृत्ति छ । एउटा राम्रो कविले अरूको सम्मान गर्न सक्नुपर्छ र अरूलाई पढ्नुपर्छ । आफ्नो गुटको भएपछि झुर कवितालाई पनि यस दशककै सशक्त कविता भनिदिने र आफ्नो गुटबाहिरको भए सुन्दर रचनालाई पनि झुर भन्दै हिँड्ने अर्को रोगबाट पीडित छौँ हामी । यो अझ वामपन्थी प्रगतिशील हुँ भन्नेहरूमा बढी छ ।
कविता लेखनको अर्को अनुभव गजवको छ जुन कुन्ता दिदीले सुनाएको हो । कविता यो विषयमा लेख्छु भनेर लेखिने वस्तु हो जस्तो लाग्दैन । हिँड्दा हिँड्दै र काम गर्दागर्दै एक किसिमको झट्का लागेको महसुस हुन्छ । कविता फुर्छ । कविले उक्त झट्का पागल मनोदशामा मात्र अनुभव गर्न सक्छ । यसो भन्दा मलाई दैवी शक्तिमाथि विश्वास गरेको भन्ने आरोप लाग्न सक्छ । नभए उत्तरआधुनिकतावादतिरको विचलन त पक्कै भन्न सक्छन् । तर म दुःखद वा सुखद घटना र परिवेशबाट संवेदित हुन नसक्ने र अरूको आँसुमा आँसु र खुसीमा खुसी बाड्न नसक्ने जडहरू कवि हुन सक्दैनन् भन्ने मान्यतामा अडिग छु । साथै जीवन भोगाईका अनन्त घात अभिघातहरूलाई पागल मनोदशामा नपुगी कवितामा व्यक्त गर्न सकिदैन भन्ने कुरामा पनि त्यत्तिकै सहमत छु । एकपटक कवि कुन्ता शर्माले आफ्नो अनुभव सुनाउँदा भन्नुभएको थियो, ‘जब गाईको थुन पग्रन्छ त्यतिखेर कविता झ्वाट्ट फुर्छ र दूध दोइनभ्याउँदै हराइ पनि सक्छ । जब तरकारी पकाउनेबेला कराइमा झ्याँइङ गर्छ त्यतिखेर कविता फुर्छ । गजव छ यो कविता ! अप्ठेरो बेलामा मात्र फुर्छ !’ मलाई उहाँको अनुभूतिले धेरै समय सताइरह्यो । उहाँले दूध दुहुने र तरकारी पकाउने काम गरिरहेको भए पनि दिलदिमाग सबै कवितातिर गएकैले यस्तो विद्युतीय झट्का महसुस भएको हो । यही हो कविताप्रतिको पागलपन । जुन कविले यस्तो भाव र मनोदशा सिर्जना भएको बेला खाँदै गरेको गास छोडेर वा हिँड्दै गरेको गाडी रोकेर कविता लेख्छ, कविता सुन्दर हुनसक्छ । मैले पनि केही कविता यस्तै मनोदशाबाट गुज्रिएकोबेला लेखेको छु । यसको मतलव कविता पागल मनोदशाको वा दैवी शक्तिको देन हो भन्ने मेरो आशय होइन । तर जबसम्म कविमा पागलपन सवार हुँदैन तबसम्म सुन्दर कविता सिर्जना गर्न सकिदैन । मैले कविता विद्युतीय झट्का लागेकोबेला मात्र लेखिन्छ भन्दिन । तर एउटा कुरा के पक्का हो भने अब कविता लेख्छु भनेर विषय, भाव र बिम्ब निर्माण गरेर भने कविता लेख्न सकिदैन । कविता लेखन भनेको भात पकाएजस्तो वा अरूका रचनामा पण्डित्याइँ छाँटेजस्तो होइन । यसो भए त सबै कवि हुन्थे । कविता लेखन पनि एउटा कामै हो तर यो अरूजस्तो भौतिक उत्पादन कार्य होइन । यसलाई बुझियो भने मात्र कवि र कविताको मर्म बुझ्न सक्छौँ । हिँड्दाहिँड्दै वा काम गर्दागर्दै कुनै विषय वा घटनाले च्वास्स घोच्दा उत्पन्न भएको भावना वा संवेदनालाई डायरीमा सुरक्षित गरी फुर्सदको समयमा पनि कविता सिर्जना गर्न सकिन्छ ।
मलाई एउटा कुराले घोचिरहन्छ त्यो हो कविता हृदयले सिर्जना गर्छ कि दिमागले । निश्चय पनि मगजद्वारा निर्देशित भएन भने उसले कसरी दैनिक क्रिया गर्न सक्छ र ? मगज अर्थात दिमाग । तर मलाई लाग्छ कला सिर्जना मगजले पनि गर्छ, हृदयले पनि । मगजले रचेको भन्दा हृदयले रचेको कविता सरल कोमल र सुन्दर हुन्छ । दिमागद्वारा निर्देशित कविता अलि जड र शुष्क हुन्छ । यसको अर्थ कविता विचारद्वारा निर्देशित हुन्न भन्ने मान्यता भने मेरो होइन । नेपालमा पछिल्लो चरणमा सुन्दर कलाकृति र युगीन कवि नजन्मिनुको पछाडि यही पागलपनलाई नबुझ्ने समस्याको कारण हो । अहिलेको मान्छे समस्याबाट बढी नै जेलिएको छ । मान्छे मेसिन बढी मान्छे कम भएको छ । ऊ यति व्यस्त र प्राविधिक भएको छ कि जीवन भोगाइको अनन्त गहिराइमा पुग्नै सक्दैन । अथवा पुग्नै भ्याउँदैन । एकथरी छन् बाँच्नका लागि कमाउने र अर्काथरी छन् कमाउनका लागि कमाउने । लेख्नका लागि कमाउनु पर्ने भए पो ऊ कवि हुन सक्थ्यो । तर ऊ अहिलेको जटिल सामाजिक सम्बन्धद्वारा यसरी जेलिएको छ कि त्यहाँबाट बाहिर निस्कनै सक्दैन । बरालिन नसकेपछि कविता कसरी लेख्नु ? देवकोटाकालीन लेखकमा एककिसिमको पागलपना थियो । उनीहरू कवितामै सोच्थे कवितामै रुन्थे र कवितामै बाँच्थे । तर अहिलेका कविहरूलाई ठूलो घर पनि बनाउनु छ, नेता पनि हुनु छ र अरूले मानोस् नमानोस् ठूलै कवि भएको आत्माश्लाघामा रम्नु पनि छ । अनि कसरी बन्छ कविता ? अनि कसरी हुन्छ कविताको आराधना ?
(प्रलेस असोज, २०७१)