काठमाडौं : वरिष्ट बालसाहित्य सर्जक शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ। हर्निया रोगबाट पीडित उनको उपचारका क्रममा मंगलबार बयोधा अस्पतालमा निधन भएको हो ।
साहित्यकार मानन्धरले बालबालिकाका लागि प्रकाशित भएका २०० भन्दा बढी पुस्तकको सम्पादन गर्नुका साथै बालसाहित्यका ५० भन्दा बढी कृति लेखेका छन् ।
उनले ‘बालकोसेली’, ‘बालपोष’ र ‘मचाक्यब’ नामका बालसाहित्यिक पत्रिका सम्पादन एवं प्रकाशन गरेका थिए। उनले छ दशकभन्दा बढी समयदेखि बालसाहित्यमा आफ्नो जीवन समर्पण गरे।
नेपाली साहित्यमा लु-सुन भित्र्याउने उनी पहिलो लेखक हुन् । उनले चर्चित चिनियाँ लेखक लु-सुनका चारवटा पुस्तक अनुवाद गरेका छन् । चीनको चर्चित उपन्यास ‘ओयानहाइको गीत’ पनि उनले नै नेपालीमा अनुवाद गरेका हुन् ।
जीवनको उत्तरार्धमा पनि साहित्य सिर्जनामा नै निरन्तर सक्रिय मानन्धरलाई बालसाहित्य रत्न उपाधिबाट सम्मानित गरिएको थियो । साथै पारिजात बाल साहित्य सम्मान २०७०, जगदम्बा श्री सम्मान २०७५, ‘देवकोटा लु–सुन प्रज्ञा पुरस्कार, लगायत सम्मान तथा पुरस्कारबाट सम्मानित भएका थिए।