हजुरबाले पहिलोपल्ट सिकाएका हुन्
निगालोको कलम बनाउन
पहिलोपल्ट सिकेको हुँ
आमाको ‘अ’ लेख्न, बाबाको ‘ब’ पढ्न ।
घाँसेरङका सपनाहरूको गुँड बनाएर
पेटभरि भोकको सारंगी रेट्दै
चारोको खोजीमा दूरदिशा उडेकी
कुनै माउचरी लाग्थिन् आमा
फर्किआउँदा
ऐँसेलुका पातमा सुनका कविताका टोप्रा पाउँथेँ म
कसौंडीभरि रापिलो दुःख पिएर
भतभत भातले लय हाल्दा मुग्ध हुन्थिन् आमा !
उस्तै सारंगीपेट बोकेर
मकै गोड्दा
पसिनाजस्तै कविताका दाना
बाको थाप्लोबाट चिप्लिएर खस्थे मट्टीमा
बियाडमा हरियै कविता उमार्थे बा
माथिबाट बादलले झ्वामझ्वाम फाल हान्दा
छ्यापछ्यापती हिलोमा बा कोदालो नचाउँथे
आमा रोपिदिन्थिन्-
बाका उखेलिएका हरिया कविता !
हिलो, घामपानी र इन्दे्रनी घुलेर
बाआमाको जीवन कोलाज बन्थ्यो
पहिरो बोकेका खहरेहरूले दमाहा बजाउँदा
झस्किएर उडिजान्थे
एक हूल कविता बाको इस्टकोटबाट।
आमाको आँचलमा देश
कविता भएर खेल्थ्यो
बाको काँधमा देश
सगरमाथा भएर उचालिन्थ्यो
देशको आँगनभरि हुर्किन्थे शिशु-घामहरू।
आज,
रेगिस्तानमा क्याक्टसका काँडाले
कसरी मुटुमा कविता खोप्न सक्छु म?
टाढा समुद्रमा हाम्फाल्न लागेको सूर्यमा
देख्छु जब-
खुम्चिएको अनुहार बाआमाको
रक्तिम सिउँदो स्वास्नीको
चहकिला आँखा नानीका,
स्मृतिको पत्रमा कविता लेख्न बस्दा
कलमले विषाद गीत गाउँछ !
हजुरबाको स्वाभिमान बन्धकी राखेर
हुत्तिएको हुँ बिरानो भूमितिर
तर च्यात्न सकिनँ माटोको चित्र-आफ्नै हृदय
यो धरतीको भुल्भुले रगतको मूलभन्दा
हिमालकै सग्लो कविता लेख्न
फर्कंदैछु आमा !
-नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाद्वारा आयोजित अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगिता-२०१४ मा प्रथम पुरस्कार प्राप्त कविता_