मेरो देशमा
माननीयले अपराध गर्दै गर्दैन
गरिहालेछ भने पनि
सांसदको भत्ता खुवाइन्छ
पुलिसको सलाम चढाइन्छ
आँखै अगाडि
उभिए पनि फरार भनिन्छ।
प्रमाण लुकाउन
सेटिङ मिलाउन
परिवार भगाउन
पैसाको खातापाता मेटाउन
पत्ता लागेर पनि
बेपत्ता भनी भनी
समय दिलाइन्छ।
सबै कामकुरा मिलेपछि
नक्कली गिरफ्तार गरिन्छ,
सरकारलाई
हतकडी होइन स्यालुट ठोकिन्छ
जनतालाई जस्तो हिंड् होइन,
सर आइबक्स्योस भनिन्छ
गरिबलाई जस्तो
भ्यानमा कोचेर होइन
कारमा सवारी गराइन्छ
कारागारमा होइन
हाकिमको क्वाटरमा
ज्युनार अनि आराम गराइन्छ।
बयानको नाटक गरिन्छ
मुद्धाको जाल लगाइन्छ
वकालतको ढोल बजाइन्छ
न्यायाधीशको न्याय भजाइन्छ
अदालतको क्लिन सिट लिइन्छ
माननीयको सदाचारको चर्चा हुन्छ,
फूलमाला लगाइन्छ
दोसाल्ला ओढाइन्छ
रातो कार्पेट ओछ्याइन्छ,
अनि संसदभित्र छिराइन्छ।
मेरो देशमा
अपराधी माननीय हुन सक्छ
तर माननीय
अपराधी कहिल्यै ठहर हुन सक्दैन।
(स्युचाटार, काठमाडौं)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।