काठमाडौं ।
नेपाल बालसाहित्य समाज र ललितपुरस्थित युनाइटेड स्कुलको आयोजनामा आज भएको एक विशेष कार्यक्रममा कुञ्जल शुभेच्छु लुइटेलद्वारा लिखित कृति मैले पढेका किताबको लोकार्पण भयो । नेपाली साहित्यका विशिष्ट समालोचक प्रा.डा. वासुदेव त्रिपाठी, कार्यक्रमका सभाध्यक्ष नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, युनाइटेड स्कुलका प्रमुख डा. कविराज वान्तवा, साहित्यकारहरू प्रा.डा. जीवेन्द्रदेव गिरी र भुवनहरि सिग्देलले पुस्तकको लोकार्पण गर्नुभएको थियो । लेखक युनाइटेड स्कुलका कक्षा ८ का छात्र हुन् । यसमा विभिन्न लेखकका गरी ३८ पुस्तकका बारेमा लेखकका छोटा समीक्षात्मक लेख रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. वासुदेव त्रिपाठीले सानै उमेरदेखि लेख्न थालेका कुञ्जल समयसँगै गम्भीर देखिन थालेको बताउँदै उनको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । उहाँले भन्नुभयो, “कुञ्जलको लेखनप्रतिको रुचि उदाहरणीय छ ।”
नेपाल बालसाहित्य समाजका अध्यक्ष, साहित्यकार प्रमोद प्रधानले आफूले कुञ्जलको लेखन फेसबूकमा ३ वर्ष अगाडिदेखि पढिरहेको बताउँदै अहिले उनको पुस्तक प्रकाशित हुँदा अत्यन्त खुसी लागेको छ भन्नुभयो । नेपाल बालसाहित्य समाज बालबालिकाहरूमा अन्तर्निहित प्रतिभा र क्षमतालाई अघि बढाउने काममा पनि अग्रसर रहेको उहाँको भनाइ थियो ।
युनाइटेड स्कुलका प्रमुख डा. कविराज वान्तवाले बालबालिकाहरूले प्रायः कविता, कथा, निबन्ध लेख्ने गरेको आफूले पाएको बताउनुभयो र भन्नुभयो, “तर कुञ्जलले त्यसभन्दा फरक आफूले पढेका पुस्तकहरूबारे लेखेर नयाँ काम गरेका छन् । ” पुस्तकका सम्पादक विनयकुमार शर्मा नेपालले कुञ्जलको प्रतिभाको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा लेखकका पिता साहित्यकार डा. रमेश शुभेच्छु लुइटेलले स्वागत भाषण र लेखकले धन्यवाद ज्ञापन गर्नुभएको थियो । नेपाल बालसाहित्य समाजका आजीवन सदस्य, साहित्यकार धीरकुमार श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको सो कार्यक्रममा थुप्रै साहित्यकार र शिक्षकहरूको उपस्थिति थियो । लेखककी आमा गीता सापकोटा पनि साहित्यकार हुन्।